मछिन्द्र पेनाल्टी सुटआउटमा पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २७ गते २०८१ मा प्रकाशित


पोखरा-मछिन्द्र क्लबको चुनौतिलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै थ्रीस्टार क्लब २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ । सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा आईतबार भएको प्रतिस्पर्धामा मछिन्द्रलाई पेनाल्टी सुटआउटमा ४(२ गोलले पराजित गर्दै थ्रीस्टारले अन्तिम चारमा प्रवेश गर्यो ।

निर्धारित समय र अतिरिक्त समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा मछिन्द्रका विशाल घलान र आदित्य शाक्यको प्रहार गोलमा परिणत नभएपछि गोल्डकपको यात्रा टुंगिएको थियो । दिवाकर चौधरी र सनिष श्रेष्ठले गोल गरेका थिए ।

थ्रीस्टारका लागि फोडे फोफोना, दिपेश घले, लक्ष्मण रुचाल र विराज महर्जनको पेनाल्टी गोलमा परिणत भएपछि अन्तिम चारको यात्रा तय गर्यो । आईतबार प्रतिस्पर्धा निकै रोचक बन्यो । दुवैले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा दिपेश घलेले क्रस गरेको बल सेकेण्ड बारमा लागेर रिवाउण्ड भएको बल फष्टबार नजिकैबाट क्लियर भएको थियो ।

थ्रीस्टारले एकपछि अर्को अवसर सृजना गरेपनि गोल नहुदाँ निर्धारित र अतिरिक्त समय गोलरहितमा चिक्त बुझायो । खेलमा दिपेश प्लयेर अफ दि म्याच घोषित भए । सहारा क्लबको आयोजना, हिमश्री फुड्सको उत्पादन रारा चाउचाउको मुख्य प्रायोजन र जयश्री फुड्सको सह प्रायोजनामा सञ्चालित प्रतियोगिताको तेस्रो क्र्वाटरफाईनल खेल अपी पावर चर्च ब्वाईजले त्रिभुवन आर्मी क्लबविरुद्ध खेल्ने छ ।