कास्की गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ९ गते २०८१ मा प्रकाशित


पोखरा- पोखरामा आयोजित तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन बनेको छ । शनिबार पोखरा रंगशाला आर्चरी मैदानमा भएको प्रतिस्पर्धामा कास्कीले तीन स्वर्ण दुई रजत र दुई कास्य पदक जित्दै च्याम्पियन बन्यो । बागलुङ १ रजतका साथ दोस्रो हुँदा म्याग्दी १ काश्य पदकका साथ तेस्रो बन्न सफल भएको छ ।

रिकर्भ पुरुष एकलतर्फ कास्कीका अशिम शेरचनले फाइनलमा कास्कीकै सुमन गुरुङलाई फाइनलमा ६–२ अंकले पराजित गरी स्वर्ण पदक जिते भने सुमन रजत पदकमा सिमित बने । सोही इभेन्टमा भने म्याग्दीका अमरेश पुनले बागलुङका दुर्गा घर्तीलाई ६–४ को प्रतिस्पर्धात्मक खेलमा पराजित गरी काश्य पदक जिेतका छन् ।

यस्तै रिकर्भ महिला एकलमा कास्कीकी रोजिना थापा मगरले स्वर्ण पदक जित्न सफल भईन् । उनले फाइनलमा ६–० ले कास्कीकै केशरी आलेमगरलाई पराजित गरेकी हुन् भने अनुस्का शेरचनले काश्य पदक जितेकी छन् । उनले तेस्रो स्थानको खेलमा कास्कीकी कृषा गुरुङलाई ७–१ अंकले पाखा लगाएकी थिइन । यस अघि भएको सेमीफाइनलमा अनुस्काले केशरी संग ५–५ ले बराबरी खेले पछि खेल टाइ भएको थियो । जसमा केशरीले १ अंकले बाजी मार्दै फाइनलमा पुगेकी थिइन् ।

यसै गरी स्टाण्डर्ड पुरुष एकल सिंगल्समा कास्कीका होम फगामीले फाइनलमा बागलुङका प्रजित घर्ती मगरलाई ६–० ले पराजित गरी स्वर्ण पदक जिते भने कास्कीका गणेश तिलिजाले म्याग्दीका सुमन पाइजालाई ६–४ ले हराउँदै काश्य पदक जिते ।

प्रतियोगितामा मेन्स रिकर्र्भृ पुरुष तथा महिला तर्फका स्वर्ण, रजत तथा काश्य पदकका विजेताले क्रमश नगद रु ३० हजार, २० र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा सोही इभेन्टतर्फ महिला तर्फका स्वर्ण, रजत तथा काश्य पदकका विजेताले क्रमश नगद रु २० हजार, १५ र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै स्टाण्डर्ड मेन्स सिंगल्सतर्फका विजेताले स्वर्ण, रजत तथा काश्य पदकका विजेताले क्रमश नगद रु २० हजार, १५ र १० हजार प्रदान गरिएको थियो ।