ताललाई समृद्धिसँग जोड्न ‘वाटर स्पोर्टस’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २३ गते २०८२ मा प्रकाशित


धन बस्नेत/पोखरा
“नेचर, कल्चर र एड्भेन्चर” । पोखरामा मात्रै होईन नेपालको पर्यटन प्रवद्र्धनका पहिचान हुन् । प्रकृति र सँस्कृति अथाह छ । एड्भेन्चर पनि उस्तै छ । एड्भेन्चर अर्थात साहसिक । साहसिक विशेष गरी खेलकुद बढी हुने गरेको छ । नेपालको पर्यटन प्रवद्र्धनको आयाम नै एड्भेन्चर हो । त्यसमा पनि पानीमा खेलकुद अर्थात वाटर स्पोर्टस, अझ बढी महत्व छ । पोखरामा सबैखाले खेलकुद छ । तर नेपालमा पर्यटन प्रवद्र्धनको दीर्घकालिन योजनाको रुपमा वाटर स्पोर्टसलाई अघि सार्नुपर्ने खाँचो छ । दिगो पर्यटनको लागि अत्यावश्यक छ ।

ठूला तालहरु छन् । नदीहरु छन् । झरना छन् । ताल, नदी र झरनामा पानीजन्य खेलकुदको सम्भावना निकै छ । तर गण्डकी प्रदेशमा यस विषयमा अध्ययन र ध्यान कम छ । अध्ययनसँगै कार्ययोजना बनाएर अघि बढे गण्डकी प्रदेश विश्वकै उत्कृष्ट साहसिक खेलकुदको गन्तव्य बन्न सक्छ । एयर स्पोर्टस पोखराको साहसिक ‘प्रडक्ट’ हो । एयर स्पोर्टसको विकल्प पोखरामा ‘वाटर स्पोर्टस’ बन्न सक्छ । अब वाटर स्पोर्टसलाई साहसिक ‘प्रडक्ट’ रुपमा विकास गर्नुपर्ने खाँचो छ । त्यसको लागि सरोकारवालको ध्यान जानु अत्यावश्यक छ । पोखरामा धेरै ताल छन् । झरना छन् । नदी छन् । ती प्रकृतिलाई वाटर स्पोर्टस मार्फत समृद्धिसँग जोड्नुपर्छ ।

पोखरामा साना र ठूला गरी ९ ताल छन् । ती ताल आफ्नै प्रकृतिका छन् । ताल केवल पुराना शैलीका डुंगा सयर मात्रै हुदैं आएको छ । अन्यथा केवल माछा पालनको रुपमा मात्रै प्रयोग हुदैं आएको अवस्था छ । पर्यटन प्रवद्र्धन मार्फत नयाँ आम्दानीको स्रोत बनाउने तर्फ खासै चासो र ध्यान अझै गएको छैन् । समृद्धिको परिकल्पना गरिए झैं भएका ताललाई समृद्धिसँग जोड्नुपर्ने बेला आएको छ । त्यसको लागि वाटर स्पोर्टस अबको विकल्प बन्नेमा दुईमत छैन् ।

वाटर स्पोर्टस दुई प्रकृतिका पानीमा हुन्छ । ह्वाईट वाटर र फ्ल्याट वाटर । ह्वाईट वाटर(नदीजन्य) र फ्ल्याट(ताल)मा स्पोर्टसका गतिविधि सञ्चालन गर्न सकिन्छ । ‘वाटर स्पोर्टस दिगो खेल पर्यटन विकासको लागि आधारस्तम्भ हो ’ नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई बताउँछन् । वाटर स्पोर्टस अन्तर्गत तालमा वाटर स्की, रोईङ गर्न सकिन्छ । झरनामा क्यानोनिङ र नदीमा ¥याफ्टिङ, कायाकिङ गर्न सकिन्छ ।
ताल केवल डुंगा खियाउने र माछा मार्न मात्रै उपयोग हुदैं आएको छ । ताललाई स्पोर्टसको रुपमा उपयोग गर्ने तर्फ ध्यान अझै गएको छैन् ।

पोखराका तालहरुमा ‘वाटर स्पोर्टस’ गर्न सकिने अध्ययनले समेत देखाएको छ । ‘अबको विकल्प भनेकै पानीमा खेलिने खेल(वाटर स्पोर्टस) हो ।’ अध्यक्ष भट्टराई भन्छन्–‘ताललाई खेल पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ ।’ फेवा, बेगनास, रुपा र दिपाङ ताल बढी प्रचलित छन् । ती सबैमा फरक फरक प्रयोजनमा छन । रुपा तालमा व्यवसायिक माछापालन गरिएको छ । दिपाङलाई ‘हनिमुन लेक’ बनाउने योजना थियो । दिपाङलाई पर्यटन व्यवसायी राम गुरुङले ‘वाटर स्की’ गर्ने योजना अघि सारेपनि कार्यान्वयनमा आउन सकेन् । उनै गुरुङले कास्कीको माछापुच्छ«े गाँउपालिकाको ल्वाङ घलेलमा क्यानोनिङ(झरनामा डोरीले उक्लिने) शुरु गरेको झण्डै दशक बितिसकेको छ ।

तालहरुमा वाटर स्की, पावर बोटिङ, स्कुभा डाईभिङ, वाटर बेलुन, कायाकिङ, लगायतका खेलकुद गतिविधि गर्न सकिन्छ । फेवाताल र बेगनास तालमा वाटरस्पोर्टस गर्ने प्रस्ताव गरिएपनि विरोधको कारण अघि बढ्न सकेन् । तालसँगै नदीजन्य खेलकुदका गतिविधि समेत कम छ । मस्र्याङदी, कालीगण्डकी, मादी, मोदी र सेती नदीमा ¥याफ्टिङ हुन्छन् । स्प्रीन्ट, स्लालम र डाउन रिभर रेसमा प्रतियोगिता आयोजना गर्न सकिन्छ । मस्र्याङदीमा वर्षेनी कायाकिङ र ¥याफ्टिङ हुदैं आएको छ । ती पनि व्यवसायिक रुपमा भन्दा पनि मनोरन्जनको लागि मात्रै खेलिने गरिएको छ ।

पानीमा खेलिने अधिकांश खेल ओलम्पिकमा समेत समावेश छ । ‘एक दिनको लागि खेलकुद हुन्छ । अन्य दिनमा पर्यटन प्रवद्र्धनको लागि उपयोग हुन्छ ।’ अध्यक्ष भट्टराईले भने । वाटर स्पोर्टसको लागि पोखराको मौसम उपयुक्त हुन्छ । । ‘हामीसँग तालहरु छन् । पानीमा खेलिने खेलको लागि पोखरालाई दक्षिण एशियाकै गन्तव्य बनाउन सकिन्छ’ उनले थपे–‘त्यसको लागि नीति नियम बनाउनुपर्छ । जनशक्ति उत्पादनमा जोडदिनुपर्छ । आवश्यक पूर्वाधार तयार पार्नुपर्छ । सामान ल्याउनुपर्छ । ती सबै भईसकेपछि सञ्चालन गर्ने संस्थागत र संगठन संरचना निर्माण गर्नुपर्छ ।’

तालहरुमा परम्परागत बोटिङ, वाटर स्की, कायाकिङ, पावर बोटिङ(मोटरबोट) लगायतका खेलहरु सञ्चालन गर्न सकिन्छ । ‘पानीमा खेलिने खेल केवल खेल मात्रै नभई पर्यटन प्रवद्र्धनको नयाँ आयाम बन्ने छ ।’ उनको भनाई थियो । वाटर स्पोर्टसको सम्भावना निकै राम्रो छ । तर नीति नियम नहुदाँ त्यसतर्फ खासै ध्यान जान सकेको छैन् । ‘वाटर स्पोर्टसको सम्भावना छ । तर नीति नियम बन्नुपर्छ ।’ वाटर स्कीको परिकल्पना गरेका पर्यटन व्यवसायी राम गुरुङ भन्छन्–‘नीति नियम बने वाटर स्पोर्टसले पर्यटन प्रवद्र्धन हुन्छ ।’ पानीमा खेलिने खेल विशेष गरी ‘टुरिज्म एडभेन्चर स्पोर्टस’ हो ।’ उनी थप्छन्–‘त्यसको लागि पहिला कार्यविधि बन्न जरुरी छ । कार्यविधि नहुदाँ अघि बढ्न सकिदैन् ।’ उनी आफैं तत्कालिन लेखनाथ नगरपालिका हुदाँ वाटर स्कीको लागि प्रस्तावना लिएर पुगे । तर उनको प्रस्तावनालाई तत्कालिन समयमा कसैले पनि चासो र खाँचोको रुपमा अध्ययन नै गरिदिएनन् । पर्यटनमा नयाँ अनुभव र आयाम हुने विश्वासले बनाएको प्रस्तावनालाई कार्यविधिकै अभावमा थाँती राखेर आफनै गाँउघरमा उनले क्यानोनिङ सञ्चालन गरेका छन् । गुरुङ आफैं माछापुच्छ«े गाँउपालिकाका वडा नं ८ का वडाध्यक्ष समेत हुन् ।

नेपालमा बगेको पानी र जमेको पानीमा रोईङ खेल खेलाउन सकिन्छ । रोईङ खासमा आउट डोर र इन्डोर गर्न सकिन्छ । २ जनादेखि ८ जनासम्म चढ्न मिल्ने डुंगामा रोईङको प्रतिस्पर्धा हुन्छ । ‘रोईङको सम्भावना छ । सम्भावना बोकेका खेलहरुलाई लगानी गर्नुपर्ने खाँचो छ । सरकारले लगानी गर्न ध्यान नदिदाँ त्यस्ता खेलहरु केवल सम्भावना मात्रै सीमित भएका छन् ।’ नेपाल रोईङ एशोसियसनका महासचिव सम्पन्न श्रेष्ठ भन्छन्–‘वाटर स्पोर्टस एभड्भेन्चर स्पोर्टस अन्तर्गत पर्छ । एडभेन्चर स्पोर्टसमा सरकारको लगानी मात्रै होईन चासो नै दिएको छैन् ।’
पोखरा महानगरपालिकाले पनि वाटर स्पोर्टसको लागि अध्ययन गर्ने तयारीमा रहेको महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार सुुनाउँछन् । ‘तालमा वाटर स्पोर्टसको अवधारणा महानगरले ल्याएपनि विरोध हुदाँ अघि बढेको छैन् ।’ महानगरपालिकाका प्रमुख धनराज आचार्यको सक्रियतामा दुई पटक पोखराको फेवातालमा चिनियाँ ड्रागन बोट रेस आयोजना गरियो । जसले चिनिया पर्यटकलाई पोखरासम्म ल्याउन केही हदसम्म प्रयास ड्रागन बोट रेसले गर्यो ।

तर वाटर स्पोर्टसको लागि दीर्घकालिन नीति बनाई एडभेन्चर स्पोर्टस तर्फ ध्यान दिनुपर्ने खाँचो महानगरको छ । नीति बनेको अवस्थामा कास्कीका नौ वटै तालमा फरक फरक वाटर स्पोर्टस गर्न सकिने देखिन्छ । नेपालमा ६ हजार ताल तलैया, नदीनाला, झरना छन् । ती सबैमा पानीजन्य खेलकुद गतिविधि सञ्चालन गर्न सकिन्छ । नेपाल आफैंमा जलस्रोतको धनी देश । पानीमा आधारित खेलकुद नै दीगो पर्यटन प्रवद्र्धनको कोशेढुंगा हो । नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष भट्टराईका अनुसार सिड्नी ओलम्पिक पछि पानीको खेलकुद बढ्दै गएको छ । राष्ट्रिय खेलकुद परिषदमा चारवटा पानीसँग सम्बन्धित खेलसंघ छन् । रोईङ, स्वीमिङ, क्यानोनिङ तथा पावर बोटिङ । अध्यक्ष भट्टराई भन्छन—“आगामी अक्टोबरमा पानीजन्य अन्तराष्ट्रिय पावर बोटिङ फेडेरेशनको ९९ औं कँग्रेस नेपालमा आयोजना गर्ने तय भईसकेको छ । यसले पनि पानीजन्य खेलकुदको नयाँ आयाम हुने विश्वास छ ।” यो सम्मेलन काठमाडौं वा पोखरामा आयोजना गर्ने गृहकार्य भईरहेको छ ।