खेल चलिरहँदा मैदानमा प्रभुको हेलिकप्टर अवतरण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ५ गते २०७९ मा प्रकाशित


पोखरा-फुटबल खेल चल्दै थियो । पहिलो हाफ हुन केही मिनेट मात्रै बाँकी थियो । ४० मिनेटमा खेल चलिरहेकै अवस्थामा खेलमैदानमै हेलिकप्टर अवतरण गर्यो । खेल स्थगित हुन पुग्यो । सबै आश्चर्यमा परे ।

स्याङजाको वालिङनगपाालिकास्थित मालेबगर खेलमैदानमा प्रथम वालिङ गोल्डकपको दोस्रो सेमिफाईनल खेल चलिरहेको थियो । बिहीबार दिउँसो दुई बजेर ३५ मिनेटमा प्रभुको हेलिकप्टर एकाएक अवतरण गर्यो । अवतरण पछि तीनजना युवा झरे । खेलाडी र आयोजक आश्चर्यमा परे । हेलिकप्टर अवतरण लगत्तै स्थानीय खेलमैदान छिरे । पाईलटलाई कुटपिट गरे । हेलिकप्टर लिएर जाने तीन जना भने लुसुक्क मैदान बाहिर निस्के ।

‘प्रभुको हेलिकप्टर विना सूचना, विना अनुमति खेल सञ्चालन भईरहेको मैदानमा अवतरण गर्यो’ प्रथम वालिङ गोल्डकपको आयोजक वालिङ युनाईटेड क्लबका अध्यक्ष एलबी ज्वारचनले भने–‘हेलिकप्टर ल्याण्ड भएपछि खेल रोकियो । मैदानमा छिरेका स्थानीयको हुलले पाईलटमाथि हातपात गरेछन् ।’ स्थानीयका हातपातबाट पाईलट रमेश डंगोलको नाकमा चोट लागेको प्रहरीले जनाएको छ । अध्यक्ष ज्वारचनका अनुसार पाईलटलाई खेल मैदानमै अवतरण गराउन तीन जना युवाले दबाव दिएका थिए । पाईटललाई जर्वजस्ती मैदानमा अवतरण गराएको उनको बुझाई थियो । तीनजना युवाहरुले पोखराबाट हेलिकप्टर लिएर मालेबगर खेलमैदानमा उत्रिएका थिए ।

स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले खेलकुद चलिरहेकै अवस्थामा विना अनुमति विना सूचना हेलिकप्टर ल्याण्ड गरिएको विषयमा नागरिक उडड्यन कार्यालय पोखरालाई कार्वाहीको लागि पत्राचार गरिएको सुनाए । ‘लहडबाजीमा हेलिकप्टर ल्याण्ड गरियो । खेल चलिरहेकै अवस्थामा ल्याण्ड गरिदाँ धन्नै मानवीय क्षति भएन्’ उनले भने–‘विना अनुमति अतवरण गराउने हेलिकप्टरलाई कार्वाहीको लागि नागरिक उडड्यन कार्यालय पोखरालाई सूचना गरिसकेका छौं ।’

बिहीबा आयोजक वालिङ रातो र क्यामरुनको एभनिर टोली बीच प्रतिस्पर्धा चलिरहेको थियो । जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी रविन्द्र खनालले स्थानीयको कुटपिटबाट पाईलटको नाकमा चोट देखिएको बताए । ‘कानून मिच्ने जो कोहीलाई पनि कार्वाही हुन्छ।’ उनले भने–‘त्यसको लागि प्रहरीले अनुसन्धान गरिरहेको छ । वालिङका विनोद गैरे, खिमबहादुर राना, सुशिल गिरीले हेलिकप्टर लिएर गएका थिए । आयोजक वालिङ युनाईटेड क्लबले आवश्यक कार्वाहीको लागि वालिङस्थित प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।