सहारालाई २० औं संस्करणको गोल्डकपमा साढे तीनलाख घाटा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १४ गते २०७९ मा प्रकाशित


पोखरा-सहारा क्लबले आयोजना गर्दै आएको गोल्डकपकै इतिहासमा पहिलो पटक आहा रारा गोल्डकपबाट १२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । २०७६ साल चैत ११ गतेदेखि शुरु भएको कोरोनाको महामारीसँगैको लकडाउनको प्रत्यक्ष असर पोखराको खेलकुद क्षेत्रमा परेको प्रष्टिएको छ । कोरोनाकै असरले भीडभाडरहित दर्शकविहीन अवस्थामा गोल्डकप टुग्याउने परिस्थितिले सहाराले २० औं सस्करणको आहारारा गोल्डकपमा १२ लाख ६२ हजार रुपैयाँ प्रत्यक्ष नोक्सानी भएको क्लबले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो ।

क्लबले ठूलो नोक्सानी व्यहोरेपछि क्लबका विदेशी शाखाहरुबाट आर्थिक सहयोग जुटाइएको छ । सहारा युके,सहारा हङकङ, सहारा अष्टे«लियालाई अनुरोध गरेपछि सहयोग प्राप्त भएको थियो । हङकङबाट ५ लाख १ हजार, युकेबाट ३ लाख र अष्टे«लियाबाट १ लाख रुपैयाँ नगद प्राप्त भएको क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले बताए । विदेशी शाखाबाट प्राप्त सहयोगकै कारण घाटा केही पूर्ति भएको उनको भनाई थियो । विदेशबाट ९ लाख रुपैयाँ सहयोग आएको थियो ।

फुटबल विकासमा अनवरत लागेको सहारा क्लबले गत माघ ६ गतेदेखि १५ गतेसम्म दुई दशक लामो फुटबल प्रतियोगिता आयोजना गरेर टुग्याएको छ । सहाराले आयोजना गर्ने गोल्डकप नै मोफसलको प्रतिष्ठित गोल्डकपमा रहँदै आएको छ । २० औं संस्करणमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए । पहिलो पटक विभागीय क्लब शसस्त्र प्रहरी बलले उपाधि उचालेको थियो । उपविजेता मनाङ मस्र्याङ्दी बनेको थियो ।
प्रतियोगितालाई हिमश्री फुड्सले मुख्य प्रायोजकको भूमिका खेल्दै आएको छ ।

प्रतियोगिताको लागि क्लबले ६७ लाख ८९ हजार रुपैयाँ खर्च गरेको आयव्यय सार्वजनिक गरेको छ । घरेलु टोली निर्माण गर्दा क्लबले ७ लाख ७१ ह्जार रुपौयँ खर्च गरेको छ । प्रोत्साहन खर्चमा १७ लाख ९३ हजार रुपैयाँ खर्च भएको प्रतियोगिताका अर्थ संयोजक सुनिल गुरुङले जानकारी दिए । मैदान शुल्क वापत क्लबले १ लाख २५ हजार रुपैयाँ जिल्ला खेलकुद विकास समिति कास्कीलाई बुझाएको छ ।

क्लबले ७ लाख ८६ हजार रुपैयाँ गेट टिकटबाट जुटाएको छ । क्लबलाई मुग्लान रेष्टुरेष्ट पोखराले १ लाख, रोयल इन्फिल्ड(बुलेट बाईक)ले १ लाख, हिमाअश कन्सल्टेन्सीले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए । क्लबले वर्षेनी गोल्डकपबाटै प्राप्त आम्दानीले पोखरा–१७ दोविल्लास्थित सहारा एकेडेमीमा खर्च गर्दै आएको थियो । एकेडेमीलाई केसी ग्रुपले नै अपनत्व लिदैं वार्षिक १५ लाख रुपैयाँ सहयोग दिने गरी एकेडेमीको नाम नै सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमी राखिएको छ । एकेडेमीमा २६ जना बालकहरु आश्रित छन् ।
गोल्डकपको आयव्यय सार्वजनिक गर्दै सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ। तस्बिर नागरिक