शितल ज्योति कप सेभेन ए साइडको उपाधि एलजी.एकतालाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २८ गते २०७९ मा प्रकाशित


पोखरा-शितल ज्योति कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि एल.जी. एकताले जितेको छ । निकै प्रतिष्प्रर्धामा अम्मरसिंह चौरमा भएको फाईनल खेलमा एल.जी.ले रत्न सेवा समाजलाई सडेन डेथमा पराजित गर्दै उपाधि जित्न सफल रह्यो । विजेता एलजी एकताले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता भएको समाजले भने ८५ हजार ५ सय ५५ रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो । निर्धारित समय २५÷२५ मिनेट र थपिएको ५÷५ मिनेटमा समेत गोल हुन नसके पछि टाईब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा दुबै तर्फ ३÷३ गोल भए पछि सडन डेथमा पुग्यो । डेथमा ७–६ मा एलजीले रत्न सेवा समाजलाई पराजित गर्दै उपाधि जितेको हो । सडेन डेथमा समाजका गोलरक्षक विश्वास पौडेलले प्रहार गरेको पेनाल्टी सुट क्रसबारमा लागेर फर्फिएएको थियो । एलजीका गोलरक्षक कृष्ण गुरूङले सडेन डेथमा गोल गरे ।

एलजीका प्रिन्स तुलाचन, प्रशान्त गुरुङ र राहुल थापाले टाईब्रेरमा गोल गरे भने समाजका विनय तामाङ, सीमोन तामाङ र राकेश गुरुङले समेत टाईब्रेकरमा गोल गरेका थिए । त्यसै गरी टाईब्रेकरको सडेन डेथमा एलजीका विवेक गुरुङ, जीवन गुरुङ, दीवस परियारले गोल गरे भने समाजका आइत तामाङ, जोन तामाङ र नकुल तामाङले पेनाल्टी सुटमा गोल गरे । निकै आक्रमक शैलिमा उत्र्रिएका दुबै टोलीले खेलमा गोल गर्न नसक्दा जित निकाल्न टाईब्रेकर हुदै सडेन डेथ कुर्नुपर्यो ।

प्रतियोगितामा ई—लाइट फुटवल क्लब अनुशासित टीम घोषित भएको छ । ट्रफीको साथमा नगद ८ हजार पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा रत्न सेवा समाजका राकेश राई उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडी राईलाई माउण्टेन वाइक पुरस्कार वितरण गरिएको थियो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा समाजका विश्वास पौडेल, उत्कृष्ट डिफेण्डरमा एलजीका प्रिन्स तुलाचन, उत्कृष्ट मिडफिल्डरमा समाजका नकुल तामाङ, सर्वाधिक गोलकर्ताको उपाधि ६ गोल गरेका तारा एफ.सी.का मनिस थापा मगर घोषित भए । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकमा समाजका खिम छन्त्याल घोषित भए । विभिन्न विधामा उत्कृष्ट भएका उनीहरुलाई जनही ५ हजारको साथमा ट्रफी पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा २९ टिमको सहभागिता रहेको थियो ।