
पोखरा-स्वास्थ्यका लागि खेलकुद । खेलकुदका लागि जिम । पछिल्लो समय युवापुस्ताको जमात जिम(व्यायामशाला)मा भेटिन्छन् । शहरी जीवन व्यस्त छ । तर पनि स्वास्थ्यप्रतिको सचेतता बढ्दै गएको आभाष व्यायामशालामा उपस्थिति सर्वसाधारणको भीडले देखाउँछ । वर्षेनी जिम सेन्टर थपिने क्रममा छन् । तर जिमका व्यावसायिक खेलाडी भने घट्दै गएको जिम सञ्चालक स्वीकार्छन् ।
पोखरामा २०४० सालदेखि जिम गर्ने परिपाटी शुरु भएको इतिहास छ । पोखरा व्यायामशालाको स्थापनासँगै व्यवसायिक जिमको शुरुवात भएको हो । ५० को दशकमा आईपुग्दा जिम सेन्टर १० को हाराहारीमा पुग्यो । ६० को दशकमा आईपुग्दा थपिएर १५ पुग्यो । ७० को दशकमा २५ वटा पुग्यो । त्यसपछिको पछिल्लो दशकमा पोखरामा व्यवसायिक जिम सेन्टरको संख्या ४० हो हाराहारीमा पुगेको छ ।
जिम थपिने क्रममा छ । कोभिडले धेरैलाई सतायो । कोभिडपछि स्वास्थ्यप्रतिको सचेतना निकै बढेको छ । त्यसयता नै धेरै जिम सेन्टर स्थापना भएको देख्न सकिन्छ । ‘पोखरामा अहिले ४०÷४२ को संख्यामा जिम सेन्टर छन्’ पोखराकै पुरानो जिम सेन्टर रत्न श्री जिमका सञ्चालक वकिलमान(शंकरमान) उदासले भने–‘खुल्ने क्रममा अझै छन् ।’ उनका अनुसार व्यवसायिक जिमको तथ्यांक संकलन शुरु गरिएको छ । जिमको छाता संगठन जिम व्यवसायी संघ समेत दर्ता गर्ने क्रममा रहेको उल्लेख गर्दै उनले संघमा आवद्ध हुन ३९ जना आईसकेको जनाए ।

जिम सेन्टरमा पुरुष मात्रै होईन युवतीको पनि आकर्षण बढेको छ । खास गरी ३० वर्षमाथिको उमेर समूह स्वास्थ्यप्रतिको सचेत रहँदै पसिना बगाउन जिम धाउने गरेका छन् । दशजोड दुई अध्ययन गर्ने युवा भने शरीर बलिष्ठ बनाउन ध्यान दिने गरेका छन् । राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक जीवन घिमिरेका अनुसार युवापुस्ताको आकर्षण बढेपनि निरन्तरता नहुदाँ खेलाडी उत्पादन हुनै सकेको ठोकुवा गर्छन् । ‘जिम गर्ने खेलाडीलाई अनावश्यक खर्चको बोझ थप्ने प्रवृत्तिले अझ समस्या बनाएको छ ।’ उनले भने । केमिमल प्रयोग गरिएको सप्लिमेन्टको प्रयोग गर्न प्रेरित गर्ने प्रवृत्तिले खर्चिलो बनाएको उनको बुझाई छ । खर्चिलो हुदैं गएपछि खेलाडीले बीचैमा छाड्ने गरेका छन् । नियमित प्रतियोगितात्मक गतिविधि नहुदाँ पनि त्यसको नकारात्मक असर खेलाडी उत्पादनमा देखिएको उनको भनाई थियो । चारवटा मात्रै व्यवसायिक जिम हुदाँ १५÷२० जना राष्ट्रियस्तरको प्रतिस्पर्धामा सहभागिता जनाउने गरेकोमा अहिले राष्ट्रियस्तरको प्रतियोगितामा सहभागि हुने खेलाडीको संख्या न्यून हुने गरेको अनुभव सुनाउँछन् ।
हिजो भन्दा आज जिममा आउने सर्वसाधारणको संख्या बढ्दै गएको छ । सर्वसाधारणको संख्या बढ्दै गएपछि ‘जिम सेन्टर खुल्ने क्रम पनि बढ्दै गएको छ’ पोखरा–१४ मझेरीपाटनस्थित मेरो नेपाल व्यायामशालामा प्रशिक्षण गराउँदै आएका राजुकुमार थापाले भने–‘पसिना बगाउने बढे तर व्यावसायिक खेलाडी बन्छु भन्ने घटे ।’ उनी मेरो नेपाल युवा क्लबका पूर्व अध्यक्ष समेत हुन् । क्लबकै अगुवाईमा मेरो नेपाल व्यायामशाला स्थापना गरिएको हो । व्यायामशाला सामुदायिक हो । थापा परिषदद्वारा सर्टिफाइ प्रशिक्षक समेत हुन् । शारीरिक सुगठन खासमा तौल समूहमा प्रतिस्पर्धा हुने गरेको छ । यदपी पोखरामा तौल समूहमा प्रतिस्पर्धा गर्ने खेलाडीकै संख्या घट्दै गएको छ ।
‘फिटनेस खासमा ग्लामर बनिदियो । फिटनेस राख्नुपर्छ भन्ने भयो’ उनले भने–‘दशजोड दुई अध्ययन गर्ने युवापुस्ता बढी जिममा भेटिन्छन् ।’ पछिल्लो समय शारीरिक सुगठनसँगै मेन्स फिजिक र वुमन्स फिजिक जस्ता इभेण्टलाई प्रतियोगितामा समावेश गरिन थालेपछि युवतीहरुको जिममा आउने गरेको उनको भनाई थियो । ‘वुमन्स फिजिक कम्पिटिसनले युवतीहरुलाई उत्साह थपेको अनुभव हामीले गरेका छौं’ उनको भनाई थियो । युवापुस्ताको जिमप्रति आकर्षण बढेपछि प्रतियोगिताको ¥याम्पमा उक्लिएर सेभेन पोज देखाउने खेलाडी खासै नभएको उनको अनुभव छ ।
‘जिम बढे तर शारीरिक सुगठन प्रतियोगिता खेल्ने खेलाडी बढ्न सकेन् ’ उनले भने–‘हुन त पोखरामा शारीरिक सुगठन प्रतियोगिता आयोजना समेत कम हुदै गएकोले खेलाडीको रुची घट्दै गएको हो कि भन्ने ठम्याई छ ।’ पोखरामा दुई दुई वर्षमा मिष्टर पोखरा आयोजना हुदैं आएको छ । त्यसभन्दा अघि पोखरामै वर्षेनी मिष्टर माछापुच्छ्रे आयोजना हुदैं आएको थियो । मिष्टर माछापुच्छ्रे प्रतियोगित स्थगित छ । पछिल्लो समय पोखराकै बुल्समेन क्लबले बुल्समेन राष्ट्रिय शारीरिक सुगठन तथा फिटनेस प्रतियोगिता आयोजना गर्दै आएको छ । यद्यपी पोखराको शारीरिक सुगठन खेलको विकास र विस्तारको लागि महानगरस्तरीय, जिल्लास्तरीय हुदैं प्रदेशस्तरीय प्रतियोगितालाई निरन्तरता दिनुपर्ने खाँचो उनले औंल्याए । ‘खेलाडीले जिम गरिसकेपछि प्रतियोगिता मार्फत एक्सपोज हुने हो । तर पोखरामा प्रतियोगिता कम हुदाँ खेलाडी एक्सपोज हुनै पाउने अवस्था छैन् ।’ उनले बताए ।
पोखरामा वर्षेनी जिम सेन्टर थपिने क्रमसँगै टे«नर पनि बढ्दै गएका छन् । पुराना खेलाडी आफैमा टे«नर बन्दै आएका छन् । राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त ३५ जना प्रशिक्षक छन् । उनीहरुले विभिन्न जिममा प्रशिक्षण गराउँदै आएका छन् । जिममा पनि आधुनिक जिमका सामान राख्ने प्रतिस्पर्धा छ । कुनैबेला जिममा आईरन(फलाम) सेट अप हुन्थ्यो । जुन २५ लाख सम्ममा तयार हुन्थ्यो । तर अहिले सामान्य जिम खोल्न ७० लाख रुपैयाँ खर्च हुने गरेको छ । ‘सामान्य जिम खोल्न अहिले ७० लाख सामान्य रुपमा लाग्छ’ पोखरा रंगशालास्थित बुल्समेन प्ले ग्राउण्डका सञ्चालक नुना गुरुङ बताउँछन् । उनका अनुसार पोखरामा जिममा झण्डै १ अर्ब रुपैयाँ लगानी भईसकेको छ । लगानी अनुसार खेलाडी उत्पादनमा भने खासै हुन सकेको देखिदैन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…