बुटवलमा आयोजित दोस्रो मेयरकप टेनिसमा पोखरेलीका बर्चस्व

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १९ गते २०८० मा प्रकाशित


पोखरा-बुटवलमा आयोजित दोस्रो मेयर कप तथा छैटौं बुटवल ओपन टेनिस प्रतियोगितामा अधिकांश उपाधि पोखरेली टेनिस खेलाडीको पोल्टामा परेको छ । प्रतियोगिता अन्तर्गत पुरुष एकलमा पोखराका प्रदीप खड्काले रितिक रानालाई ६–३, ४–६ र ६–४ ले पराजित गर्दै उपाधि आफनो बनाए । पोखराकै अनिल साईले कमल भण्डारीलाई ७–५, ६–७ र ११–९ ले पराजित गर्दै पोखरालाई दोस्रो उपाधि दिलाए ।

४५ वर्ष माथिको डबल्समा धरमबहादुर लामिछाने र गोपीबहादुर भट्टराईको जोडीले स्वर्ण पदक भित्र्याए । यो जोडीले रोहित सुनुवार र जोली तारगङको जोडीमाथि ७–५, ७–५ को नतिजा निकालेको थियो । त्यस्तै, लोक गुरुङ्ग र धरमबहादुर लामिछानेको जोडीले ५५ वर्ष माथिको डबल्समा स्वर्ण जिते । उनीहरुले फाइनल खेलमा बिमल वाइबा र हिमाल शाहको जोडीलाई ३–६, ७–५ र १०–६ ले पराजित गरेका थिए ।

३५ वर्ष माथिको डबल्समा अनिल साई र सिमान्त गुरुङ्गको जोडीले सन्तोष खत्री र सन्जय श्रेष्ठको जोडीलाई ६–३, ६–३ ले पराजित गदैै उपाधि थपे । मेन्स डबल्सतर्फ आशिष खड्का र आयुष्मान घले जोडीले स्वर्ण जिते । उनीहरुले सक्षम बिक्रम शाह र आर्यन गिरीको जोडीलाई ६–४, ६–२ को स्कोरमा पराजित गर्दै उपाधी जितेका हुन् । ४५ वर्ष माथि सिंगलतर्फ गोपीबहादुर भट्टराई उपविजेतामा चित्त बुुझाए । फाइनल खेलमा उनी कमल भण्डारीसंग ६–१, ६–१ ले पराजित हुन पुगेका थिए ।