लोमान्थाङमा गल्फको प्रवद्र्धनात्मक खेल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १८ गते २०७९ मा प्रकाशित


पोखरा-उकाली ओराली छैन । हिड्दा श्वासप्रश्वास बढ्ला भन्ने चिन्ता छैन । मैदान फराकिलो र समथर छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङको त्यही फराकिलो समथर मैदानमा पोखरेली गल्फरले प्रवद्र्धनात्मक गल्फ खेले । ४ हजार ६ सय ४५ मिटरको उचाईको अल्टिच्युडमा गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टसहित पोखराका चार गल्फरले शनिबार गल्फ खेल्दै कोर्षको स्केच गरेका छन् ।

‘आज ९ होल खेल्यौं ।’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला गल्फ संघका सल्लाहकार भुबहादुर गुरुङ(भुवन)ले भने–‘अल्टिच्युडमा गल्फको मजा बेग्लै रह्यो । अब कोर्षलाई व्यवस्थित बनाई व्यवसायिक रुपमा अगाडि बढाउनुपर्छ ।’ विहान हावा चल्दैन् । दिउँसो र साँझ हावा बढी चल्छ । तर गल्फरले हावाको बेगसँगै सन्तुलित खेल्न सक्छन् । ‘हावामा गल्फरले खेल्छन् ।’ उनले भने–‘हावा चलेको बेला कसरी खेल्ने भन्ने गल्फरलाई थाहा हुन्छ । हावाले खासै असर गर्दैन् ।’

उनको बुझाईमा लोमान्थाङ आफैंमा अल्टिच्युड हो । त्यसभन्दा माथि गल्फ कोर्ष बनाईएको छ । यातायातको सहज पहुँज छ । यद्यपी एकैदिन पुगेर खेल्दा अल्टिच्युड लाग्ने सम्भावना रहन्छ । अल्टिच्युड नलाग्ने एकैदिन कोर्षमा पुगेर खेल्न सक्छन् । अन्यथा एकदिन लोमान्थाङमा आराम गरेर दोस्रो दिनमा खेल्न सहज हुने उनको अनुभव थियो । ‘हिँउ पर्ने सिजन बाहेक अरुबेला जुनसुकै समयमा पनि लोमान्थाङमा गल्फ खेल्न सकिन्छ ।’ उनको भनाई थियो ।

लोमान्थाङमा गल्फ कोर्ष निर्माणसँगै मुस्ताङलाई हाईअल्टिच्युड स्पोर्टस हब बनाउने सपना गण्डकी प्रदेश सदस्य विष्टको पुरा भएको छ । उनले यसै वर्षभित्र गल्फ प्रतियोगिताको लागि समन्वय गर्ने जनाएका छन् । ‘कोर्ष बनाउने सपनाले पनि साकार रुप लिदैं छ । ’विष्टले भने–‘अझै व्यवस्थित रुपमा टिबक्स, बंकर, ग्रिन बनाएर व्यावसायिक रुपमा अगाडि बढ्छौं ।’ उनका अनुसार शनिबार विहानी समयमा खेल्दा आनन्द लियौं ।

लोमान्थाङमा गल्फ खेलेपछि स्थानीय युवा पनि दंग छन् । क्याडी गर्ने अवसर पाएकोमा आफैंमा दंग देखिएका छन् । क्लब बोकेर गल्फरसँगै डुल्ने र सिक्ने अवसर पाएको विष्टको भनाई थियो । विष्ट आफैंले आफनै थलोमा लङ्गेष्ट ड्राईभ हिर्काउँदै गल्फको शुरुवात गरेका थिए । जुन ऐतिहासिक थियो । दुईदिने प्रवद्र्धनात्मक खेलले लोमान्थाङमा हाइअल्टिच्युड गल्फको सम्भावनालाई झल्काईदिएको विष्टले सुनाए ।

विष्टले पार ४ (३५० यार्ड) हिर्काउँदै गल्फको शुरुवात गरे । योसँगै लोमान्थाङमा सर्वाधिक उचाईको गल्फ कोर्ष बनाउने सपनाले साकार रुप लिएको छ । पोखराबाट पुगेका चार गल्फरसँगै विष्टले दोस्रो दिन ९ होलको प्रवद्र्धनात्मक खेल पस्किएका थिए । पोखराका प्रो.गल्फर भुबहादुर गुरुङ(भुवन), एमेच्योर गल्फर राजु थकाली एमेच्योर बलराम थापा, अर्का गल्फर भक्तराज गुरुङले आईरन निकाल्दै गल्फको ऐतिहासिक अवसरमा सहभागिता जनाए ।

गल्फ कोर्ष गलोमान्थाङबाट झण्डै ८ सय मिटर उचाईमा पर्छ । कोर्ष तयार भएपछि विधिवत प्रतियोगिता आयोजना गरेपछि यो विश्वकै सर्वाधिक उचाईको गल्फ कोर्ष बन्ने छ । ‘गल्फ कोर्ष हाई अल्टिच्युडमा पर्छ । चारैतिर हिमाल देखिन्छ । चौर पनि फराकिलो छ ।’ प्रो गल्फर एवं नेपाल गल्फ संघका केन्द्रीय सदस्य गुरुङले अनुभव साट्दै भने कोर्षको स्केच तयार पारिसकिएको छ । स्केच अनुसार ग्रिनको डिजाईन बनाईदिएका छौं । माननीय विष्टले डिजाईन अनुसार काम गर्नुहुन्छ ।’