
पोखरा-लन टेनिसको पोखराको इतिहास जति गर्विलो छ त्यति नै खेलाडी उत्पादनमा कमजोर छ । खेलाडी उत्पादनको लागि आवश्यक प्रशिक्षण र प्रतियोगिता कास्की जिल्ला टेनिस संघले समावेश गर्नै सकेको छैन् ।
बिहीबारदेखि पोखरामा २१ औं संस्करणको माछापुच्छ्रे बैंकको मुख्य प्रायोजन रहेको पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुदैं छ । ओपन र भेट्रान्स प्रतियोगितालाई निरन्तरता दिदाँ खेलाडी उत्पादनको जग मानिएको जुनियर प्रतियोगितालाई संघले समेट्न सकेको छैन् । ‘जुनियर टेनिस प्रतियोगिता आयोजना गर्न नसकिरहेको स्वीकार्छौ ।’ कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङ(राजु)ले बताए । खुल्ला र उमेर पाकाहरुको प्रतिस्पर्धाको यो सस्करणसम्म आउँदा जुनियर तर्फ संघ मौनता छ ।
संघले जुनियर खेलाडी नभएको भन्दा पनि कम भएको स्वीकार्छ । ‘हामीसँग जुनियर खेलाडी कम छ ।’ अध्यक्ष गुरुङले भने—‘खेलाडी कम हुदाँ जुनियर प्रतियोगिता आयोजना गर्न सकिरहेका छैनौं ।’ उनका अनुसार प्रदेश खेलकुद परिषद गण्डकीको आर्थिक सहयोगमा खेल्छ गण्डकी कार्यक्रम शुरु गरिएको छ । संघले आगामी दुईसाता पछि भित्नाजित नामक जुनियर प्रतियोगिता पोखरामै आयोजना गर्ने भन्दै त्यसको संयोजन गर्ने उनले बताए ।
खेल्छ गण्डकी कार्यक्रम अन्तर्गत जुनियर प्रशिक्षण शुरु गरिएको उनले बताए । प्रशिक्षण लिईरहेका जुनियरलाई प्रतियोगिताको लागि तयार गरी प्रतियोगिता आयोजना गर्ने योजनामा रहेको उनले बताए । उनले जुनियर खेलाडी नहुदाँ प्रतियोगिता आयोजना गर्न समस्या भएको जिकिर गरे । ‘पहिला हामीले भेट्रान्स मात्रै गर्यौं । दुई वर्षयता पोखरा ओपन भनेर थप्यौं ।’ उनले भने—‘अब आगामी वर्ष जुनियर पनि थप्छौं ।’
बिहीबारदेखि शुरु हुने प्रतियोगितामा १५० जना खेलाडीले एकल प्रतिस्पर्धा गर्ने छन् । ४५ जनाले डबल्स इभेण्टमा प्रतिस्पर्धा गर्ने छन् । बुधबार पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं उपाध्यक्ष नविन चालिसेले पोखरा ओपन, ३५, ४५, ५५ र ६५ वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा गराईने सुनाए ।
६ वटा कोर्टमा प्रतिस्पर्धा गराईने छ । ओपन विजेताले नगद ८० हजार प्राप्त गर्ने छन् । उपविजेताले ४० हजार प्राप्त गर्ने छ । त्यसैगरी ३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विजेताले ६० र उपविजेताले ३० हजार पाउने छन् । त्यस्तै ४५ वर्षमाथिको उमेर समूहमा विजेता र उपविजेताले नगद ४० र २० हजार पाउँदा ५५ वर्षमाथिको उमेर समूहले ३० र १५ हजार, ६५ वर्षमाथिको प्रतिस्पर्धाको विजेताले नगद १५ र ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन् ।