पोखरा स्पोर्टस अवार्ड मनोनयन सार्वजनिक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १७ गते २०८२ मा प्रकाशित


पोखरा-नवौं पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले यही बैशाख २६ गते आयोजना गर्ने स्पोर्टस अवार्डमा मनोनयनमा परेका खेलाडीहरु सार्वजनिक गरिएको छ ।

बुधबार आयोजित कार्यक्रममा महिला उत्कृष्ट खेलाडीमा अरुणा शाही(भलिबल, म्याग्दी), कृपा गुरुङ(स्याङजा, फेन्सिङ), सुस्मिता थापा(बाग्लुङ, आईटिएफ) रहेका छन् । त्यसैगरी पुरुष तर्फ विश्वास अधिकारी(नवलपुर, भलिबल), प्रदीप खड्का(कास्की, लनटेनिस), सुमित श्रेष्ठ(कास्की, फुटबल) रहेका छन् ।

उदीयमान खेलाडीहरुको सूचीमा बादल कार्की(एथलेटिक्स), जितबहादुर सार्की(भलिबल) र रचना चौधरी(क्रिकेट) रहेका छन् । प्रशिक्षकमा निरज थापा(टेनिस), रमेश केसी(भलिबल) र राजेन्द्र तामाङ(फुटबल) रहेका छन् । त्यसैगरी खेलकुद पत्रकार मञ्च गण्डकीले उत्कृष्ट खेल संघ तथा संस्था र उत्कृष्ट खेल पत्रकारलाई समेत पुरस्कृत गर्ने जनाएको छ ।

उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई इलेक्ट्रिक स्कुटर र ट्रफी प्रदान गरिने छ । त्यस्तै अन्य विधागत पुरस्कार तर्फ भने नगद ३५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने मञ्च गण्डकीले जनाएको छ । बैशाख २६ गते आयोजना हुने स्पोर्टस अवार्डलाई प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद लगायतले सहयोग गरेका छन् ।

मञ्चका अध्यक्ष एमबी आस्थाका अनुसार उदीयमान खेलाडीको पुरस्कार प्रायोजन सहारा क्लब पोखराले गरेको छ । उत्कृष्ट प्रशिक्षक पुरस्कारको प्रायोजन टाईगर ग्रुप अफ पोखरा, उत्कृष्ट खेल संस्था पुरस्कार निट डेण्टल केयर प्रालि र लाईफटाईम अचिभमेन्ट अवार्डको पुरस्कारलाई सिटीजन फर्निचरले गरेको खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।