कीर्तिमानी धाविका भण्डारीसहित ९३ खेलाडीलाई छात्रवृत्ति रकम हस्तान्तरण

- क्रिकेट र हक्की उत्कृष्ट खेलसंघ घोषित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २५ गते २०८२ मा प्रकाशित


पोखरा-१५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ सय मिटर दौडमा महिला तर्फ कीर्तिमान कायम गरेकी धाविका नारायणी भण्डारीलाई सर्वोत्कृष्ट खेलाडी घोषित गर्दै गण्डकी प्रदेश खेलकुद परिषदले बुधबार नगदसहित सम्मान गरिएको छ । उनले काठमाडौंमा आयोजित प्रतियोगितामा ८ सय मिटर दौडमा २५ वर्ष पुरानो कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । उनले दौड २ मिनेट ११.९ सेकेण्डमा पुरा गर्दै कीर्तिमान बनाएकी हुन् ।

धाविका भण्डारीलाई ४३ हजार रुपैयाँ प्रदान गरिएको थियो । उनले दुई स्वर्ण र एक कास्य पदक प्राप्त गरेको कास्की जिल्ला एथलेटिक्स सघले जनाएको छ । उनीसँगै गण्डकी प्रदेश खेलकुद परिषदले दुई खेलसँघसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता ९३ जना खेलाडीहरुलाई नगदबाट सम्मान गरेको छ । खेलाडीहरुलाई नगदसहित सम्मानसँगै छात्रवृत्ति समेत प्रदान गरिएको छ । कक्षा दशदेखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थी(खेलाडी)लाई छात्रवृत्ति प्रदान गरिएको हो ।

परिषदले प्रादेशिक क्रिकेट संघ गण्डकीलाई उत्कृष्ट खेल संघको रुपमा नगदसहित सम्मान गर्यो । क्रिकेट संघलाई नगद १ लाख रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै प्रदेश हक्की संघ गण्डकीलाई पनि नगद ५० हजार रुपैयाँ प्रदान गरिएको छ । परिषदले ११ जिल्लाका विभिन्न खेलका खेलाडीहरुलाई उपलब्धीको तथ्यांकको आधारमा नगद तथा छात्रवृत्ति प्रदान गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनुभयो ।

उहाँले खेलाडीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदेश खेलकुद परिषदले सहयोग गरेको बताउनुभयो । उहाँका अनुसार खेलकुदसँगै शैक्षिक क्षेत्रलाई पनि सँगै लैजानुपर्ने जनाउँदै खेलाडीलाई छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्तिले खेलाडीलाई थप उत्साहित बनाउने खेल संघले जनाएका छन् । एथलेटिक्स, भलिबल, तेक्वान्दो, आईटिएफ तेक्वान्दो, भारोत्तोलन, कराँते, व्याडमिन्टन, क्रिकेट, फुटबल, हक्की, उसु, टेबल टेनिस, सेपाकताक्रो लगायतका खेलका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि एवं पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

परिषदले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि खेलाडीलाई नगद १० हजार तथा पदक प्राप्त खेलाडीलाई नगद १२ हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै छात्रवृत्ति स्वरुप कक्षा दशमा अध्ययन गर्ने खेलाडीलाई १७ हजार, दशजोड दुई अध्ययनरतलाई २२ हजार र स्नातक तहमा अध्ययन गर्ने खेलाडीलाई २७ हजार रुपैयाँ छात्रवृत्ति स्वरुप प्रदान गरिएको परिषदले उल्लेख गरेको छ । एउटै प्रतियोगितामा १२ कक्षा अध्ययनरत खेलाडीलाई नगद २२ हजार र दशकक्षामा अध्ययनरत खेलाडीलाई १७ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ । राष्ट्रपति रनिङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई खासगरी अध्ययनरत आधारमा छात्रवृत्ति प्रदान गरिएको तथ्यांकले जनाएको छ ।