नवलपुर गण्डकी प्रदेश च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १३ गते २०८२ मा प्रकाशित


पोखरा-कास्कीलाई छ विकेटले पराजित गर्दै नवलपुर अण्डर १६ गण्डकी प्रदेशस्तरीय पुरुष क्रिकेट च्याम्पियन बनेको छ । सोमबार पोखरा रगशाला क्रिकेट मैदानमा भएको फाईनल प्रतिस्पर्धामा कास्कीले दिएको १०६ रनको चुनौतिलाई ४ विकेटको क्षतिमा पुरा गर्दै नवलपुर च्याम्पियन बन्यो ।

कास्कीले हारेर पहिलो इनिङ शुरुवात गर्यो । ओपनर अनिकेत गजुरेलको उत्कृष्ट व्याटिङ रहयो । अर्धशतकीय पारीको संघारमा पुगेका गजुरेल ४९ रनमा आउट भए । उनले ७२ बल खेल्दै ५ चौका प्रहार गरे । अर्का ओपनर सुरज अधिकारी भने २ रनमै पभेलियन फर्किएपछि दबावमा रह्यो कास्की । विमोचन सापकोटा शून्यमै पभेलियन फर्किए । एकपछि अर्को विकेट गुमाएको कास्कीलाई मोहम्मद साबुद्धिनले सम्हाल्ने प्रयास गरे ।

मोहम्मदले पनि १९ रनमा खेलिरहँदा आउट भए । उनले ४६ बल खेले । केवल ३५ ओभरको खेलमा अनिष राउत भने १४ रनमा अविजित रहे । कास्कीले पहिलो विकेट केवल ७ रन बनाउँदा गुमायो । थप दुई रन जोड्ने क्रममा अर्को विकेट गुमाएपछि कास्कीलाई इनिङ सम्हाल्न निकै कठिनाई भयो । यद्यपी तेस्रो विकेटको लागि ७१ रनको साझेदारी बन्यो । ८० रन बनाई खेल्दा केवल ३ विकेट गुमाएको कास्कीले बाँकी ७ विकेट भने २५ रन बनाउँदा गुमायो ।

९६ रनमा ५ औं विकेट गुमाएको कास्कीले ९८ रनमा छैटौं, १०० रन बनाउँदा ७ सातौ र १०२ रनमा आठौं र १०२ रनमै नवौं विकेट गुमाएको कास्कीले १०५ रनमा अलआउट हुन पुग्यो । केवल २७.६ ओभर खेल्यो । कास्कीको व्याटिङ लाईनअपलाई सस्तैमा समेट्न नवलपुरका सुशिल भुजेलले ५ विकेट लिए । त्यस्तै समीर रोका, सुजन अर्यालले समान दुई दुई विकेट लिए ।

मध्यक्रमका व्याटर समीर न्यौपानले २८ रनको योगदान दिएपछि नवलपुरले कास्कीले दिएको चुनौतिलाई केवल ४ विकेटको क्षतिमा पुरा गर्दै च्याम्पियन बन्यो । ओपनर रजत भुर्तेललाई ६ रनमै गुमाएपछि नवलपुरले पनि दबाव झेल्न पुग्यो । यद्यपी प्रान्जल पौडेलले २० रन जोड्दै आधार तयार गरे । चौथो नम्बरमा आएका अनिष भट्टराईले अविजित २० बनाएपछि नवलपुरले जित निकाल्यो । कास्कीले नवलपुरलाई २३ रन अतिरिक्त उपहार प्रदान गरेपछि सहज जित पक्का हुन पुग्यो । सोनु यादव,सत्कार चालिसे, रितम पाण्डे र सौरभ सिद्धिकीले समान एक एक विकेट लिए ।

प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीहरुलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले पुरस्कार प्रदान गरेका थिए । प्रतियोतिगामा तनहुँका सुप्रिम सुनार प्लेयर अफ दि सिरिज घोषित भए । नवलपुरका समीर न्यौपाने बेष्ट व्याटर र शैलेस काफ्ले बेष्ट बलर घोषित हुदैं पुरस्कार प्राप्त गरे ।