सुभाष शीर्षस्थानमा,भुवन एक स्ट्रोकले पछाडी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ११ गते २०७९ मा प्रकाशित


हिमालयन गल्फ कोर्ष । तस्बिर फाईल

पोखरा-पहिलो दिन खराब शुरुवात गरेका सुभाष तामाङले सुर्य नेपाल गल्फ टुर २०२२÷२३ को सुर्य नेपाल वेष्टर्न ओपनको दोस्रो दिन बिहीबार उत्कृष्ट प्रदर्शन गर्दै शीर्षस्थानमा उक्लिएका छन् । राष्ट्रिय टिमका सदस्य समेत रहेको सुभाषले गतवर्षको उपाधि रक्षा गर्ने लय दोहोर्याउने क्रममा बिहीबार ४ अण्डर ६५ को कार्ड बनाए । उनले ३६ होल सकिदाँ एक अण्डर १३७ स्कोरमा छन् । उनले दोस्रो दिन आठौं होलमा बर्डी हिर्काउ्रँदै अघिल्लो नौ होल एक अण्डर ३३ मा खेले । व्याक नाईनमा उनले अझ सुधार्दै तीन अण्डरमा ३२ मा टुंग्याएका थिए ।

१० औं होलमा बर्डी हिर्काउँदा सुभाषले ११ औंमा भने बोगी खेपेपछि स्ट्रोक जोगाउने प्रयास असफल रह्यो । यद्यपी व्याक नाईनको १३ औं, १५ औं र १८ औं होलमा बर्डी हिर्काउँदै उनले ४ अण्डर ६५ को कार्डसहित उपाधि रक्षामा देखिए । उनलाई पछ्याउने क्रममा भुवन नगरकोटीले लेभल पार १३८ मा छन् । दोस्रो दिन उनले दुई ओभर ७१ को कार्ड बनाएर टुग्याउँदा दोस्रो स्थानमा झरेका हुन् । तेस्रो र पाँचौ होलमा बोगी खेपेपछि उनले दोस्रो दिनको खेल केही कमजोर हुन पुग्यो । यद्यपी व्याक नाईनमा कमब्याक हुने क्रममा लेभल पार ३५ खेल्दै सुधारे । उनी व्यावसायिक गल्फरमा शीर्षस्थानमै छन् ।

पार ६९ को पोखर–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा भएको सुर्य नेपाल गल्फ टुरको दोस्रो दिन रामे मगर दोस्रो स्थानमा रहने क्रममा सन्जय लामासँग एक ओभर १३९ को कार्डमा टाई छन् । रामे मगरले दोस्रो दिन सुधार्दै एक अण्डर ६८ कार्ड बनाए । उनले पहिलो दिन भने २ ओभर ७१ मा टुग्याएका थिए । उनीसँगै सन्जय लामाले पनि दोस्रो दिन लेभल पार खेल्दै १३९ को स्कोरमा छन् । बिहीबार २८ जनाले कट जोगाउने क्रममा २१ व्यवसायिक र ७ जना एमेच्यार खेलाडीले अन्तिम प्रतिस्पर्धा गर्ने छन् ।

सुक्रबहादुर राई र दलबहादुर राना चार ओभर १४२ को कार्ड लेख्दै समान चौथो स्थानमा छन् । राईले दोस्रो दिन लेभर पार ६९ खेले । अघिल्लो दिनमा चार ओभर ७३ को कार्ड बनाएपनि दोस्रो दिन उनले चार स्ट्रोक जोगाए । लामाले भने पहिलो दिन दुई र दोस्रो दिन पनि दुई ओभर खेल्दै १४२ खेल्दै चौथो स्थान बाँडे । जयराम श्रेष्ठ भने छैटौं स्थानमा रहने क्रममा ५ ओभर १४३ मा छन् । पहिलो दिन ६ ओभर खेल्दै खराब शुरुवात गरेका उनले दोस्रो दिन शालिन सट खेल्ने क्रममा एक अण्डर ६८ मा टुग्याएका थिए । अर्का एमेच्योर खेलाडी सदभाव आचार्यको प्रदर्शन भने लोभलाग्दो रहेन । आचार्यले पहिलो दिनको भन्दा पनि खराब खेलेका छन् । अघिल्लो दिन दुई ओभर ७१ खेलेका उनले दोस्रो दिन ५ ओभर ७५ खेल्दै समग्रमा १४५ को कार्डमा छन् ।

भुवन रोका मगर र नेपाल आर्मी क्लबका धनबहादुर थापा समान सातौं स्थानमा रहने क्रममा ८ ओभर १४६ को कार्ड बनाई कट जोगाएका हुन् । उनीहरुसँगै पोखराका एमेच्योर खेलाडी प्रज्वल गुरुङ छन् । गुरुङले १४६ को स्कोरसहित प्रतिस्पर्धामा छन् । दिपक आचार्य नवौं स्थानमा रहने क्रममा ९ ओभर १४७ को स्कोर कार्डमा लेखाउन पुगे । पोखराकै अर्का एमेच्योर खेलाडी अजित विक पनि १४७ को स्कोरसहित अन्तिम प्रतिस्पर्धामा छन् ।

सुर्यप्रसाद शर्मा,दिनेश प्रजापति १० ओभर १४८ स्कोरसहित १० औं स्थानमा छन् । १२ औं स्थानमा रबि खड्का छन् । उनी १२ ओभर १५० मा छन् । त्यसैगरी ६ जना गल्फर १३ औं स्थानमा टाई खेलेका छन् । शिवराम पौडेल,निरज तामाङ, भूबहादुर गुरुङ, टंकबहादुर कार्की, कृष्णमान राजबहाक,कमल तामाङ छन् । प्रदीपकुमार लामा १९औं, सविन सापकोटा २० औं बलबहादुर राई २१ औं स्थानमा रहँदै कट जोगाए । २३ औं संस्करणको सुर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको अन्तिम प्रतिस्पर्धाको फाईनल शुक्रबार हुने छ ।