तनहुँलाई पराजित गर्दै नवलपुरको सुखद अन्त्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ३ गते २०७८ मा प्रकाशित



पोखरा-तनहुँलाई ८ विकेटले पराजित गर्दै नवलपुरले दोस्रो निकाल्दैं गण्डकी प्रदेश यु–१९ क्रिकेट छनोट प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।

टस हारेर व्याटिङ गरेको तनहुँले २६.५ ओभर खेल्दै ८७ रनमा समेटिएको थियो । ८८ रनको लक्ष्यलाई नवलपुरले २ विकेटको क्षतिमा पुरा गर्ने क्रममा २२.४ ओभर खेल्यो । प्रमिश अर्यालले ३२ रनको उत्कृष्ट शुरुवात गरेपछि नवलपुरले जितको लक्ष्य पछ्याउन सहज भएको थियो ।

अर्यालले ६१ बल खेल्दै ५ चौका हान्दै गतिलो शुरुवाती गरिदिए । गोविन्द विकलाई २ रनमा गुमाएको नवलपुरले ३२ रनमा अर्याललाई गुमाएको थियो । दिपक डुम्रेले २७ रनमा अविजित रहँदै जित पक्का बनाए । उनले ६० बल खेल्ने क्रममा १ चौका र २ छक्का प्रहार गरे । कमल परियार पनि ४ बलमा ६ रनमा अविजित रहे ।

गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धामा तनहुँले प्रशान्त सिंहको ३४ रनको योगदानमा ८७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । तनहुँका लागि पहिलो विकेट ७ रनमै गुमाएको थियो । दिपेश अधिकारी ८ रनमा आउट हुदाँ समीर कँडेल भने शून्यमै क्रिज छाड्न पुगे ।
उत्सब श्रेष्ठ पनि ३ रनमै गुमाएको तनहुँले सचिनराज अधिकारीले भने इनिङ्स सम्हाल्दै २०रन जोडे । उनी कमल परियारको बलमा दिपक डुम्रेको हातबाट क्याच भएपछि तनहुँको व्याटिङ फेरी धर्मराउन थाल्यो । मध्यक्रममा प्रशान्त सिंहले क्रिजमा जम्दै ३४ रन बनाएपछि योगफल बढ्दै गएको थियो । तर अन्य व्याटरको प्रदर्शन भने सम्झन योग्य नै रहेन् ।

नवलपुरका कमल परियारले ६.५ ओभरमा २९ रन खर्चिएर ३ विकेट लिए । अपराजित पौडेलले एकै ओभरमा विना रन खर्चिदैं २ विकेट लिए । सुदीप अर्यालले ५ ओभरमा १० रन दिएर २ विकेट लिए । छनोटको अन्तिम खेल कास्कीले तनहुँसँग खेल्ने छ ।