
पोखरा,- पोखरामा दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको हो । प्रतियोगिता अन्तर्गत पहिलो दिन गल्र्स र ब्वाइजतर्फ १३ वटा सिंगल्सका पहिलो चरणका इभेन्टहरु भएको प्रतियोगिताका निर्देशक राजन पौडेलले जनाएका छन् ।
प्रतियोगिताको पहिलो दिन यू–१४ ब्वाइजतर्फ स्पर्श तिमिल्सिना, शास्वत बज्रचार्य, दर्शिल श्रेष्ठ विजयी भएका छन् । शास्वतले सन्दिप बिकलाई ६–०, ६–२ को सोझो सेटमा पाखा लगाए । त्यसैगरी व्रिजेश अर्याल र सृजन भट्टराईसमेत सोही उमेर समुहबाट आ–आफ्नो खेल जित्दै विजेता बने ।
यता गल्र्स यू–१४ को खेलमा शिभाली गुरुङले समृद्धि महर्जनलाई ६–४, ६–३ ले स्वस्तिका विष्टले करमिष्ठा श्रेष्ठलाई ६–०, ६–० ले पराजित गर्दा यू–१६ गल्र्सतर्फ सुनिरा थापाले समृद्धि महर्जनलाई ६–०, ६–१ ले, स्वस्तिका विष्टले करमिष्ठा श्रेष्ठलाई ६–९, ६–३ ले पराजित गरेका छन् । त्यस्तै यू–१० गल्र्सतर्फ शाल्भी शेरचनले सुवर्ण गुरुङलाई ६–१, ६–० ले पराजित गरेको आयोजकले जनाएको छ । यू १२ गल्र्समा शाल्भी शेरचनले आरुषी तुलाचनलाई ६–२, ६–० ले पाखा लगाइन् । त्यस्तै शिभालीले केजिया शाक्यलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरिन् ।
कुल १४ वटा इभेन्टमा ३७ जना खेलाडीहरुको सहभागिता रहेको छ भने प्रतियोगितामा गल्र्सतर्फ १५ र ब्वाइजतर्फ २२ खेलाडीहरुको सहभागिता रहेका मध्ये पोखराका ८ तथा अन्य खेलाडी पोखरा बाहिरका रहेको पौडेलले बताए । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गर्ल्स डबल्स गरी विभिन्न १४ ईभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । जुनियरतर्फ यू–८, यू–९ र यू–१०, ब्वाईज तथा गल्र्स सिंगल्स बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गर्ने छन् भने यू–१२ ब्वाईज तथा गल्र्स सिंगल्स बिजेताले जनही नगद रु ८ हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्ने प्रतियोगिताकी संयोजक प्रिती बरालले जानकारी दिएकी छन् ।
त्यस्तै यू–१४ ब्वाईज तथा गल्र्स सिंगल्स बिजेताले समान जनही नगद रु १२ हजार, उपबिजेताले समान जनही नगद रु ६ हजारसहित मेडल प्राप्त गर्ने छन । यू–१६ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सय तथा ब्वाईज तथा गल्र्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु १५ हजार उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्ने संयोजक बरालले जानकारी दिएकी छन् । यस अघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सांसद प्रकाश बरालले गरेका थिए ।