पोखरा-भर्खरै मलेसियामा सम्पन्न यु १९ क्रिकेट प्रतियोगिताबाट विश्वकपको यात्रा तय गर्दा क्रिकेट टोलीकी सदस्य रचना चौधरीलाई सम्मान गरिएको छ । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनौट हुन सफल पोखरा गलेश्वरकी रचना चौधरीलाई पोखरा महानगर क्रिकेट संघले सम्मान गरेको हो । उनलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।
पोखरा महानगर खेलकुद विकास समितिका निबर्तमान अध्यक्ष दीपक गोदारले उनीहरूलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरे ।
सो अवसरमा बोल्दै अध्यक्ष गोदारले खेलाडीहरू राष्ट्रको गहना भएको बताउँदै उनीहरुलेनै अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको सान उँचो पार्ने औल्याए । पोखरा महानगर क्रिकेट समितिको सहयोगमा महानगर क्रिकेट संघले आयोजना गरेको क्रिकेटको ग्रासरुट कार्यक्रमबाट रचना जस्तै अन्य होनहार खेलाडी उत्पादन हुनेमा उनले विश्वास व्यक्त गरे ।
पोखरा महानगर क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुनले क्रिकेटमा नवप्रतिभाशाली खेलाडी खोज्नका लागि ग्रासरुट कार्यक्रमलाई निरन्तरता प्रदान गरिने बताए । पूर्व राष्ट्रिय खेलाडी दिपेश खत्रीलाई पनि सम्मान गरिएको थियो ।