सहारा खेलकुद पत्रकारिता पुरस्कार परियारलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १८ गते २०७८ मा प्रकाशित


पोखरा-यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत गरिने छ । १६ औं संस्करणको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका हुन्। सहारा क्लवले प्रदान गर्ने उक्त पुरस्कार कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध परियारलार्ई क्लवको २३ औं बार्षिकोत्सवको अवसरमा यही भदौं ३० गते प्रदान गरिने भएको सहारा क्लवले जनाएको छ ।

उक्त पुरस्कारको राषि २० हजार ५ सय ५५ रहेको क्लवका महासचिव रामजीप्रसाद अधिकारीले बताए । क्लवका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा आज बजेको बैठकले प्रतिभा छनौट समितिले दिएको सिफारिसलाई अनुमोदन गरेको हो । क्लवका सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले परियारलाई यस बर्षको लागि उत्कृष्ट खेल पत्रकारको रुपमा सिफारिस गरेको थियो । प्रतिभा छनौट समितिको अन्य
सदस्यहरुमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानिया, क्लवका मानार्थ सदस्य खेमबहादुर गुरुङ, अध्यक्ष केशवबहादुर थापा र महासचिव रामजी प्रसाद अधिकारी रहेका थिए । क्लवका अध्यक्ष र महासचिव पदेन सदस्य रहने व्यबस्था रहेको छ ।

खेलकुद पत्रकारितालाई प्रथामिकता दिएर समाचार प्रकाशन एवं प्रशारणमा योगदान पुर्‍याउने एक जना खेल पत्रकारलाई क्लबले हरेक बर्ष आफ्नो बाषिकोत्सवमा सम्मान गर्दै आएको छ । उक्त पुरस्कारबाट यसअघि, कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देस श्रेष्ठ, इन्द्र पौडेल सम्मानित भइसकेका छन्।