मनाङमा फुलकन्ट्याक्ट कराँते र बास्केटबल प्रशिक्षण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ६ गते २०७९ मा प्रकाशित


पोखरा-राष्ट्रिय खेलकुद परिषद नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटेको छ । परिषद खेलकुद प्रतियोगितामा जुटिरहदाँ गण्डकी प्रदेशले आफनो प्रदर्शनलाई प्रभावकारी बनाउने ध्येयमा छ । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङको अगुवाई र सक्रियतामा मनाङमा बन्द प्रशिक्षण गराउने योजना अनुसार दुई खेलका खेलाडीलाई मनाङमा बन्द प्रशिक्षण शुरु गरिएको छ । फूल कन्ट्याक्ट कराँते र बास्केटबल टोली रहेको छ । टोलीले दुईदिनदेखि मनाङको उपल्लो पिसाङमा प्रशिक्षण शुरु गरिएको छ ।

युवा तथा खेलकुद मन्त्री गुरुङले प्रदेशस्तरीय छनोट प्रतियोगिता लगत्तै खेलाडीहरुलाई मनाङमा हाई अल्टिच्युड प्रशिक्षण गराउने प्रतिबद्धता गरेका थिए । प्रतिबद्धता अनुसार कराँते र बास्केटबल टोलीले दुईसाता प्रशिक्षण गर्ने छन् । ‘प्रदेशले खेलाडीलाई उपलब्ध गराउने सुविधा बाहेक खेलाडीको डाईट सबै व्यवस्था गरिदिएका छौं ।’ युवा तथा खेलकुद मन्त्री गुरुङले भने–‘दुईसाता प्रशिक्षण गरेपछि खेलाडीमा थप उत्साह र उर्जा थपिन्छ ।’

मनाङको पिसाङमा नवनिर्मित बास्केटबल कोर्टमा प्रशिक्षण गर्दै गण्डकी प्रदेश बास्केटबल टिम ।

पहिलो दिन खेलाडीहरुले मनाङको नासो गाउँपालिकास्थित तालको खेल मैदानमा प्रशिक्षण गरे । दोस्रो दिन पिसाङ पुगे । पिसाङस्थित नवनिर्मित बास्केटबल कोर्टमा दुवै टोलीले प्रशिक्षण गरेका छन् । फुल कन्ट्याक्ट कराँतेमा महिला(५० केजी) सरगम कुमाल, धनकला राना(५५ केजी) पुरुष तर्फ अभिषेक (४० केजी), नारायण विक(४५ केजी), मोसेस कुमाल(६० केजी) रहेका छन् । प्रशिक्षकमा सुवास खड्का, लक्ष्मण कुँवर र दिपकबहादुर गोदारले विशेष सहयोगी भूमिका खेलेका छन् ।

बास्केटबल तर्फ विकास गुरुङ निकेश राखल मगर, जासङ सुुनुवार, रवी पौडेल, सुदिप पौडेल क्षत्री, स्पन्दन प्रधानाङ्ग, अमृत कोईराला, लेखमान गुरुङ, रुपेश खड्का, पुष्कल छन्त्याल, सुदिप कार्की, गिमन पुर्जा पुन, सुजन महर्जन, खिमराज गर्बुजा पुन, एन्जेल पुन, सुविन श्रेष्ठ रहेका छन् । प्रशिक्षकमा प्रदिप रसाईली र टिम व्यवस्थापकमा सुरेश गुरुङ रहेका छन् ।

‘दशैंको फूलपातीसम्म प्रशिक्षण गरेर फर्किन्छौं ।’ पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष एवं फुलकन्ट्याक्ट कराँतेका पूर्व राष्ट्रिय खेलाडी दिपकबहादुर गोदारले भने–‘विहान र साँझ दुई समय प्रशिक्षण गराईएको छ ।’ नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले फुल कन्ट्याक्ट कराँतेमा ४ स्वर्ण, तीन रजत र दुई कास्य पदक जित्दै टिम च्याम्पियन बनेको थियो । ‘आठौंको इतिहास दोहोर्याउने लक्ष्यसहित प्रशिक्षण गराईएको छ ।’ नेपाल क्योकुशिन कान कराँतेका नेपाल ब्रान्च चिफ समेत रहेका पूर्व राष्ट्रिय खेलाडी लक्ष्मण कुँवरले प्रशिक्षणपछि भने–‘नयाँ ठाँउसँगै हाई अल्टिच्युडमा गराइएको प्रशिक्षणले प्रतिफल प्राप्त हुने छ ।’

उनका अनुसार खेलाडीलाई मनाङको झण्डै ३ हजार २ सय मिटर मिटरको उचाईमा कुनै शारीरिक समस्या भने आएको छैन् । ताल, पिसाङ, भ्राका र मनाङमा प्रशिक्षण गराउने योजना छ । ‘दुईदिनपछि मनाङ गाँउ जान्छौं । मनाङमा केही दिन प्रशिक्षण गरेपछि फेरी भ्राका, पिसाङ हुदैं तालमा प्रशिक्षण गरेपछि पोखरा फर्किने छौं ।’ विशेष प्रशिक्षणमा सहयोगी भूमिका खेलेका प्रशिक्षक गोदारले सुनाए । बास्केटबल टोलीले भने नयाँ ठाँउमा नयाँ अनुभवसाथ प्रशिक्षण गर्न पाउँदा छुट्टै उत्साह खेलाडीमा थपिएको प्रशिक्षक प्रदिप रसाईलीले सुनाए । ‘कोर्ट राम्रो छ । आवश्यक सामान सबै छ । ध्यान केवल प्रशिक्षणमा केन्द्रीत छौं ।’ उनको भनाई थियो ।