खेलकुदले लय समाउँदै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २७ गते २०७८ मा प्रकाशित


स्याङजा र तनहुँ बीचको फाईनल खेलको झलक ।

पोखरा-वर्षासकिएसँगै खेलकुदको सिजन शुरु हुन्छ । डेढबर्ष कोभिडले थलियो । विस्तारै खेलकुद फक्रिन लागेको छ । खेलकुदको सिजन शुरु भईसकेको छ । मौसम सफा छ । घाम तेजिलो छैन् । न्यानो छ । नत गर्मी नत जाडो नै । चैतदेखि भदौसम्म हावाहुरी चट्याङसहितको भिषण वर्षा हुन्छ । त्यतिबेला पोखरामा खेलकुदको गतिविधि शून्यप्राय हुन्छ ।

पोखरा आफैंमा खेलकुदको शहर । खेलकुद शहर बोलीमा मात्रै होईन व्यवहारमै छ । मंसिरसँगै शुरुवात भएको खेलकुद गतिविधि फागुन–चैतसम्म लम्बिन्छ । पोखरामै फिस्टेल ट्रेल आयोजना गरियो । रेसमा विभिन्न देशका महिला तथा पुरुष धावकहरु सहभागि थिए । भर्खरै कास्की जिल्ला टेनिस संघले आईटिएफ विश्व टेनिस टुर जुनियर ५ पुरा गर्यो । त्यसभन्दा अघि कास्की जिल्ला क्रिकेट संघले यु–१९ को राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश छनोट गरेर टुंग्यायो । दुई फरक खेलकुद गतिविधिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढाईदियो । त्यसमा पनि अझ केही संघसंस्थाहरु मार्फत भारतबाट खेलकुद प्रतियोगिताकै लागि आउने खेलाडीहरुको तथ्यांक पनि बाक्लै छ ।

अब पुसदेखि फेरी खेलकुद प्रतियोगिताले खेलाडीलाई व्यस्तता बनाउने छ । पुस २३ र २४ गते प्रदेशस्तरीय आर्चरी प्रतियोगिता हुने छ । कास्की जिल्ला आर्चरी संघल कोभिडपछि पहिलो प्रतियोगिता आयोजनामा जुटेको हो । पुसको २६ गतेदेखि टाईगर कप आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता छ । प्रतियोगिता एकसाता चल्छ । भलिबलपछि पालो फुटबलको आउने छ । आहा रारा गोल्डकप प्रतियोगिता माघको दोस्रो साता आयोजना गर्ने जमर्कोसहित सहारा क्लब अखिल नेपाल फुटबल संघ(एन्फा)को स्वीकृतिको पर्खाइमा छ ।

फुटबलपछि सुर्य नेपाल वेष्र्टन ओपन गल्फ शुरु हुन्छ । पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ क्लबमा ४ दिने प्रतियोगिता हुने छ । तीन दिन प्रोफेसनल र एकदिन प्रो–एमको खेल सञ्चालन हुने छ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट समेत हुने छ । राष्ट्रिय प्रतिस्पर्धाको लागि प्रदेश छनोट पोखरामै हुने छ । प्रदेश छनोटमा कास्की, नवलपुर, स्याङजा र तनहुँका खेलाडी तथा अफिसियल पोखरा आउँछन् । पोखरामा अन्तराष्ट्रियस्तरको म्याराथन हुदैं छ । फागुन ७ गते म्याराथनसँगै महिलाहरुको हाफ म्याराथन आयोजना हुने छ ।

यी नियमित प्रतियोगिताले पोखरालाई ‘स्पोर्टस हब’ भन्ने प्रमाणित गर्छ । पुसदेखि फागुनसम्म विभिन्न खेलका खेलाडीहरु २४ दिन व्यस्त रहन्छन् । प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने छ । ‘खेल पर्यटन’ लाई बढवा दिएको छ । ‘खेलकुदको नियमित प्रतियोगिताले पोखरालाई ‘स्पोर्टस सिटी’ हो भन्ने पुष्ट्याँई गर्छ’ पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले भने–‘कोभिडकै कारण अझै खुलेर खेलकुद गतिविधि हुनै सकेको छैन् । सबै क्षेत्रमा त्रास उस्तै छ । खेलकुद पनि त्यसबाट अछुतो छैन् ।’ उनको भनाई अनुसार टिम इभेण्टका खेलहरुसँग व्यक्तिगत प्रतिस्पर्धा खेलहरु भने कमै आयोजना भएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका समेत अध्यक्ष रहेका गोदारका अनुसार माघे संक्रान्तिको अवसरमा ढुंगेसाँघुमा फुल कन्ट्याक्ट कराँते आयोजना हुदैं आएको छ ।

राजधानीपछि सबैभन्दा बढी खेलकुदको पूर्वाधार सम्भवत पोखरामै बनेका छन् । पोखरा रंगशालाभित्र र बाहिर खेलकुदका पूर्वाधार छन् । पूर्वाधार निर्माणले पनि खेलाडीलाई उत्साहित बनाईदिएको छ । पूर्वाधारकै कारण राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलकुद इभेण्ट गर्न पोखरा छ भन्ने प्रमाणित भईसकेको छ । पूर्वाधार नहुँदो हो त आईटिएफले पोखरामा टेनिस आयोजना गर्न दिदैन्थ्यो । ‘खेलकुद पूर्वाधार र पर्याप्त खेल सामाग्रीको उपलब्धताले मात्रै खेलकुदको विकास सम्भव हुन्छ ।’ कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘सरकारीसँगै निजी क्षेत्रले पनि खेलकुदमा लगानी गरेर खेलकुद शहरको परिचयलाई फराकिलो बनाउनुपर्छ ।’

सुस्ताउँदै र कमजोर बन्दै गएका खेलहरुको प्रवद्र्धन गर्नुपर्ने खाँचो छ । निकै चर्चामा रहेको सेपाक ताक्रो अहिले सेलाईसकेको छ । कबड्डी, जिमन्याष्टिक, उसु, हक्कीजस्ता खेल कमजोर बन्दै गएको छ । एथलेटिक्स अन्तर्गत डिसकस थ्रो, ह्याम्मर थ्रो तथा पोलभोल्ट जस्ता खेलहरु समेत आयोजना गरेर खेल क्षेत्रमा नयाँ आयाम थप्नुपर्छ ।

पोखरामा एडभेन्चर स्पोर्टसको सम्भावना पनि छ । तर त्यसलाई उपयोग गर्न सकिएको छैन् । पानीको खेल छ । हिँउमा खेल्न सकिने खेल आईस हक्की, झरनामा क्यानोनिङ, पहाडी चट्टानमा रक क्लाइम्बिङ गर्न सकिने छ । चलिरहेका खेल भन्दा पनि नयाँ एडभेन्चर खेललाई प्राथमिकता दिन सकिए अझ खेल पर्यटन प्रवद्र्धन हुने दुविधा छैन् । ‘पोखरालाई स्पोर्टस हब बनाउने हो भने एडभेन्चर स्पोर्टसलाई प्राथमिकतामा राख्नुपर्छ’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले भने–‘एडभेन्चर स्पोर्टसमा फोकस गर्नुपर्छ । दिगो खेल पर्यटनको आधार बन्ने छ ।’