मुस्ताङ ‘माउण्टेन स्पोर्ट्सको हब’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ५ गते २०७८ मा प्रकाशित


कायाकिङ गरिने कालीगण्डकीको खण्ड । तस्बिर सौजन्य ईन्द्रधारा विष्ट ।

पोखरा-चारैतिर निकै अग्ला पहाड छन् । पहाडको दृष्य हेर्दा अनौठो संसारमा पुगे जस्तो भान हुन्छ । पहाड पनि रंगीन छन् । चारैतिर अग्ला पहाडलाई छिचोलेर कालीगण्डकी बगेको छ । त्यही कालिगण्डकी नदीमा कायाकिङ गराएर साहसिक खेलको गन्तव्य बनाउने योजना बुनिएको छ । गण्डकी प्रदेशका सदस्य ईन्दधारा विष्टले कालीगण्डकीमा कायाकिङ गराउँदै मुस्ताङलाई साहसिक पर्यटनको गन्तव्य बनाउने अभियानमा छन् ।

उपल्लो मुस्ताङको घिलिङ त्रिवेणीमुनिबाट चैलेको पुल(मुस्ताङ गेट)सम्म कायाकिङ गराउने योजना छ । ३ हजार मिटरको उचाईमा गरिने यो कायाक आफैंमा साहसिक हुने विश्वास छ । ‘कुनै ठाँउबाट आकाश नै देखिदैन् ।’ सदस्य विष्टले भने–‘कायाकिङ गराएर नयाँ साहसिक पर्यटनको गन्तव्य बनाउने अभियानमा छौं ।’ साँघुरो गल्छीबाट कालीगण्डकी नदी बगेको छ । देखिदाँ साँघुरो भएपनि ट्रक समेत आवातजावत हुन्छ । हिउँदको समयमा उपल्लो मुस्ताङबासीले सामान ढुवानी गर्न कालीगण्डकी नदीबाटै लैजाने गरेका थिए । अहिले सडकको पहँुच पुगेकोले सामान सडकबाटै ढुवानी हुने गरेको छ ।

घिलिङदेखि चैलेसम्म झण्डै १२ किलोमिटर छ । १२ किलोमिटर क्षेत्रमा कायाकिङ गर्ने योजना बनेको छ । हिँउदमा चिसो हुन्छ । कठिनाई हुन्छ । ‘कार्तिकदेखि बैशाखसम्म कायाक गर्न सकिन्छ । तर चिसो हुदाँ फागुनदेखि बैशाखसम्म उपयुक्त हुन्छ ।’ विष्टको भनाई थियो । वर्षायाममा नदीमा माटोसहित बग्ने हुदाँ कायाकिङ गर्न कठिनाई हुने समेत उनले सुनाए । अध्ययन गर्न विष्टले आफनो निर्वाचन पूर्वाधार विकास अन्तर्गत ५ लाख रुपैयाँ छुट्टाएका छन् ।

नेपाल पर्वतीय खेलकुद महासंघले पनि मुस्ताङलाई साहसिक खेलकुदको गन्तव्य बनाउने योजनामा छ । संघले २०२५ भित्र मुस्ताङमा ‘माउण्टेन स्पोर्टस गेम’ आयोजना गर्ने एकदशक अघिदेखिको जमर्को हो । महासंघका अध्यक्ष गोविन्द भट्टराईले अबको खेलकुद ‘वाटर र अल्पाईन’भएको भन्दै मुस्ताङलाई अल्पाईन स्पोर्टसको गन्तव्य बनाउने अभियानमा रहेको बताए । उनले माउण्टेन स्पोर्टस गर्न एक दर्जन खेल गर्न सकिने अध्ययन गरिएको बताए । जोमसोमदेखि लोमान्थाङ क्षेत्रसम्म मोटर स्पोर्टस, ट्रायथोलन, साईक्लिङ, प्याराग्लाईडिङ, कायाकिङ, क्रसकन्ट्री दौड, आर्चरी तथा घोडा दौड गर्न सकिने अध्ययनले देखाएको उनको भनाई थियो । ‘साहसिक खेलकुद मार्फत दिगो पर्यटनको विकास सम्भाव छ । त्यसैले साहसिक खेलकुदमा सबै निकायको ध्यान जान जरुरी छ ।’ उनको भनाई थियो । उनले सन २०२३ मा कोभिड–१९ को असर मत्थर भए मुस्ताङमा फर्मूला–रेस आयोजना गर्ने तयारी भएको समेत सुनाए । कोभिडकै कारण रोकिएको छ ।

कालीगण्डकीमा कायाकिङ सम्भावना छ । तर उपल्लो क्षेत्रमा कायाकको लागि अध्ययन गर्नुपर्ने छ । जलयात्रा व्यवसायी संघ केन्द्रीय निबर्तमान अध्यक्ष निमबहादुर मगरसहितको टोलीले अध्ययन गर्ने तयारी छ । अध्ययनपछि मात्रै कालीगण्डकीको उपल्लो क्षेत्रमा कायाक गर्न सकिने नसकिने थाहा हुन्छ । ‘अध्ययन गरेको छैन् । डुङ्गा बग्ने पानी भयो भने कायाक गर्न सकिन्छ ।’ जलयात्रा व्यवसायी संघका निवर्तमान अध्यक्ष मगरले भने–‘सतहदेखि डेढफिटमाथि पानी भयो भने उपयुक्त हुन्छ । सम्भावना रहन्छ ।’

अध्ययनले सम्भावना देखाएको अवस्थामा हाईअल्टिच्युड कायाकिङ गन्तव्य बन्ने छ । यद्यपी व्यवसायिक रुपमा सञ्चालन गर्न भने कठिनाई हुने मगरको भनाई थियो । हिउँ पग्लिने समयमा ठिक हुन्छ । ‘वर्षको केवल दुई÷तीन महिना मात्रै हुन्छ,’ उनले भने–‘ कर्मशियल गर्न भने कठिनाई हुन्छ ।’ कालीगण्डकी बगरयुक्त छ । बढी ढुंगा छन् । ढुंगा पनि धारिलो हुदाँ ¥याफ्टिङ गर्न सकिदैन् । ढुङ्गाले ¥याफ्टिङ बोट नै काटिने डर उत्तिकै हुदाँ बढी जोखिम हुन्छ ।

मुस्ताङ आफैंमा प्रकृतिको बरदान हो । प्रकृतिको बरदानमा साहसिक खेलकुद गन्तव्य बनाउन सहज छ । साहसिक खेलकुदलाई मुस्ताङसँग जोडिनुपर्छ । ‘जहाँ जुन खेलको सम्भावना छ त्यसलाई प्रवद्र्धन गर्नपर्छ ।’ पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले भने–‘साहसिक खेलकुदलाई सरकारले पनि बजेट छुट्टाउनुपर्छ ।’ उनका अनुसार खेलकुद मागेर मात्रै नचल्ने भन्दै प्रदेश सरकार वा संघीय सरकारबाट बजेट उपलब्ध गराई साहसिक खेलकुद प्रवद्र्धनमा ध्यान दिनुपर्छ ।