सडन डेथमा होराइजनलाई आदर्श कपको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १८ गते २०८२ मा प्रकाशित


पोखरा-स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६ औँ आदर्श कप फुटबल प्रतियोगिता २०८२ को उपाधि जितेको छ । लेखनाथमा सम्पन्न फाइनल खेलमा होराइजनले गण्डकी प्रदेश प्रहरीको टोलीलाई सडन डेथमा पराजित गर्दै उपाधि उचाल्यो । सडन डेथ ७-६ गोलले अन्तरले पराजित गरेको थियो ।

अतिरिक्त १० मिनेटमा पनि कुनै टोलीले निर्णायक गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । उपाधिसँगै च्याम्पियन होराइजन क्लब वालिङ्गले नगद रु. ४ लाख ९९ हजार ९९९ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको गण्डकी प्रदेश प्रहरीको टोलीले रु. ३ लाख ३३ हजार ३३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले भण्डारढिकस्थित कभर्ड हल निर्माणका लागि बजेट विनियोजन भइसके पनि कार्यान्वयन नहुनु दुखद विषय भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

उत्कृष्ट खेलाडी तथा विधागत पुरस्कार वितरण

समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई पुरस्कार प्रदान गरिएको थियो। गण्डकी प्रदेश प्रहरीका रोजल दाहाल उत्कृष्ट खेलाडी घोषित भए । यस्तै, उत्कृष्ट गोलरक्षक होराइजनका टोपबहादुर राना, उत्कृष्ट डिफेन्स होराइजनकै सन्दीप श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर तथा प्लेमेकर गण्डकी प्रदेश प्रहरीका सुशील लामा घोषित भए । होराइजन क्लबका सुन्दर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बन्न सफल भए। फेयर प्ले टिमको उपाधि तनहुँ जिल्ला फुटबल विकास समिति (एन्फा तनहुँ) ले प्राप्त गरेको छ।

विधागत पुरस्कार फस्ट चोइस फुड प्रा.लि.का प्रतिनिधि तथा मार्केटिङ म्यानेजर रमेश घिमिरे, क्लबका सल्लाहकार तथा प्रायोजक छत्रधर आत्रेय, पूर्व अध्यक्षहरू विजय गुरुङ र विशाल श्रेष्ठ, संस्थापक अध्यक्ष चेतबहादुर गुरुङ, सल्लाहकार मेजर रामप्रसाद गुरुङ तथा स्थानीय यातायात व्यवसायी केदार पौडेल लगायतका अतिथिहरूले वितरण गरेका थिए ।