पोखरा रंगशालाभित्र तेक्वान्दोको प्रशिक्षण केन्द्रको शिलान्यास

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ८ गते २०७९ मा प्रकाशित


पोखरा-योजनाको झण्डै एक दशकपछि तेक्वान्दो संघले पोखरा रंगशालाभित्र आफनो सुविधायुक्त प्रशिक्षण केन्द्र(भवन) निर्माण गर्न शिलान्यास गरेको छ । शनिबार विहान पोखरा रंगशालास्थित सेमी कभर्ड हलको दक्षिण तर्फ तेक्वान्दोको प्रशिक्षण केन्द्र निर्माण गर्न जग राख्ने काम शुरु गरिएको छ । केन्द्रको शिलान्यास राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शिलान्यास गरे ।

कास्की जिल्ला तेक्वान्दो संघका संस्थापक अध्यक्ष जगनबहादुर गुरुङले तेक्वान्दोको भवन बनाउने कस्सिएको दशवर्षपछि सपना पुरा गर्ने अभियानमा रहेको उल्लेख गरे । गुरुङ अहिले गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष हुन् ।

संघले ५५ लाख रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ । विभिन्न संघसंस्था तथा तेक्वान्दोका खेलाडीहरुबाट संकलित सहयोगबाट काम शुरु गरिने उनले बताए । ‘५५ लाख रुपैयाँ संघसँग छ । दुई करोडको योजना हो । थप ५० लाख रुपैयाँ संघले सहयोग जुटाउने छ । बाँकी १ करोड रुपैयाँ राष्ट्रिय खेलकुद परिषदबाट सहयोग प्राप्त हुने विश्वास छ ।’ उनले भने–‘तेक्वान्दोको यो प्रशिक्षण केन्द्र खास गरी राखेपसँगको साझेदारीमा निर्माण पुरा गर्ने योजना छ ।’

प्रशिक्षण केन्द्र १७ मिटर चौडाई र पहिलो चरणमा २४ मिटर लम्बाईको बनाईने छ । दोस्रो चरणमा थप १२ मिटर लम्ब्याएर ३६ मिटर पु¥याउने योजना रहेको समेत संघका अध्यक्ष गुरुङको भनाई थियो । शिलान्यासपछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले यो आर्थिक वर्षको बजेट सार्वजनिक भईसकेकोले यो वर्ष हाल्न नसकिएको सुनाए । उनले पूर्वाधार विकास अन्तर्गत खेलकुदका भौतिक पूर्वाधार निर्माणमा संघहरुसँग साझेदारी राखेपले गर्ने प्रतिबद्धता भने जनाए । ‘पूर्वाधार सबै सरकारले मात्रै बनाउँदैन् । निजी क्षेत्रबाट बनाउनुपर्छ । निजी क्षेत्रसँगको सहकार्य गर्न परिषद तयार छ । हरेक पूर्वाधार साझेदारीमा बनाउँदा सहज हुदैं गएको छ ।’ उनको भनाई थियो ।

प्रशिक्षण केन्द्र निर्माणपछि तेक्वान्दो प्रशिक्षण र प्रतियोगिता आयोजना गर्न सहज हुने विश्वास संघको छ । तेक्वान्दो इण्डोर गेम भएकै कारण पनि हल निर्माण अत्यावश्यक भएको जिकिर संघको छ ।