श्याम तामाङले रक्षा गरे उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ३० गते २०८० मा प्रकाशित


पोखरा-काठमाडौंका एमेच्योर गल्फर श्याम तामाङ विश्वकै उच्च उचाई स्थानको गल्फ कोर्षमा आयोजित ‘दोस्रो मुस्ताङ गल्फ प्रतियोगिता’को व्याकु टु व्याक उपाधि रक्षा गरेका छन् । पार ३६ को ९ होलको लोवाथाङस्थित मुस्ताङ गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा तामाङले पोखराका गल्फर लिलाजंग गुरुङलाई एक अंकले पछि पार्दैै दोस्रो पटक उपाधि जिते ।

४ हजार ६ सय ४५ मिटरको उचाईको कोर्षमा भएको प्रतिस्पर्धामा तामाङले ९ होलमा १९ स्कोर बनाए । उनले एक अण्डर खेल्दै उपाधि उचाल्दा पोखराका लिलाजंग भने १८ अंकसहित दोस्रो स्थानमा चित्त बुझाए । लिलाजंगले लेभलपार १८ को स्कोर बनाएका थिए । २४ पुरुष गल्फर सहभागिता रहेको प्रतिस्पर्धाको ग्रस तर्फ रविन राना च्याम्पियन बने । उनले पोखराका याम रानालाई पछाडि पारे ।
रविन राना र याम रानाको स्कोर समान ११ भएपनि रविन काउन्ट व्याकमा च्याम्पियन बने । उनले अन्तिम होलमा २ अंक जोडेपछि च्याम्पियनमा नाम लेखाए । पी. बी राई पनि समान ११ स्कोर भएपनि तेस्रो स्थानमा चित्त बुझाए । सिनियर गल्फरको पुरस्कार भने पोखराका गल्फर बलराम थापाले पाए । ६१ वर्षिय थापा गत वर्षको पहिलो संस्करणको प्रतिस्पर्धामा उपविजेता बनेका थिए । उनले १६ स्कोर गरे ।

महिला तर्फको प्रतिस्पर्धामा पोखराकी जुनी गुरुङ च्याम्पियन बनिन् । उनले १५ स्कोर गरिन् । सर्वाधिक बर्डी हिर्काउने गल्फरको पुरस्कार आत्मराम सिंखडाले जिते । त्यस्तै लङगेष्ट ड्राईभको पुरस्कार मदन सिंखडाले पाए । होल नजिक हिर्काउँदै ‘क्लोजेष्ट टु दि पीन’को पुरस्कार मेजर विजय मोक्तानले पाए । होल ईन वानको पुरस्कार भने कसैले जित्न सकेनन । होल ईन वान विजेता गल्फरलाई घोडा पुरस्कार स्वरुप प्रदान गर्ने निर्णय गरिएको थियो ।

तीन वर्ष अघि मात्रै चरन क्षेत्रको रुपमा रहेको लोवाथाङ अहिले विश्वकै उच्च स्थानको गल्फ कोर्षमा परिणत भईसकेको छ । विश्व कीर्तिमान लेखाउने योजनासहित मुस्ताङ गल्फ कोर्षले ४ हजार ६ सय ४५ मिटरको उचाईको कोर्षमा दोस्रो पटक प्रतियोगिता आयोजना गरेको हो । ‘विश्वकै उच्च उचाईको गल्फ कोर्षमा कीर्तिमान लेखाउने योजनासहित दोस्रो पटक गल्फ प्रतियोगिता आयोजना गर्यौं’ मुस्ताङ गल्फ कोर्षका निर्देशक इन्द्रधारा विष्टले भने–‘आगामी वर्ष कोर्षलाई अझ व्यवस्थित बनाई प्रतियोगितालाई भब्य बनाउने योजना छ ।’ उनले लोमान्थाङलाई हाईअल्टिच्युड स्पोर्टस हबको रुपमा विकास गर्दै साहसिक पर्यटन प्रवद्र्धनमा गल्फले नयाँ आयाम थपिने विश्वास लिएको सुनाए ।

प्रतियोगितालाई लोमान्थाङ गाँउपालिकाले सहआयोजकको भूमिका निर्वाह गरेको छ । स्थानीय व्यवस्थापन गाँउपालिकाले गरेको थियो । प्रतियोगितालाई लोमान्थाङका युवराज ढिक्मी ढिन्डुप फोन्चुक परवल विष्टले टी अफ गरेर उदघाटन गरेका थिए । विभिन्न विधाका विजेता गल्फरलाई गण्डकी प्रदेशका पूर्व सदस्य समेत रहेका इन्द्रधारा विष्ट, गाँउपालिकाका पदाधिकारी लगायतले ट्रफी प्रदान गरेका थिए । कोर्ष डिजाईन गर्न नेपाल गल्फ संघका केन्द्रीय सदस्य भुबहादुर गुरुङ(भुवन)ले एकसाता अघि लोमान्थाङ पुगेका थिए । उनकै सक्रियतामा गल्फ कोर्ष मर्मत गरिएको थियो । प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटी एक्सप्रेस, जर्मन बेकरी, सोल्टी पानी, मुस्ताङस्थित छिम्ले अर्चार्ड प्रालि लगायतले सहयोगी भूमिका खेलेका थिए ।