बचत रकम सामाजिक, खेलकुद र बाघ संरक्षणमा खर्चिने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २४ गते २०७८ मा प्रकाशित


दोस्रो टाईगर कप भलिबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिदैं ।

पोखरा-सरकारले बाघ संरक्षणमा वर्षेनी लाखौं खर्च गर्दै आएको छ । बाघको अध्ययन , सरंक्षण र गणना अभियान सञ्चालन गर्दै आएको छ । बाघ संरक्षण अभियानमा पोखराको टाईगर ग्रुप अफ पोखरा पनि जुटेको छ । टाईगर ग्रुप अफ पोखरा विशेषत खेलकुदसँग सम्बन्धित संस्था हो । टाईगर ग्रुप अफ पोखरा नेपालले दोस्रो संस्करणको टाईगर कप भलिबल प्रतियोगिताबाट बचत रकम बाघ संरक्षणमा अभियानमा खर्च गर्ने प्रतिबद्धता गरेको छ ।

गएको पुष २६ गतेदेखि माघ १ गतेसम्म पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा टाईगर ग्रुपले ‘दोस्रो टाईगर कप आमिन्त्रत खुल्ला क्लब च्याम्पियनसिप महिला÷पुरुष भलिबल प्रतियोगिता २०७८’ आयोजना गर्यो । आयोजनाबाट ७ लाख ९५ हजार रुपैयाँ बचत गर्यो । बचत रकम सामाजिक क्षेत्र, खेलकुद एवं बाघ संरक्षण अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ‘बाघ संरक्षण अभियानमा बचत रकम खर्च गर्ने प्रतिबद्धता गर्दछौं ।’ टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले भने–‘बाघ संरक्षण अभियान गर्ने संघसंस्था मार्फत सहयोग गर्न तयार छौं ।’ उनले बाघ संरक्षण गर्न सरकारी तथा संघसंस्थालाई आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बाघ संरक्षण अभियानमा सहयोग गर्ने प्रतिबद्धता गरेसँगै बाघ संरक्षण अभियानमा जुटेका संघसंस्थासँग सहकार्य गर्ने उनको भनाई थियो ।
‘बाघ संरक्षण गर्न वर्षेनी आयोजना गरिने टाईगर कप भलिबल प्रतियोगिताको बचत रकमबाट सहयोग गर्ने प्रतिबद्ध छौं ।’ अध्यक्ष शर्माले सुनाए । पत्रकार सम्मेलनमै टाईगर ग्रुपले नेपाली राष्ट्रिय भलिबल टोलीकी स्पाईकर सरस्वती चौधरी र टाईगर कप खेल्न आउने क्रममा घाईते भएका अमृत केसीलाई उपचार खर्च स्वरुप नगद १०÷१० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । पुरुष गण्डकी प्रदेश टिमलाई ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए । टाईगर ग्रुपको कप्तानी गरेकी नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई पनि नगद १० हजार सहयोग गरिएको थियो ।

टाईगर ग्रुपले आयोजना गरेको दोस्रो संस्करणको प्रतियोगितालाई मुख्य प्रवद्र्धक सुश्री मिडिया प्रा.लिले १३ लाख रुपैयाँ उपलब्ध गराएको थियो । युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशबाट ६ लाख रुपैयाँ, टिकटबाट १५ लाख ८३ हजार रुपैयाँ र स्वदेश तथा विदेश एवं अन्य संघसंस्था तथा व्यक्तिहरुबाट गरी ४४ लाख ६३ हजार गरी ७९ लाख ४६ हजार रुपैयाँ आम्दानी भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो । ग्रुपका कोषाध्यक्ष हरिबहादुर श्रेष्ठका अनुसार विभिन्न शीर्षकमा ७१ लख ५१ हजार खर्च भई ७ लाख ९५ हजार रुपैयाँ बचत भएको छ । प्रतियोगितामा महिला तथा पुरुष गरी ५÷५ टिमले प्रतिस्पर्धा गरेका थिए । महिला तर्फ शसस्त्र प्रहरी बल र पुरुष तर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन भएका थिए ।