लेखनाथको पटनेरीमा क्रिकेट रंगशाला बनाउन सिफारिस

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २० गते २०८० मा प्रकाशित


लेखनाथको पटनेरीस्थित क्रिकेट रंगशाला बनाउन प्रस्तावित गरिएको जग्गा तस्बिर सौजन्य दुर्गा चन्द

पोखरा-गण्डकी प्रदेश खेलकुद परिषदले अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने सपना साँचेको झण्डै आधा दशक पुरा भईसक्यो । तर अझै उपयुक्त मैदान भेटेको छैन् । परिषदले स्थान पहिचान गरेपनि लगानी भने अझै हुन सकेको छैन् । पोखरा ३३ पशुपतिघाटमा जग्गा प्राप्त भएपनि फेजआउट भएपछि प्रदेश खेलकुद परिषद तथा गण्डकी प्रदेश सरकारकै रंगशाला निर्माण गर्ने सपना पुरा हुन सकेन् ।

क्रिकेट रंगाशाला निर्माणको लागि प्रदेश खेलकुद परिषदले आफनै सदस्य ऋषिराम गौतमको संयोजकत्वमा स्थान पहिचानको लागि टोली गठन गरेको थियो । गठित टोलीले तनहुँको शुक्लागण्डकी र नवलपुरमा उपयुक्त जग्गा रहेको सिफारिस गरेको थियो । यद्यपी प्रदेश क्रिकेट संघ गण्डकीले पोखरा २९ पटनेरीमा उपयुक्त सरकारी जग्गा रहेको ठहर गरेको छ । ठहर गरेको जग्गालाई पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्षले समेत अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सहजीकरणको लागि सिफारिस गरेको छ । प्रदेश खेलकुद परिषदलालाई सहजीकरण गर्न सिफारिस गरेपछि स्थान पहिचान गर्ने टोलीका संयोजक गौतमले पनि त्यही पत्रलाई आधार मान्दै सामाजिक विकास मन्त्रालय समक्ष सिफारिस गरेको छ । वडाध्यक्ष श्रीप्रसाद गुरुङ ले कित्ता नं १००५ को जग्गा उपयुक्त रहेको ठहर गर्दै सिफारिस गरेका हुन् ।

वडा नं २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले उक्त जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि उपयूक्त रहेको बताएका छन् । उनले भनेका छन्–“कुनै न कुनै रुपले हामीले यो जग्गालाई संरक्षण गर्नुपर्छ भन्नेमा थियौं । तर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको बारेमा हामीले त्यती सोचेका पनि थिएनौं । प्रदेश खेलकुद परिषदले नयाँ योजना ल्याएको छ । हामी त्यसको स्वागत गर्छौं । प्रदेश सरकारले यहाँ रंगशाला निर्माणको योजना अघि सार्छ भने हामी त्यसका लागि तयार छौं ।”

करिव ४ सय ५० रोपनीमा फैलिएको पोखरा २९ पटनेरीको जग्गा विगतमा प्रस्तावित पशुपतीघाट क्रिकेट रंगशालाको उत्तरतर्फ पर्दछ । सेती नदीको कारण पशुपतीघाटको निर्माण कार्य अघि बढेन् । प्रदेश सरकारले पशुपतीघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि डिपिआर समेत तयार गरिसकेको थियो ।

परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमको संयोजकत्वमा परिषदद्वारा गठित अध्ययन टोलीले प्रदेशका विभिन्न जिल्लाको भ्रमण र स्थलगत अवलोकन गरी जग्गाको खोजी गरिरहेको थियो । सोही आधारमा प्रदेश सरकारको चैत्र ९ गते भएको मन्त्री परिषदको बैठकले नवलपुर र तनहुँको शुक्ला गण्डकीमा गरी दुई ठाउँमा प्रादेशीक क्रिकेट रंगशाला निर्माणको घोषणा समेत गरेको छ ।

प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा २९ पटनेरीको जग्गा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि उपयूक्त रहेको बताएका छन् । उनले भने–“मैले पनि स्थलगतरुपमा अवलोकन गरेको छु । जग्गा समेत प्रयाप्त मात्रामा छ । वडा कार्यालय र स्थानियहरु समेत सकरात्मक र उत्सुक छन् । “पोखरालाई क्रिकेटको हव बनाउने हो भने सबै हिसाबले यो स्थान उपयूक्त छ ।”अध्यक्ष सिग्देलको भनाई थियो ।