खेलाडी,रेफ्री तथा प्रशिक्षकको जोखिम विमा गर्न कार्यविधि बनाउँदै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २ गते २०८० मा प्रकाशित


(प्रदेश खेलकुद परिषद लोगो)

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका एघारवटै जिल्लामा सम्बन्धित संघका रेफ्री, प्रशिक्षक, कर्मचारी, पदाधिकारी लगायतलाई परिषदमा सूचीकृत गर्न परिपत्र गरेको छ । सूचीकृत भएका रेफ्री तथा प्रशिक्षक लगायतको प्रदेश खेलकुद परिषदले दुर्घटना विमा(जोखिम बहन) गर्ने निर्णय गरेको छ । त्यसको लागि प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले आगमाी बुधबार हुने छलफलबाट कार्यविधि तयार गर्नेे बताए ।

‘पहिला हामीले जिल्लाका रेफ्री, प्रशिक्षक, संघका पदाधिकारी तथा कर्मचारीहरुलाई सम्बन्धित संघ मार्फत सूचीकृत गर्न आग्रह गरेका छौं’ सदस्य सचिव शर्माले भने–‘सूचीकृतको भएकाहरुको यकिन तथ्यांक आएपछि मात्रै विमाको फाईनल गर्नेछौं ।’ उनका अनुुसार खेलाडीहरुको पनि दुर्घटना विमा हुने छ । खेलाडीको हकमा प्रदेशस्तरीय तथा राष्ट्रिय प्रतियोगितामा समावेश भएका खेलाडीहरुलाई विमामा समेटिने छ । आगामी बुधबार हुने बैठकमा दुर्घटना विमा(जोखिम)को कतिसम्म दिने विषयमा निर्णण् गरेपछि विमा कम्पनीसँग छलफल गरेर टुग्याईने बताए । ‘प्रतियोगिताको दौरानमा हुने दुर्घटनालाई ध्यानमा राखेर दुईलाखसम्म उपचार खर्च(प्रकृति अनुसार) पाउने व्यवस्थासहितको विमा गर्ने छौं ।’ उनको भनाई थियो ।

प्रदेश सरकारले खेलाडीको विमाको लागि खेलाडी कल्याणकारी कोषमा १० लाख रुपैयाँ छुट्टाएको छ । प्रदेश खेलकुद परिषदले पनि सबै रेफ्री तथा प्रशिक्षकलाई सूचीकृत गर्न आग्रह गरिसकेको छ । सूचीकृतको लागि परिषदले जिल्ला खेलकुद विकास समिति कास्की मार्फत आउन सबैलाई आग्रह गरेको छ । सूचीकृतको लागि एक हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने समेत प्रावधान राखेको छ । ‘सूचीकृत हुन एकहजार रुपैयाँ शुल्क तोकेका छौं’ प्रदेश खेलकुद परिषदका सदस्य सचिव शर्माले भने–‘जुन शुल्क खेलाडी कल्याणकोषमा जम्मा हुने छ । कोष बृद्धि गर्दै लैजाने उद्देश्य पनि हो ।’

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले १ करोड रुपैयाँ बराबरको खेलाडी कल्याणकोष स्थापना गरेको छ । त्यसको खेलाडी कल्याणकारी कोष नियमावली छ । प्रदेश खेलकुद ऐन २०७७ मा कोष स्थापना गर्ने बारे उल्लेख छ । प्रदेश खेलकुद परिषदले खेलाडी कल्याणकारी कोष २०७८ को नियमावली बनेपछि आवश्यक छलफल गरेर कार्यविधि तयार पार्ने योजना बनाएको उनको भनाई थियो । खेलाडी कल्याणकोषबाट खेलाडीको उद्दार, आपतकालिन सहयोग तथा छात्रवृत्ति लगायतका विषयमा छलफल गरेर कार्यविधि बनाईने उनले जानकारी दिए ।

‘खेलाडीलाई पढनबाट बन्चित नहोस भन्ने उद्देश्यले कोषबाटै छात्रवृत्ति दिन मिलाउने विषयमा समेत छलफल गरिने छ ।’ उनले भने । प्रतियोगिताको समयमा हुने भइपरि आउने दुर्घटनाबाट खेलाडी घाईते भएको अवस्थामा न्यूनतम दुईहजारदेखि दुईलाखसम्मको औषधी उपचारको व्यवस्था गर्ने विषयमा कार्यविधिमा उल्लेख गरिने सदस्य सचिव शर्माले सुनाए । कतिपय खेलाडीहरु रकमकै अभावमा उपचार गर्न पाएका छैनन् । रकम अभावकै कारण उपचार नपाउँदा खेलाडी फेरी खेलकुदका फर्किन सक्ने अवस्था छैन् । ‘यो शुरुवात हो । राम्रो हो । तर खेलाडीसँग शुल्क उठाउनुहुदैन् ’ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले भने–‘रकम अभावकै कारण कतिपय अवस्थामा खेलाडीले उपचार गर्न पाएका छैनन् । प्रदेश खेलकुद परियादको यो शुरुवात गर्नु राम्रो हो ।’