
पोखरा-जितसँगै स्याङजाले पोखरामा आयोजित तेस्रो गण्डकीप्रदेशस्तरीय टी—२० पुरुष क्रिकेट प्रतियोगिताको सुखद शुरुवात गरेको छ । करण पंगेनी र सुजन गौतमको बलिङ र ईश्वर क्षत्रीको व्याटिङ स्याङजाले म्याग्दीलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको पहिलो जित दर्ता गर्यो ।
शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको उदघाटन प्रतिस्पर्धामा म्याग्दीले टस जित्यो । पहिलो व्याटिङ गर्ने क्रममा ८९ रनको लक्ष्य तयार गर्यो । १२ ओभरसम्म पाँचको रनरेटमा रन जोडेको म्याग्दी त्यसपछि भने सस्तैमा पभेलियनका बाटो समाए । म्याग्दी १८.५ ओभरमै सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो । सर्वाधिक रन रोशन कार्कीले २७ रन बनाए । उनको व्याटबाट १ चौका र २ छक्काको स्कोर निस्कियो । उनले २० बल खेले । दिनेश क्षेत्रीले २४ रन र सागर कटुवालले २० रन जोडे । अन्य ब्याटर भने सस्तैमा पभेलियन फर्किए । म्याग्दी विरुद्धको बलिङमा स्याङजका बलरको प्रदर्शन उत्कृष्ट रह्यो ।
स्याङ्जाका बलरहरू करण पंगेनी र सुजन गौतमले उत्कृष्ट प्रदर्शन गरे । दुवैले समान ३–३ विकेट लिए ।सुजन गौतमले २.५ ओभरमा १३ रन दिँदै ३ विकेट लिएका थिए भने करण पंगेनीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट झारे । पंगेनी म्यान अफ दि म्याच बने । तुलसीराम भण्डारी र अंकित न्यौपानेले १–१ विकेट हात पारे ।
जवाफी व्याटिङ गरेको स्याङ्जाका लागि ईश्वर क्षेत्रीले १८ बलमा ५ चौक र २ छक्काका साथ ३९ रन बनाउँदा करण पंगेनी ३१ बलमा नट आउट रहँदै २३ रनको योगदान दिए । त्यस्तै अश्विनी राना १८ बलको सामना गर्दै १ चौका, २ छक्काका साथ नट आउट रहँदै २० रन जोडे । म्याग्दीका लागि हरि सुवेदीले ४ ओभरमा १२ रन दिएर २ विकेट लिए भने सागर कटुवालले ३.४ ओभरको स्पेलमा ३० रन खर्चिएर २ विकेट हात पारे ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डककिो सहयोगमा सञ्चालित प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरे । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।