अभिषेक पहिलो नेपाली आईटिएफको बरियता खेलाडी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ५ गते २०८० मा प्रकाशित


आईटिएफको विश्व बरियता १७९० मा रहेको पोखराका अभिषेक बास्तोला ।(बीचमा) ।

पोखरा-इतिहास त्यसै लेखिदैन् । इतिहास लेख्न कडा मेहनत र परिश्रम चाहिन्छ । १५ वर्षको अवधिमा गरेको कडा मेहनत र परिश्रमले पोखराका २३ वर्षिय अभिषेक बास्तोलाले इतिहास कोरेका छन् । विश्व टेनिस महासंघ(वल्र्ड टेनिस फेडेरेसन)को विश्व बरियतामा १७९० औं स्थानमा रहँदै पहिलो नेपाली टेनिस खेलाडीले बरियता पाएका छन् । बरियता पाउने उनी पहिलो नेपाली युवा टेनिस खेलाडी हुन् । यद्यपी अहिले उनको बरियता केही खस्किएको छ ।

उनको अबको योजना ओलिम्पक गेम हो । त्यसपछिको लक्ष्य ग्राण्ड स्लाम हो । ग्राण्डस्लाम टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता हो । त्यो खेल्ने सपना जोकोहीले पुरा गर्न सक्दैनन् । ‘टेनिसमा अन्तिम लक्ष्य नै ग्राण्ड स्लाम हो ।’ उनले मंगलबार पोखराका सञ्चारकर्मीसँगको अन्तरिक्रयामा भने–‘यो वर्ष ओलम्पिक खेल्ने चाहना छ । त्यसपछि अर्कोवर्ष ग्राण्ड स्लाम खेल्ने लक्ष्य छ ।’ उनले १४ वर्षकै उमेरमा(सन २०१४ मा) अभिषेकले कोरियाको इन्चोनमा भएको १७ औं एशियन गेम्समा सहभागिता जनाईसकेका छन् । त्यसअघि उनले चीनको नान्जिङमा दोस्रो युथ गेम्समा सहभागिता जनाएका थिए । इण्डोनेशियामा आयोजित १८ औं एशियन गेम्समा पनि अभिषेकले नेपालको प्रतिनिधित्व गरेका थिए ।

टेनिस महंगो मध्येकै खेल हो । महंगो खेल परिवारको सहयोग विना सम्भव छैन् । उनी भन्छन–‘पारिवारिक सहयोगकै कारण यो उपलब्धी हासिल गर्न सकें ।’ नेपालमा टेनिसलाई खासै महत्व दिएको देखिदैन् । चुनौति छन् । चुनौतिलाई चिर्दै असम्भव भन्ने केही छैन् भनेर उनी टेनिसमा आफनो भविष्य कोर्न विदेशिएका थिए । ८ वर्षकै उमेरमा टेनिसप्रति लगाब बढाएका अभिषेकको सपनालाई बुवा अनुज बास्तोलाले पुरा गर्दै गए । बुवा अनुज आफैंपनि कास्की जिल्ला टेनिस संघमा आवद्ध मात्रै नभई टेनिस खेलाडी समेत हुन् । ‘नेपालमै बसेर यो उपलब्धीहासिल हुने सम्भव थिएन्’ अभिषेक भन्छन–‘परिवारको महत्वपूर्ण भूमिका सहयोग र उत्साहसँगै हौसलाले यहाँसम्म पुगें ।’

नेपालले पहिलो पटक डेविस कप टेनिसमा सहभागिता जनाउने छ । आगामी मे २३ मा हुने डेविस कपमा नेपाल समूह ५ मा रहेको छ । समूह ५ मा उत्कृष्ट नजिता निकालेको अवस्थामा नेपाल समूह ४ मा प्रवेश पाउने छ । त्यसैगरी उत्कृष्ट नजिताकै आधारमा समूह ३, २ हुदैं समूह १ मा उक्लिने छ । डेविस कप खास गरी टेनिसको विकासको लागि देश देशका खेलाडीहरु बीचको प्रतिस्पर्धाको रुपमा रहने छ । ग्रुप ५ मा नेपालसहित बहाराईन, यमन, मंगोलिया, बंगलादेश, बु्रनाई, कतार, लाओस, ओमान, भुटान, माल्दिभ्स, काजकस्तान, म्यानमार र मकाउ छन् । ‘अभिभावकको नाताले छोराको उपलब्धीप्रति गर्व छ’–वुवा अनुज बास्तोलाले भने–‘परिवारको तर्फबाट बातावरण बनाईदियौं ।’ उनका अनुसार टेनिस संघसँगै राज्यले पनि खेलाडीलाई प्रवद्र्धन गर्ने तर्फ ध्यान दिनुपर्छ ।

२३ वर्षिय अभिषेकले टेनिसकै करियरमा १४ देशमा गएर टेनिस खेलिसकेका छन् । ‘टेनिसमा मेरो करियर शुरु भएको छ’ उनको भनाई थियो । उनले आफनो प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन–‘टेनिस खेल्ने जोश र विश्वस्तरमै आफनो स्थान बनउाने रहर त छदै छ । तर यो एउटा ठूलो चुनौति पनि हो । चुनौति जित्नका लागि शारीरिक, मानसिक एवं प्राविधिक रुपमा प्रशिक्षत हुन जरुरी छ । यहाँ पुग्न सही व्यक्तिको सहयोगको खाँचो रहन्छ ।’ उनले अमेरिकाको क्यालिफोर्नियासिथत सेन्ट मेरिज कलेबाट सन २०२० मा स्नातक गरेका हुन् । अमेरिकामा आयोजना हुने कलेलस्तरीय प्रतियोगितामा सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा लिईने एनसिएए(नेशनल कलेज एथलेटिक एशोसियसन)को डिभजिन वानमा सहभागित भई माथिल्लो स्तरको टेनिसमा छनोट भईसकेको उल्लेख छ । सञ्चारकर्मीसँगको अन्तरिक्रयामा नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थले उनको बारेमा जानकारी गराएका थिए । उपाध्यक्ष कायस्थले टेनिस खेलबाट आईटिएफमा अभिषेकले नेपालको झण्डाको प्रतिनिधित्व गरेकोप्रति गर्व गरे । कास्की जिल्ला टेनिस संघले सञ्चारकर्मीसँगको भेटघाटको व्यवस्था गरेको हो ।