खेलकुद पूर्वाधारलाई प्रदेश सरकारको बजेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १६ गते २०७९ मा प्रकाशित


पोखरा-गण्डकी प्रदेश सरकारले एक स्थानीय एक खेल मैदान निर्माणको अभियानलाई पाँचवर्षमा मूर्त रुप दिन सकेको छैन् । यद्यपी वर्षेनी बजेटमा समेटिदैं आएको छ । पोखरा–३३ पशुपतिघाटको चौरलाई प्रदेशकै गौरवको योजना बनाउँदै अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने सपनासहित यो आर्थिक वर्षमा पनि बजेट छुट्टाएको छ । अघिल्ला वर्षहरुमा पनि बजेट छुट्टाएपनि योजना अघि बढाउन भने प्रदेश सरकारले सकेको छन् ।

तत्कालिन गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पशुपति घाट क्रिकेट मैदानको लागि २० लाख रुपैयाँ छुट्टाएको छ । छुट्टाएको बजेटले के काम गर्ने भन्ने अन्यौल छ । खेलकुद मन्त्रालय अहिले सामाजिक विकास मन्त्रालयमा समाहित गरिएको छ । पशुपति घाट खेल मैदानसम्म पुग्ने बाटो निर्माण हुन सकेको छैन् । यद्यपी क्रिकेट मैदानका लागि २० लाख रुपैयाँ छुट्टाइएको छ । ‘पोखरा रंगशालापछिको बैकल्पिक क्रिकेट मैदान बनाउनु अत्यावश्यक छ । तर प्रदेश सरकारको बजेटले मैदान संरक्षण गर्न पुग्दैन् ।’

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने–‘विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भईसकेको छ । प्रतिवेदन तयार भएपनि नदीको कटान रोक्न जरुरी छ । सेती नदीको कटानले मैदानको क्षेत्रफल घट्दै गएको छ ।’ उनले नदीको बहाव कम भएको अवस्थामा ग्याभिन गरेर प्राविधिकले नदी संरक्षण गर्न सकिन्छ भन्ने अभिव्यक्तिसहित काम अघि बढाउन सके क्रिकेट मैदान बन्छ अन्यथा बन्न नसक्ने जिकिर गरे ।

पशुपतिघाटसँगै प्रदेश सरकारले अन्य विभिन्न पूर्वाधारको लागि समेत बजेट छुट्टाएको छ । ११ वटै जिल्लाका खेलकुद पूर्वाधारलाई बजेट छुट्टाएको गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए । पोखरामा बास्केटबल तथा व्याडमिन्टन कोर्टको पूर्वाधारको लागि ५० लाख रुपैयाँ छुट्टाइएको छ । कास्कीको चार गाँउपालिका र पोखरा महानगरपालिकाका खेलकुद पूर्वाधार विकासको लागि प्रदेश सरकारले ३ करोड ४० लाख रुपैयाँ छुट्टाएको छ । गोरखाको लागि ७१ लख, तनहुँलाई ८० लाख रुपैयाँ छ । तनहुँको म्याग्दे रंगशाला निर्माणको लागि २० लाख रुपैयाँ रहेको उनले बताए ।

नवलपुरको लागि ४० लाख, बाग्लुङलाई २ करोड ४५ लाख, मनाङ ४५ लाख र मुस्ताङ १६ लाख रुपैयाँ बजेट छ । मुस्ताङको किमलिङस्थित निर्माणाधिन हाईअल्टिच्युड खेलमैदानको लागि १० लाख रुपैयाँ छ । म्याग्दी जिल्लालाई १ करोड ६८ लाख रुपैयाँ, लमजुङलाई ५९ लाख र स्याङजालाई ९१ लाख रुपैयाँ बजेट छुट्टाईएको छ । जिल्लामा पूर्वाधारहरु निर्माणाधिन अवस्थामा रहेका छन् । पूर्व प्रदेश खेलकुद मन्त्री राजीव गुरुङको पालामा समेत छुट्टाइएको बजेटबाट काम अघि बढेको थियो ।