
पोखरा-लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एमले पोखरामा आगामी वैशाख तेस्रो साता राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिप २०८२ आयोजना गर्ने जमर्को गरेको छ । सामाजिक क्षेत्रमा सक्रिय रहेको लायन्सले पहिलो पटक अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिता गर्ने तयारी गरेको हो ।
प्रतियोगिता आगामी बैशाख १८ गतेदेखि २२ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने छ । प्रतियोगितामा चार स्वदेशी क्लब र दुई विदेशी क्लबले प्रतिस्पर्धा गर्ने डिष्ट्रिक गर्भनर चण्डीप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार पाकिस्तान भलिबल क्लब इस्लामावाद, नेपालका विभागीय क्लकहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश भलिबल संघ रहेका छन् । त्यस्तै अर्को विदेशी क्लबमा भारत तथा इरानको टोलीसँग छलफल भईरहेको उनले सुनाए ।
पोखरा पर्यटनको राजधानी घोषणा भईसकेको छ । भ्रमण वर्ष समेत घोषणा भएको अवस्थामा भलिबलको माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लायन्सको मुख्य ध्येय रहेको उनले बताए । भलिबल खेल मार्फत अन्तराष्ट्रियस्तरमा जोड्ने प्रयास हुने विश्वास लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एमले जनाएको छ ।
विजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ र तेस्रो स्थानमा रहने टोलीले १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्ने अर्यालले जनाए । सर्वोत्कृष्ठ खेलाडीले १४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि लायन्स क्लबले ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।