
पोखरा-तीन खेलको एकदिवसीय श्रृंखलामा काठमाडौंको नेक्सस क्रिकेट एकेडेमीलाई ४४ रनले पराजित गर्दै कास्की सेन्ट्र क्रिकेट एकेडेमीले २–० ले जितेको छ । अन्तिम एक दिवसीय खेल शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा हुने छ ।
शुक्रबार टस जित्दै कास्की सेन्ट्रल क्रिकेट एकेडेमीले ४० ओभर खेल्दै ९ विकेटको क्षतिमा १८७ रनको लक्ष्य प्रस्तुत गर्यो । नवौं नम्बरमा आएका कास्की सेन्ट्रल क्रिकेट एकेडेमीका अमृत गुरुङले सर्वाधिक ३३ रनको योगदान दिएपछि कास्कीले बलियो लक्ष्य प्रस्तुत गरेको थियो । ओपनर मुस्कान थापा र सोहेल कुँवरले पहिलो विेकटको लागि १४ रनको साझेदारी गरे । ११ बल खेल्ने क्रममा मुस्कान दिपक चन्दको बलमा एलबी डब्लुको धरापमा परेपछि कास्कीको पहिलो विकेट गुम्यो ।
३२ रन बनाउने क्रममा सोहेल कुँवर आउट भएपछि केही धर्मराएको कास्कीलाई सिब्रिन श्रेष्ठले सम्हाल्ने प्रयास गरे । यद्यपी चौथो नम्बरमा आएका पियुस शेर्पा शून्यमै आउटभएपछि कास्की दबावमा पर्यो । किरण पौडेल र सिब्रिन श्रेष्ठले ३१ रनको साझेदारी निभाए । २१ रन बनाउने क्रममा किरण पौडेल सुमित कडेलले रन आउट बनाए । सचेत क्षत्रीले १३ रन बनाई आउट हुदाँ सिब्रिन श्रेष्ठले २९ रनको पारी खेले । उनले ५२ बल खेल्दै ५ चौका हिर्काए ।
विपिन खत्रीले १७ रन बनाउने क्रममा दुई चौका र एक छक्का प्रहार गरे । अमृत गुरुङले २० बल खेल्ने क्रममा एक चौक र चार छक्का प्रहार गर्दै नेक्ससका बलरलाई दबावमा राखे । सुवास भण्डारी र कृष्ण पौडेलले क्रमश १२ र ११ रनमा अविजित रहे । नेक्ससका लागि दिपक चन्दले ८ ओभरमा १ मेडन राख्दै ४८ रन खर्चिएर सर्वाधिक ३ विकेट आफनो नाममा लेखाए । उजित श्रेष्ठले पनि ८ ओभरमा १ मेडन राख्दै ४३ रन खर्चिएर २ विकेट लिँदा अमित बुढाथोकी, तक्सक सिंखडाल र अशोक धामीले एक एक विकेट लिए ।
१८७ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंको नेक्सस क्रिकेट एकेडेमी भने १४२ रनमै समेटिदै ४४ रनले पराजित हुन पुग्यो । गौरब खड्काले उत्कृष्ट पारी खेल्ने क्रममा २४ रनको योगदान दिए । उनले २८ बल खेल्दै ५ चौका हिर्काए । किरण पौडेलको बलमा आयुष सैंजुको हातबाट क्याच भएपछि दबाव झेल्नु पर्यो । ओपनर अमन नाथलाई पनि ६ रनमै गुमाउन पुग्यो । उत्तम थापालाई ७ रनमै गुमाएको नेक्ससले दोस्रो विकेटको रुपमा गुमायो । त्यस्तै तक्सक सिंखडा ५ रनमा आउट भए । नाथ र सिंखडालाई आउट गरेका सुवास भण्डारीले हिमांशु बोहोरालाई पनि शून्यमै आउट गरे । त्यसभन्दा अघि अमृत गुरुङले सुमित कंडेललाई शून्यमा पभेलियन फर्काएका थिए ।
एकपछि अर्को विकेट गुमेपछि दबावमा परेको नेक्ससलाई गौरब खड्काले सम्हाल्ने प्रयास गरे । उनलाई सुमित बुढाथोकीले साथ दिने प्रयास गरे । तर बुढाथोकी १० रनमै आउट भएपछि साझेदारी लामो समय अगाडि बढ्न सकेन् । अशोक धामीले अविजिति २१ रन बनाउने क्रममा नवौं नम्बरमा आएका दिपक चन्दले २९ रनको योगदान दिए । त्यो नै नेक्ससका लागि सबैभन्दा ठूलो स्कोर देखियो । १६ बल खेल्ने क्रममा दिपक चन्दले १ चौका र ४ छक्का हिर्काउँदै कास्कीका बलरलाई काबुमा राख्ने प्रयास गरे । यद्यपी कृष्ण पौडेलले चन्दलाई बोल्ड आउट गरेपछि नेक्सस थप धरासायी बन्न पुग्यो । रुपेश थापाले १६ रन बनाए । कास्कीका सुवास भण्डारीले ७ ओभर बलिङ गर्ने क्रममा १ मेडन राख्दै ७ रन खर्चिएर ३ विकेट लिए । किरण पौडेलले ४.३ ओभरमा ३६ रन खर्चिएर ३ विकेट लिए । विपिन खत्रीको नाममा दुई विकेट लेखियो । सुवास भण्डारी प्लेयर अफ दि म्याच घोषित भए ।
यसअघिको खेलमा काठमाडौंको नेक्सस क्रिकेट एकेडेमीलाई ५५ रनले पराजित गर्दै पहिलो खेल कास्कीले आफनो पक्षमा पारेको थियो । तीन खेलको एकदिवसीय मैत्रीपूर्ण क्रिकेट सिरिज खेल्न कास्की जिल्ला क्रिकेट सघको निमन्त्रणमा नेक्सस क्रिकेट एकेडेमी पोखरा आईपुगेको हो ।
कास्कीको क्रिकेटको विकाससँगै क्रिकेट एकेडेमीलाई प्रभावकारी बनाउने नेक्सस क्रिकेट एकेडेमीसँग मैत्रीपूर्ण क्रिकेट सिरिज आयोजना गरिएको कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विरेन पुनले बताए । उनले एकेडेमीका युवा खेलाडीलाई सिरिज मार्फत एक्पोज गर्ने मुख्य उद्देश्य राखिएको स्पष्ट पारे । कोषाध्यक्ष पुनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत लक्षित गर्दै युवा खेलाडीको क्षमता समेत सिरिज मार्फत देख्न सकिने र खेलाडीमा भएका कमिकमजोरीलाई राष्ट्रिय प्रतियोगितासम्म सुधार्न सकिने बताए ।