हेल्प नेपाल र नेपाल पुलिस क्लब च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १६ गते २०८२ मा प्रकाशित


पोखरा-लिगचरणमा हारको बदला लिदैं टिपटप हेल्प नेपालले गण्डकी प्रदेश भलिबल संघलाई निकै प्रतिस्पर्धात्मक पाँचौ सेटमा पराजित गर्दै उपाधि उचालेको छ । पोखरामा बिहीबार भएको फाईनल खेलमा लगातार दुईसेटले पछि परेको टिपटप हेल्प नेपालले निकै धैर्यता देखाउँदै उत्कृष्ट कमब्याक गर्दै च्याम्पियन बन्यो ।

पहिलो सेट २५–२० ले लिदैं गण्डकीले घरेलु कोर्टमा दबाव बनाउन शुरु गर्यो । दोस्रो सेट केही प्रतिस्पर्धात्मक बन्यो । २७–२५ ले लिदैं गण्डकीले उपाधि उचाल्न केवल एक सेटले मात्रै पछि रह्यो । तर खेलमा फर्किन हेल्प नेपालले धैर्यतालाई कायमै राख्यो । धैर्यतासँगै तेस्रो सेट हेल्प नेपालले आफनो पक्षमा पार्दै खेलमा फर्कियो । तेस्रो सेट २५–२२ को अवस्थामा हेल्प नेपालले लिदैं खेल रोमाञ्चक तर्फ अगाडि बढ्यो । चौथो सेट पनि २५–१४ लिएपछि गण्डकी भने दबावमा पर्यो । भारतीय र पाकिस्तानी खेलाडीलाई समेट्दै बलियो टिम बनाएको गण्डकी निर्णायक सेट १५–८ ले गुमाउँदै घरेलु कोर्टमा सर्वाधिक पुरस्कार राशीको उपाधि उचाल्दै च्याम्पियन बन्ने सपना अधुरो रह्यो ।

टिपटप हेल्प नेपाल र नेपाल पुलिस क्लब पोखरामा आयोजित नवौं पिएमकप एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियन बनेका छन् । हेल्प नेपालले घरेलु कोर्टमा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघलाई पराजित गर्दै च्याम्पियन बन्दा महिला तर्फ नेपाल पुलिस क्लबले भने टिपटप न्यु डायमण्डलाई पराजित गर्दै च्याम्पियन बन्यो ।

्टिपटप न्युडायण्डलाई ३–१ को सेटमा पराजित गर्दै विभागीय क्लब नेपाल पुलिसले नवौं पिएम कप एनभिए महिला भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । गणतन्त्र दिवसको दिन बिहीबार पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको फाईनल प्रतिस्पर्धामा पुलिसले न्युडायमण्डलाई २५–२०, २२–२५, २८–२६ र २५–१४ को सेटमा पराजित गर्दै उपाधि उचाल्यो ।

त्यसैगरी एभरेष्ट भलिबल क्लबले तेस्रो स्थानमा चित्त बुझाउने क्रममा विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफलाई उस्तै सेटमा पराजित गर्यो । विदेशी(थाईल्याण्ड)का तीन खेलाडीलाई टोलीमा समावेश गर्दै बनेको एभरेष्टले एपीएफलाई २५–१८, १०–२५, २५–१३ र २९–२७ ले पराजित गरेको हो । विजेता बनेका हेल्प नेपाल र नेपाल पुलिस क्लबले उपाधिसहित नगद ८ लाख, उपविजेता बनेको टोली गण्डकी र न्यु डायमण्डले समान ४ लाख रुपैयाँ र तेस्रो स्थानको पुलिस क्लब र एभरेष्ट भलिबल क्लबले समान नगद २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । विजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा महिला तर्फ उत्कृष्ट खेलाडी नेपाल पुलिसकी उषा भण्डारी, बेष्ट स्पाईकर महिला तर्फ नेपाल पुलिसकी कामना विष्ट, न्यु डायमण्डकी सुमित्रा रेग्मी बेष्ट ब्लकर, एभरेष्ट भलिबलकी मिना सुनार बेष्ट सर्भर, न्यु डायमण्डकी सलिना श्रेष्ठ बेष्ट लिब्रो र नेपाल पुलिसकी कमना पुन बेष्ट सेटर र प्रशिक्षकमा नेपाल पुलिसका रुपेश विष्ट घोषित भए ।

पुरुष तर्फ उत्कृष्ट खेलाडी हेल्प नेपालका मुबासार राजा घोषित भए । त्यस्तै गण्डकीका आइमल खान बेष्ट स्पाईकर, नेपाल पुलिसका सफल विक बेष्ट ब्लकर, गण्डकीका वाकर खान बेष्ट सर्भर,हेल्प नेपालका वालिद खान बेष्ट सेटर र हेल्प नेपालकै सन्तोष राई बेष्ट लिब्रो घोषित हुदाँ उत्कृष्ट प्रशिक्षक हेल्प नेपालका उत्सब खडकाले प्राप्त गरेका छन् । नेपाल भलिबल संघको आयोजनामा पोखरामा पहिलो पटक भएको प्रतिस्पर्धामा पुरुष तर्फ ८ र महिला तर्फ ६ टोलीले सहभागिता जनाएका थिए ।