
लोमान्थाङको लोवाथाङस्थित गल्फ कोर्ष । कोर्षमा गल्फ खेल्दै पोखराका गल्फरहरु । तस्बिर सौजन्य इन्द्रधारा विष्ट
पोखरा-समुद्रीसतहबाट ४६४५ मिटरको उचाईको लोमान्थाङको लोवाथाङमा ईन्द्रधारा विष्टले पहिलो ड्राईभ हिर्काए । उनको ड्राइभसँगै लोमान्थाङमा गल्फको शुरुवात हुन पुग्यो । विष्टले पार ४ (३५० यार्ड) हिर्काउँदै गल्फको शुरुवात गरे । योसँगै लोमान्थाङमा सर्वाधिक उचाईको गल्फ कोर्ष बनाउने सपनाले साकार रुप लिएको छ ।
पहिलो दिन शुक्रबार पोखराबाट पुगेका चार गल्फरसँगै विष्टले ६ होलको प्रतिस्पर्धा गरे । प्रतिस्पर्धाले नयाँ आयाम थप्यो । पोखराका प्रो.गल्फर भुबहादुर गुरुङ(भुवन)ले फाईभ उडको प्रयोग गरे । त्यस्तै एमेच्योर गल्फर राजु थकालीले ड्राइभ हिर्काए । एमेच्योर बलराम थापाले पनि फाइभ उड(आईरन) हिर्काउँदै अल्टिच्युडको अनुभव सँगाले । भक्तराज गुरुङले पनि फाइभ उड(आरइन) हिर्काउँदै लोमान्थाङमा गल्फको शुरुवात गर्दै अविस्मरणीय अनुभव बटुले ।

‘हामीले ६ होलको गेम खेल्यौं । ९ होलको गेम खेल्ने चाहना थियो । तर समयले भ्याईएन् ।’ गण्डकी प्रदेशका सदस्य समेत रहेका विष्टले भने–‘शनिबार ९ होलको गेम खेल्छौं । टिबक्स, बंकर बनाईसकिएको छ । ग्रिन बनाउँदै खेल्ने छौं । केही टिबक्स परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ ।’
उनको अनुभवमा हावा धेरै चल्यो । अल्टिच्युडकै कारण बल कम उडेको अनुभव भयो । तर बलको उफ्र्याई भने बढी देखिएको सुनाए । केही टिबक्सलाई हटाएर पार्किङ र क्लबहाउस बनाउनुपर्ने आवश्यकता देखिएको उनको भनाई थियो ।

लोमान्थाङबाट झण्डै ८ सय मिटर उचाईमा पर्छ गल्फ कोर्ष । कोर्ष तयार भएपछि विधिवत प्रतियोगिता आयोजना गरेपछि यो विश्वकै सर्वाधिक उचाईको गल्फ कोर्ष बन्ने छ । ‘गल्फ कोर्ष हाई अल्टिच्युडमा पर्छ । चारैतिर हिमाल देखिन्छ । चौर पनि फराकिलो छ ।’ प्रो गल्फर एवं नेपाल गल्फ संघका केन्द्रीय सदस्य भुबहादुर गुरुङले अनुभव साट्दै भने–‘शनिबार ग्रिनहरु तयार गर्ने छौं । कोर्षको स्केच तयार पारिसकिएको छ । स्केच अनुसार ग्रिन बनाएर पोखरा फर्किन्छौं ।’

लोमान्थाङ पुगेका गल्फर बलराम थापाले हाईअल्टिच्युडमा आएर गल्फ खेल्नु अविस्वसनीय भएको बताए । ‘अनविलिएबल । विश्वास गर्न सकिएको छैन् । पहिलो पटक आएको छ । भयंकर रमाईलो भयो ।’ उनले भने–‘शनिबार विहान गेम खेल्छौं । त्यसपछि बास्तविकता थाहा हुन्छ ।’ उनका अनुुसार दिउँसो हावा चल्दा बल डाइभर्ट भयो ।कोर्षको लागि विष्टले ८ लाख रुपैयाँ खर्चिएका छन् ।
लोमान्थाङ गाँउपालिकाले पनि प्रतियोगिता सञ्चालन गर्न १० लाख रुपैयाँ बजेट छुट्टाएको छ । लोमान्थाङ प्राकृतिक रुपमा मात्रै नभइ अब हाई अल्टिच्यड खेलकुदको गन्तव्य बन्ने अभियानमा छ ।

गतवर्षदेखि पाँच करोडको गुरुयोजनासहित फुटबल मैदान, बास्केटबल तथा भलिबल कोर्ट निर्माण शुरु गरिएको छ । पोखरादेखि लोमान्थाङ हुदैं कोरोला नाकासम्म सडक सञ्जालले जोडिईसकेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…