साहसिक खेल क्यानोनिङ आयोजना गर्न मन्त्रालयको प्रस्ताव

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १७ गते २०७८ मा प्रकाशित


क्यानोनिङको स्थलगत अध्ययनपछि मन्त्री गुरुङले निर्देशन दिदैं ।

ल्वाङघलेल(कास्की)-कोभिड–१९ को विभिन्न भेरियन्टले गन्जागोल बनाएको खेलकुदले लय समात्न शुरु गरेको छ । खेलकुदका गतिविधि निरन्तर आयोजना हुदाँ गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले साहसिक खेलकुद प्रतियोगिता आयोजना जमर्को गरेको छ । साहसिक खेलकुद आयोजना गर्ने योजना बनाएको खेलकुद मन्त्रालयले कास्कीको ल्वाङघलेलस्थित क्यानोनिङ(झरनामा डोरीको सहायताले ओर्लिने खेल) को स्थलगत अध्ययन गरेर फर्कियो ।

प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले क्यानोनिङ गर्न सकिने सम्भावना बारे स्थलगत अध्ययन गरी पोखरा क्यानोनिङ प्रालिका निर्देशक एवं सञ्चालक राम गुरुङसँग छलफल गर्दै साहसिक खेलकुद प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरे । मन्त्री गुरुङले क्यानोनिङसँगै रक क्लाईम्बिङको लागि समेत उपयुक्त हुने भन्दै रक क्लाम्बिङको ‘स्पट’ बनाउन सकिने विषयमा छलफल गरेका थिए । ‘साहसिक खेलकुद(क्यानोनिङ) आयोजना गर्न आवश्यक प्रक्रियासहितको तयारी गर्नोस । मन्त्रालयबाट बजेट छुट्टाईदिन्छु ।’ मन्त्री गुरुङले क्यानोनिङको स्थलगत भ्रमणपछि भने–‘साहसिक खेलकुद आयोजनाको लागि खर्च कति लाग्छ आवश्यक प्रस्ताव बनाएर ल्याउनुस ।’ मन्त्री गुरुङले क्यानोनिङ प्रतियोगिता आयोजना गर्न प्रस्ताव गर्दै साहसिक खेलकुदसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

क्यानोनिङ गर्न स्वदेशी तथा विदेशी उत्तिकै हुन्छन् । तर पछिल्लो समय कोरोनाको त्रासले आन्तरिक तथा बाह्य पर्यटक घलेले कमैमात्र उक्लिएका छन् । मौसम पनि चिसो छ । चिसोयाममा झरनाको पानीबाट ओर्लिन निकै सकस हुन्छ । यतिबेला सुनसान जस्तै छ । यद्यपी साहसिकको लागि क्यानोनिङ गर्ने पर्यटकको चासो बढ्दै गएको छ । कोरोना कहरको त्रास हटेपछि क्यानोनिङको लागि पर्यटक आउने विश्वास पोखरा क्यानोनिङ प्रालिका निर्देशक एवं सञ्चालक राम गुरुङले लिएका छन् ।

‘कास्कीकै विरेठाँटीमा पहिलो क्यानोनिङ प्रतियोगिता आयोजना गर्यौं । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले सहयोग गर्ने घोषणा सँगै अब घलेलमा दोस्रो संस्करणको आयोजना गर्ने छौं ।’ प्रालिका निर्देशक गुरुङले भने–‘प्रतियोगितासँगै नेपालमा क्यानोनिङ गर्ने गाईडको स्वीकृति पत्र(लाईसेन्स) छैन् । स्वीकृति पत्र नहुदाँ साहसिक खेलसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन सकिएको छैन् । मन्त्रालयले त्यस तर्फ ध्यान सके राम्रो हुने थियो ।’ प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने उनको जोड थियो । निर्देशक गुरुङका अनुसार खेलाडीलाई आवश्यक चेन्जिङ रुम लगायतका पूर्वाधार बनाउनुपर्ने खाँचो छ । पोखरा क्यानोनिङ र विरेठाँटी क्यानोनिङ प्रालिको संयुक्त आयोजनामा सन २०१८ मा पहिलो पटक कास्कीको विरेठाँटीमा क्यानोनिङ प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा कास्की, भोटेकोशी, ककनी, सुन्दरी जल, लम्जुङ, बाग्लुङ(हटिया), पर्वत(दुर्लुङ)मा रहेको क्यानोनिङका गाईडहरुको सहभागिता रहेको थियो ।

मन्त्री गुरुङले क्यानोनिङ स्पटमै पोखरी बनाउन समेत आग्रह गरे । उनले क्यानोनिङसम्म पुग्न आवश्यक पुल बनाउन समेत सुझाव दिए । ‘स्पटमा पुग्न बनाउनुपर्ने पूर्वाधार बनाउन मन्त्रालयले बजेट दिन्छ । सबै खर्चसहित प्रस्ताव पेश गर्नुस ।’ मन्त्री गुरुङको सुझाव थियो । ल्वाङ घलेलको क्यानोनिङ गरिने झरना ४५ मिटरको उचाईको छ । त्यसभन्दा माथि पनि अर्को झरना छ । झरनासँगै जोडिएको चट्टाने पहाडमा रक क्लाइम्बिङ गराउन सकिन्छ । चट्टाने पहाड झण्डै १०० मिटर अग्लो छ । रक क्लाईम्बिङ गराउन उपयुक्त हुने विश्वास छ । ‘साहसिक खेल अन्तर्गत रक क्लाईम्बिङ र क्यानोनिङ आयोजना गर्न सकिने यो र्न एउटा मात्रै उपयुक्त स्थान हो ।’ मन्त्री गुरुङको भनाई थियो । क्यानोनिङस्थल पोखरादेखि झण्डै २५ किलोमिटरको दुरीमा छ । सहज यातायातको पहुँच छ ।