क्याडीको शुल्क भन्दा कम भत्ता गल्फरलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ९ गते २०७९ मा प्रकाशित


पोखरा-गल्फ आफैंमा महंगो खेल हो । गल्फरलाई एक क्याडी(क्लब सेट बोक्ने सहयोगी) अनिवार्य चाहिन्छ । सहयोगीलाई दैनिक भत्ता दिनुपर्छ । कोर्षको शुल्क दिनुपर्छ । त्यसले पनि महंगो पर्ने हो । आवश्यक खेल सामग्री पनि महंगो नै पर्छ । क्लब सेट किन्न एकलाख भन्दा बढी नै पर्छ । त्यसैले महंगो पर्छ । बललाई २५ सय रुपैयाँ पर्छ । एउटै प्रतिस्पर्धामा थुप्रैै बल हराउँछ । जुन महंगो खेलको अर्को प्रमाण हो ।

महंगो खेल गल्फलाई आगामी २८ गतेदेखि आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले भने सहयोग खासै गरेको छैन् ।5}g\गल्फरसँग खेल सामान आफ्नै छ । तर अत्यावश्यक बल समेत प्रदेश सरकारले उपलब्ध गराउन सकेको छैन् । खेलाडीले केवल दैनिक ५ सय रुपैयाँ भत्ता पाउँछन् । त्यसमा पनि कर कट्टा गरेर दिने निर्णय गण्डकी खेलकुद परिषदले गरिसकेको छ । खेलाडीले पाउने भत्ताले आफनो सहयोगीलाई समेत दिन नपुग्ने स्थितिमा छन् । यद्यपी गण्डकी प्रदेशबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने गल्फरहरुले घरेलु कोर्षमा स्वर्ण पदकको अपेक्षासहित आफनो प्रशिक्षणलाई निरन्तरता दिईरहेका छन् । गल्फसँगै अन्य बन्द प्रशिक्षणमा रहेका अन्य खेलका स्थानीय खेलाडीलाई भत्ता स्वरुप ५ सय रुपैयाँ छुट्टाइएको छ ।

‘राष्ट्रिय खेलकुदमा प्रदेशले दिएको भत्ताले पुग्दैन् । प्रदेश खेलकुद परिषदले उपलब्ध गराउने भत्ताले क्याडी शुल्क समेत पुग्दैन् । डाईट खाने पैसा आफैंले जोहो गर्नुपर्ने बाध्यता छ । खेल सामान खास गरी बल समेत आफैंले किनेर खेल्नुपर्ने अवस्था छ ।’ गण्डकी प्रदेश गल्फ टोलीका प्रशिक्षक भूबहादुर गुरुङ(भुवन)ले भने–‘प्रदेशले दिनुपर्ने सुविधा गल्फलाई खासै छैन् । सुविधा नभएपनि खेलाडीले निरन्तर प्रशिक्षण गरेका छन् । घरेलु कोर्षमा स्वर्णको अपेक्षा छ ।’ उनका अनुसार क्याडीले प्रतिदिनको खेलमा न्यूनतम ६ देखि ८ सयसम्म पाउँछन् ।

खेलाडीको सेवा सुविधा मात्रै होईन गल्फ कोर्ष मर्मत सम्भार गर्न समेत प्रदेश खेलकुद परिषद गण्डकीले पैसा नै दिएको छैन् । कोर्ष बुक गरिएको छैन् । कोर्ष बुक नहुदाँ मर्मत सम्भारमा ढिलाई भएको छ । पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्ष निजी कोर्ष हो । निजाी कोर्ष बुक नहुदाँ मर्मत गर्न समस्या भएको उनको भनाई थियो । ‘कोर्ष मर्मत सम्भार गर्ने तर्फ राष्ट्रिय खेलकुद परिषदले चासो दिएको छैन् । कोर्ष बुक गरेर मर्मत सम्भार गर्ने तर्फ चासो दिनुपर्ने हो । त्यस तर्फ ध्यान खेल व्यवस्थापन समितिले समेत नदिदाँ अन्यौल बढेको छ ।’ उनको भनाई थियो ।
गल्फमा गण्डकी प्रदेशबाट ४ पुरुष र ३ महिलाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छन् । खेलाडीहरुले नियमित प्रशिक्षणमा व्यस्त छन् । ‘हामीले नियमित प्रशिक्षण गर्दै आएका छौं । एक महिनाको क्लोजम्याम्प हुन्छ । प्रशिक्षकले त्यही अनुसार प्रशिक्षण दिदैै आउनुभएको छ ।’ सहभागि खेलाडी अजित विकले भने–‘महंगो खेल हो । खेलकुद परिषदले त्यही अनुसार सहयोग गर्नुहुने छ भन्ने अपेक्षा हो । सेवा सुविधा जे जस्तो रहेपनि खेलाडीको ध्यान घरेलु कोर्षमा स्वर्ण पदक नै हो ।’ तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले छैटौं राष्ट्रिय खेलकुदमा कास्य र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले रजत पदक जितेको थियो । राष्ट्रिय खेलकुद परिषद खेल व्यवस्थापन समितिका संयोजक राजेश गुरुङले कोर्ष मर्मत गर्न २ लाख रुपैयाँ छुट्टाइएको जानकारी दिए । ‘दुईलाख रुपैयाँ गल्फलाई छुट्टाएका छौं । १ लाख २० हजार बराबरको मेशिन र बाँकी मर्मत सम्भारमा खर्च गर्ने गरी व्यवस्था मिलाइएको छ ।’ उनको भनाई थियो ।