सामाजिक सञ्जाल मार्फत सहयोग जुटाउँदै कास्की फेन्सिङ संघ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २९ गते २०७९ मा प्रकाशित


पोखरा-‘नवौं राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकि छैन, प्रदेश खेलकुद परिषद र मन्त्रालयबाट खेल सामाग्रीको लागि पैसा आउला र भारतमा गएर खेल सामाग्री किनेर ल्याई प्रतिस्पर्धामा खेलाडीहरुलाई उतारौंला भनेर बस्ने हो भने हातलागे सुन्य होला जस्तो लागेर लाजै नमानी सामाजिक संजाल मार्फत नै हात फैलाउन बाध्य भएँ । गण्डकी प्रदेशका खेलाडीहरुको हितको लागि जिल्ला अध्यक्षको नाताले मैले कतै भनसुन गरेर हुन्छ भने किन नगर्ने भन्ने सोचेर यो कदम चालें । खेलप्रेमी ब्यक्ति वा सँस्था जो कसैले कास्की जिल्ला फेन्फिङ संघको खातामा सहयोग गर्न सक्नु हुनेछ, हिसाब पारदर्शी हुने बाचा गर्दछु । गण्डकी प्रदेशकै ईज्जतको सवाल छ त्यसैले सबैमा बिनम्र अनुरोध गरें ।’ कास्की फेन्सिङ संघका अध्यक्ष विजय शाहीले सामाजिक सञ्जाल मार्फत सहयोग मागे । गण्डकी खेलकुद परिषद(प्रदेश खेलकुद)सँग हारगुहार गरेपनि सहयोग नपाएपछि उनले सामाजिक सञ्जाल मार्फत सहयोग अभियान शुरु गरेका हुन् ।

फेन्सिङको सामान छैन् । प्रशिक्षण गर्ने हल छैन् । बहुउद्देश्यीय कभर्ड हलमा विद्युत आपूर्ति छैन् । विद्युत आपूर्ति नहुदाँ प्रशिक्षण गर्दा अध्यारो हुन्छ । अध्याँरोकै कारण साँझसम्म प्रशिक्षण गर्न सकिदैन् । अध्यक्ष शाहीले एकपछि अर्को गुनासो फुकाए–‘प्रदेशमा मिटिङ हुन्छ । बजेट निकासा हुदैन् ।’ उनले फेन्सिङले दुखम सुखम प्रशिक्षण गर्दै आएको बताए । विशेष(बन्द) प्रशिक्षणको लागि खेलाडीलाई भत्ता आउने गण्डकी खेलकुद परिषदले सुनाउँदै आएको छ ।

‘गणेशमान स्मृति फेन्सिङ च्याम्पियनसिप खेल्दा हामीसँग सामान नै थिएन् । १ लाख ४० हजार रुपैयाँको उधारो सामान ल्याईयो । पालैपालो प्रशिक्षण गराउनुपर्छ । आवश्यक हतियार छैन् । प्रदेशमा विन्ति चढाएको छु । तर कसैले सुनेनन् ।’ उनले गुनासाका पोका फुकाए । उनका अनुुसार खेलाडीहरु राष्ट्रिय प्रतियोगिता मात्रै नभई भारतमा हुने युथ वल्र्डको तयारीमा समेत छन् । युनिर्भियाड समेत सहभागिताको तयारीमा जुटेका छन् । ‘फेन्सिङको सम्भावना छ । युथ खेलाडी कास्कीमा मात्रै छन् । तर स्रोत र साधन केही छैन् ।’ अध्यक्ष शाही सुनाउँछन् ।

फेन्सिङको सामान नेपालमा किन्न पाईदैन् । पर्याप्त सामान छैन् । संघसँग न पैसा छ न सामान नै । सामान र आर्थिक सहयोगको लागि प्रदेशसँग अपिल गरेपनि सुनुवाई भएन् । ‘उनीहरुसँग ठोस जवाफ नै छैन् ।’ उनले भने–‘आधिकारीक जवाफ दिदैनन् । सहयोगको लागि धेरै दौडधुप गर्न सकिदैन् ।’ अध्यक्ष शाहीले व्यक्तिगत नभई संस्थागत निर्णय भएपछि सहयोगको लागि सामाजिक सञ्जालमा पोष्ट गरिएको बताए ।

फेन्सिङमा १२ महिला र १२ पुरुष छनोट भएका छन् । फेन्सिङ तीन इभेण्टमा प्रतिस्पर्धा हुन्छ । ईपी(शरीरको जुनसुकै भागमा छोएपनि प्वाईन्ट आउने, तरबार(सोर्ड)को टुप्पोले छुने), फोयल(हाफ ज्याकेट लगाईन्छ जहाँ तार जडित हुन्छ, छोएपछि नम्बर आउँछ ।) र फाबेर(टाउकोदेखि कम्मरसम्म र हातको बाउलासम्म फुल ज्याकेट जुन तार जडित हुन्छ ,छोएपनि नम्बर देखाउँछ ।) इभेण्टमा प्रतिस्पर्धा हुने गरेको छ । ‘माश्क र सोर्डको अभाव छ ।’ सामान्य ड्रेसको ७ हजार रुपैयाँ पर्छ । त्यसमा चेष्टगार्ड छुट्टै किन्नुपर्छ । जुन इलेक्ट्रोनिक हुन्छ । विशेष गरी खेलमा मात्रै प्रयोग गर्ने गरिन्छ । ज्याकेटलाई पनि ७ हजार रुपैयाँ नै पर्ने उनको भनाई थियो । सामान्य खालको सोर्डलाई २७ सय रुपैयाँ पर्नेगर्छ । आठौंमा गण्डकी प्रदेशले फोयल टिम इभेण्टमा महिला तथा पुरुषमा कास्य पदक जितेको थियो ।