सिक्किमे टोलीसँग संकटा पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २५ गते २०८१ मा प्रकाशित


पोखरा-सिक्किमे टोली थण्डरबोल्ट नर्थ युनाईटेडले संकटा क्लबमाथि ३–१ गोलले पराजित गर्दै २४ औं संस्करणको आहा रारा गोल्डकपको क्र्वाटर फाईनल प्रवेश गरेको छ ।

एक गोलले पछि परेको अवस्थामा सिक्किमे टोलीले दोस्रो हाफमा दुई गोल थप्दै जित आत्मसात गर्यो । पहिलो हाफमा बराबरी गोल फर्काउँदै दोस्रो हाफमा थप दुई गोल गरेपछि संकटालाई बराबरीमा फर्किने सम्भावना कमै थियो ।

१७ औं मिनेटमा संकटाले गोल गर्दै अग्रता लियो । मनिष पौडेलले गोल गर्दै दिलाएको अग्रता पहिलो हाफसम्म टिकेन् । खेलको ३४ औं मिनेटमा अफ्रिकनमुलका खेलाडी तालाले पेनाल्टीमा गोल फर्काउँदै थण्डरलाई बराबरीमा ल्याए । करन राईलाई लडाएपछि पाएको पेनाल्टीलाई तालाले सदुपयोग गरेका हुन् ।

खेलको ७७ औं मिनेटमा थण्डरले दोस्रो गोल गर्यो । एन्ड्रयुको पासमा करन राईले फष्टबारमा गोल गरे । त्यसपछि निर्धारित समयको ९० ओं मिनेटमा आर्दश तामाङले गोलकिपर अगाडि बढेको अवस्थामा सेन्टर लाईनको आर्कबाट हानेको बल सिधै पोष्ट भित्र छिरेपछि थण्डरले अग्रतासँगै जित सुनिश्चित बनायो ।

पहिलो हाफको अतिरिक्त समयमा संकटाले पाएको अवसर गुमायो । ६७ औं मिनेटमा अबेका रिचार्डलले हानेको बल फष्टबारमा लागेर रिवाउण्ड हुन पुग्यो । खेलको ८२ औं मिनेटमा रोशन पहारीको पासमा अविनाश स्याङतानले सिक्स यार्ड बक्सबाट हानेको बल आकासिएपछि संकटाका अफिसियलमा निराशा छायो । खेलमा ताला प्लेयर अफ दि म्याच घोषित भए ।

सहारा क्लबको आयोजना, हिमश्री फुड्सको उत्पादन रारा चाउचाउको मुख्य प्रायोजन, जयश्री फुड्सको सह प्रायोजनामा सञ्चालित प्रतियोगिताको शनिबार पहिलो क्र्वाटरफाईनल खेल नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाईज क्लब युकेसँग प्रतिस्पर्धा गर्ने छ ।