पोखरा-नियमित प्रतियोगिता हुदैन् । मैदानको उपलब्धता पनि छैन् । तर पनि कास्कीमा हक्कीप्रतिको अभिरुची भने विस्तारै बढ्दै गएको छ । नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला तर्फ गण्डकी प्रदेशले रजत पदक जितेपछि हक्कीप्रतिको चासो केही बढेको हो । पछिल्लो समय कास्की हक्की संघ पुनर्गठन भएपछि हक्कीलाई विद्यालयसम्म पु¥याउने अभियान शुरु भएको छ । कास्की जिल्ला हक्की संघले पोखराका तीन र स्याङजामा एक विद्यालयमा हक्की स्टिक र बल वितरण गर्दै हक्की खेलको प्रवद्र्धनमा जुटेको छ ।
‘नियमित प्रतियोगिता नहुदाँ हक्की खेल बारे बुझाउनै कठिन भयो । तर विस्तारै बुझ्न थालेका छन् ।’ कास्की जिल्ला हक्की संघका अध्यक्ष मिलन केसीले भने–‘विद्यालयमा पुगेर हक्की स्टिक र बल वितरण गरिएको छ । सिनियर खेलाडीले प्रशिक्षण समेत दिदैं आएका छन् ।’ हक्की हिजोको भन्दा निकै फरक भएको उनको बुझाई छ । उनका अनुसार पहिला संघ नै निष्क्रिय जस्तै थियो, अहिले संघकै पहलमा विद्यालयमा हक्कीको सामान हस्तान्तरण गर्दै आएका छौं । संघले ग्यालेक्सी, हिमालयन र ज्योतिकुन्ज बोर्डिङ स्कुलाई हक्की खेल सामाग्री प्रदान गरेको छ ।
कास्की जिल्ला हक्की संघको अभियानलाई पूर्व राष्ट्रिय खेलाडी हित गुरुङले सहयोगी भूमिका खेल्दै आएका छन् । उनी आफैंले पनि पोखरा रंगशालामा आफनो अनुभवलाई युवा खेलाडीसँग साट्दै आएका छन् । उनको सक्रियताले संघलाई समेत हक्की प्रवद्र्धनमा उर्जा थपिएको छ । ‘पूर्व राष्ट्रिय खेलाडी हित गुरुङको सक्रियताले हक्कीको प्रवद्र्धनमा संघलाई टेवा पुगेको छ ।’ अध्यक्ष केसीको भनाई थियो ।
संघले हिमालय मावि ग्यालेक्सीमा केही समय अघि हक्की स्टिक र बल वितरण गरेको थियो । यसै साता मात्रै पोखरा–१० रामबजारस्थित ज्योतिकुन्ज बोर्डिङ स्कुललाई हक्की स्टिक र बल हस्तान्तरण गरिएको छ । ज्योतिकुन्जमा १२ थान स्टिक र १२ वटा बल हस्तान्तरण गरिएको संघले जनाएको छ । पोखरा रंगशालाभित्र हक्कीको प्राक्टिसको लागि ठाँउ नै छैन् । खेलमैदान नहुदाँ पनि खेलाडीहरु आफनै बलबुतामा रंगशालाभित्रै एक कुनामा प्रशिक्षण गर्दै आएका छन् । प्रशिक्षण गरेपनि नियमित प्रतियोगिता आयोजना नहुदाँ खेलाडीमा निराशा छाएको संघले जनाएको छ । ‘रंगशालाभित्रै जेनतेन प्रशिक्षण गराउने बातावरण बनाउँदै छौं ।’ अध्यक्ष केसीले बताए ।
ज्योतिकुन्ज बोर्डिङ स्कुलका पुरन कुँवर आफैं हक्की खेलाडी हुन् । कुँवरले २०४४ सालमा हेटौडामा गण्डकी अञ्चलको प्रतिनिधित्व गरेका थिए । संस्थापक प्रिन्सिपल कुँवरकै पहलमा संघले हक्की स्टिक र बल हस्तान्तरण गरेको हो । ‘स्कुलमा भारतीय सेनाबाट निबृत्त भएका क्याप्टेन राजु थापा सरले हक्की र फुटबल प्रशिक्षण गराउनुहुन्छ ।’ प्रिन्सिपल कुँवरले भने । उनका अनुसार ७, ८ र ९ कक्षामा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण गराइएको छ । छात्र १५ जना र छात्रा १५ जना गरी ३० जनालाई हक्की प्रशिक्षण गराईको छ । उनीहरुलाई विद्यालय समयमै सिकाउने गरिएको छ । ‘ब्रेक टाईममा सिकाईन्छ ।’ उनले भने–‘४० मिनेट सिक्छन् ।’ हक्की खेलको प्रर्वद्धनकै लागि हिमालयन लाईफ नामक गैर सरकारी संस्थाले सहयोग गर्दै आएको छ । संस्थाले हक्कीको आधारभूत प्रशिक्षण गराउने स्टिक र बल हस्तान्तरण गर्दै आएको संघका अध्यक्ष केसीले बताए ।