पुष पहिलो साता दोस्रो पोखरा एमेच्योर गल्फ प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २९ गते २०८२ मा प्रकाशित


पोखरा-कास्की जिल्ला गल्फ संघको आयोजनामा आगामी पुष ४ र ५ गते दोस्रो पोखरा एमेच्योर गल्फ प्रतियोगिता हुने छ । पोखरा १४ मझेरीपाटनस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा हुने प्रतियोगितामा पोखरा, काठमाडौं, धरान, महोत्तरी, युके तथा सिंगापुरबाट गरी ७० गल्फरले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा छ । पुरुष टिम इभेण्ट, महिला खुल्ला, सिनियर विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ । क्लोजेष्ट टु दि पीन, लङ्गेष्ट ड्राइभ र सर्वाधिक बर्डी हिर्काउने गल्फरलाई समेत नगद पुरस्कार प्रदान गरिने कास्की जिल्ला गल्फ संघले जनाएको छ । नेट तथा ग्रस तर्फको विजेताले पनि नगद पुरस्कार प्राप्त गर्ने छन् ।

संघका अध्यक्ष जीवाराम गुरुङ्गका अनुसार स्ट्रोक प्ले, स्टेबल फोर्ड ३/४ ह्याण्डीक्यापमा खेलाईने प्रतिस्पर्धामा पुरुष टिम विजेताले नगद ५० हजार, उपविजेताले ३० र तेस्रो हुने टोलीले नगद २० हजार नगद पुरस्कार प्रदान गरिने छ । महिला तर्फ विजेताले १० र ५ हजार पुरस्कार पाउने छन् । सिनियरले १० हजार पुरस्कार पाउने छने् ।

नेट तर्फको विजेताले १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो ५ हजार नगद पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो । यसैगरी ग्रस तर्फको विजेताले नगद १५ हजार र उपविजेताले १० हजार प्राप्त गर्ने छन् । सर्वाधिक बर्डी, लङ्गेष्ट ड्राइभ र क्लोजेष्ट टु दि पीनले समान ५ हजार नगद पुरस्कर प्राप्त गर्ने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । संघले ८ लाख रुपैयाँ खर्चको अनुमान गरेको छ । बचत रकम पोखरा रंगशालाभित्र निर्माणाधिन गल्फ एकेडेमी निर्माणमा खर्च गरिने छ ।