प्रथम पोखरा महानगर राष्ट्रिय फुल कन्ट्याक्ट कराँतेमा सन्तोष र कविता च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १९ गते २०८० मा प्रकाशित


पोखरा-पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रथम पोखरा महानगर राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिताको खुल्ला पुरुष तर्फ काठमाडौंका सन्तोष विश्वकर्मा च्याम्पियन बनेका छन् । मंगलबार पोखरा रंगशालाको कभर्डहलमा आयोजित प्रतियोगितामा खुल्ला तौल समूहको प्रतिस्पर्धामा काठमाडौंका विश्वकर्माले कास्कीका शिव भुजेललाई पराजित गर्दै च्याम्पियन बनेका हुन् । तेस्रो स्थानमा भने काठमाडौंका रविन्द्र बुढाथोकी र स्याङजाका सन्जयकुमार गुप्ता भए ।

महिला खुल्ला तौल समूहको प्रतिस्पर्धामा गोरखाकी कविता नेपाली च्याम्पियन बनिन् । उनले कास्कीकी मुना थापालाई पराजित गर्दै उपाधि जितिन् । काठमाडौंकी कविता मोक्तान र कास्कीकी कला क्षेत्री तृतीय भएका थिए ।

पुरुष ५५ केजी तौल समूहमा कास्कीका कृसम लामा च्याम्पियन बने । उनले कास्कीकै हेमन्त विकलाई पराजित गरे । कास्कीका सम्राट सेन ठकुरी र काठमाडौंका एलिस बमजन भने तेस्रो स्थानमा चित्त बुझाए । पुरुष ६० केजी तौल समूहमा बाग्लुङका लिलाबहादुर विक च्याम्पियन बने । उनले काठमाडौंका कविन्द्र मोक्तानलाई पराजित गरेका थिए । काठमाडौंका सुशान्त लामिछाने र सर्लाहीका सुजन पाख्रिन तेस्रो स्थानमा रहे ।

महिला ५५ केजी तौल समूहमा भने कास्कीकी सुष्मा चौधरीले कास्कीकै निशा थापालाई पराजित गर्दै च्याम्पियन बनिन् । सर्लाहीकी सजिना वाईबा र कास्कीकी सुनिता मगर भने तेस्रो स्थानमा चित्त बुझाए ।

प्रतियोगितामा विभिन्न जिल्लाका ५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियन बनेका खेलाडीले नगद १० हजार, उपविजेताले नगद ५ हजार र तेस्रो स्थानमा रहेका खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री एवं प्रदेश सदस्य राजीव गुरुङ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार लगायतले नगदसहित ट्रफी प्रदान गरेका थिए ।