विश्वकै उत्कृष्ट नमूना कोर्षको पाँचौस्थानमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २३ गते २०८० मा प्रकाशित


पोखरा-विश्वमा धेरै गल्फ कोर्ष छन् । नेपालमा चारवटा मात्रै व्यवसायिक गल्फ कोर्ष छन् । पोखराको हिमालयन गल्फ कोर्ष, काठमाडौंको गोकर्ण रिसोर्ट गल्फ कोर्ष, रोयल नेपाल गल्फ कोर्ष र धरानको निर्वाणा गल्फ कोर्ष । ती कोर्षका आफ्नै विशेषता छ ।

पोखराको हिमालयन गल्फ कोर्ष विश्वकै युनिक(नमूना) गल्फ कोर्षभित्र पाँचौस्थानमा पर्छ । गल्फ ड्राइभ्स डटकम वेभसाईटले विश्वका उत्कृष्ट नमूना गल्फ कोर्षलाई सूचीकृत गर्दै आएको छ । पहिलो नम्बरमा दक्षिण अफ्रिकाको लेजेण्ड गल्फ एण्ड सफारी रिर्सोट भित्रको कोर्ष पर्छ । दोस्रोमा ग्रिन ल्याण्डको उमान्नाक ग्रिनल्याण्ड कोर्ष पर्छ । तेस्रो स्थानमा अमेरिकाको प्रिजन भ्यु गल्फ कोर्ष, चौथोस्थानमा इन्डोनेसियाको मेरापी गल्फ कोर्ष छ । पाँचौस्थानमा नेपालको हिमालयन गल्फ कोर्ष(पोखरा)को छ । छैटौं स्थानमा दक्षिण अफ्रिकाको स्कुकुजा गल्फ कोर्ष, सातौंस्थानमा मेक्सिकको एल क्यामेलन मायाकोबा गल्फ कोर्ष, आठौंस्थानमा अष्ट्रेलियाको नुलरबोर लिङ्स गल्फ कोर्ष छन् ।

केही महिना अघि मात्रै पोखराको हिमालयन गल्फ कोर्ष एशिया प्यासफिकको उत्कृष्ट १०० कोर्षभित्र परेको छ । एशिया प्यासफिकले ‘द बेष्ट गल्फ कोर्ष’ मा हिमालयन गल्फ कोर्ष विश्वकै २३ औं स्थानमा रहेको उल्लेख गरेको छ । पोखरा–१४ छिनेडाडाँमा रहेको हिमालयन गल्फ कोर्ष १८ होलको छ । पार ६९ को कोर्षलाई विजयपुर खोला वारी र पारी गर्दै खेल्नुपर्छ । खोलाकै बीचमा आइल्याण्ड होल छ । जहाँबाट उत्तरी क्षेत्रका सबैजसो हिमाल देख्न सकिन्छ । ‘विश्वकै युनिकमा पाँचौ र एशिया प्यासफिकले बर्गिकरण गर्ने कोर्षमा हिमालयन गल्फ कोर्ष २३ औंस्थानमा छ’ हिमालयन गल्फ कोर्षका व्यवस्थापक एवं नेपालका व्यवसायिक गल्फर भूबहादुर गुरुङ(भुवन)ले भने–‘बर्गिकरणले विदेशी गल्फर पोखरामा गल्फ खेल्न र हेर्न पनि गल्फरले विदा मिलाएर आउने गरेका छन् ।’


गल्फरले पोखराको कोर्षमा खेल्न दक्षता, क्षमता र धैर्यता चाहिन्छ । छैटौं नम्बरको होल पार ५ को छ । छैटौं होल आईल्याण्डमा पर्छ । जहाँ १० वटा बंकर छन् । छैटौं होलको बंकरले स्कटल्याण्डको पुरानो कोर्षमा भएको बंकर झल्को दिन्छ । जहाँ रुखहरु छन् । खोलाको पानी बेगले बगिरहेको देखिन्छ । तेस्रो सटमा मात्रै ग्रिनमा पुर्याउनुपर्छ । क्लब हाउसबाट बंकरसहितको होल प्रष्ट देखिन्छ ।

सातौं नम्बरको होल भने पार ३ हो । जुन १५० यार्डको छ । खोला पारी हिर्काउँदै होल ई वानको सम्भावना छ । ‘यो सातौं होल कठिनाई पनि छ । तर होल ईन वानको सम्भावना बढी हुन्छ । गल्फरहरुले सातौं नम्बरमा बढी होल ईन वान गरेका छन्’ उनले भने । कोर्षको ५वटा होल माथिल्लो भागमा छ । बाँकी १३ वटा होल भने विजयपुर खोलाको वारिपारी छन् । १८ होलको पार ६९ को कोर्ष पुरा गर्दा गल्फरले उकाली र ओराली गर्दै ११ किलोमिटर हिड्नुपर्छ ।