
पोखरा-युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले ओलम्पिकमा पदक जित्ने खेलाडीलाई दुई करोड रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । दुई करोड रुपैयाँले खेलाडीलाई उर्जासँगै थपिने बताए -रंगशाला भ्रमण गर्न पोखरा आईपुगेका मन्त्री गहतराजले अन्तराष्ट्रिय तथा राष्ट्रिय पदक विजेता खेलाडीसँगको अन्तरक्रियामा बोल्दै मन्त्री गहतराजले ओलम्पिकमा पदक जित्ने खेलाडीलाई २ करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरे । ‘खेलाडीको एउटै लक्ष्य हुनुपर्छ, ओलम्पिकमा पदक जित्ने । पदक विजेता खेलाडीलाई राज्यले हेर्छ ।’ उनले भने–‘राज्यले पदक विजेता खेलाडीको सम्मानार्थ २ करोड रुपैयाँ पुरस्कार दिन्छ ।’ युवा तथा खेलकुद मन्त्रालयले बनाउने पुरस्कार निर्देशिकामा खेलाडीलाई पुरस्कार दिने व्यवस्थाको उल्लेख गरिएको छ । ओलम्पिकका पदक जित्न राज्यले पनि अन्तराष्ट्रियस्तरका खेलकुद पूर्वाधार निर्माणमा लागि परेको उनले बताए ।
मन्त्री गहतराजले ओलम्पिक पदक विजेता मात्रै नभई प्रशिक्षकलाई समेत पुरस्कृत गरिने उल्लेख गरे । ‘ओलम्पिकसम्म पुर्याउने प्रशिक्षकलाई खेलाडीको एकतिहाई पुरस्कार रकम प्रदान गर्ने छौं ।’ मन्त्री गहतराजको भनाई थियो । पुरस्कारको घोषणा गरिरहदाँ मन्त्री गहतराजले खेलाडीको मनोबल उच्च भएपनि व्यवस्थापन र खेलकुद पूर्वाधार कमजोर रहेको जिकिर गरे । उनले खेलाडीको व्यवस्थापनमा राज्यको हुनुपर्ने ड्युटी नै भएको बताए ।
‘व्यवस्थापनमा राज्यको ड्युटी छैन् । खेलाडी राम भरोसमा छन् । खेल्छन् । राज्यले व्यवस्थापकीय दायित्व लिनुपर्छ ।’ मन्त्री गहतराजले भने–‘तर राज्यदे दायित्व लिएर व्यवस्थापन गर्न सकेको अवस्था छैन् ।’ खेलकुदको पूर्वाधारको नीति निर्माण मन्त्रालयले गर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद व्यवस्थापनमा केन्द्रीत हुनुपर्नेमा उनको जोड थियो । मन्त्री गहतराजले खेलकुद क्षेत्र सबैभन्दा बढी लगानी भएको क्षेत्र भएको दावी गर्दै सरकारी लगानी कम भएपनि जनस्तरबाट खेलकुद क्षेत्रबाटै लगानी(सहयोग)हुदैं आएको सुनाए ।
खेलकुद प्रशिक्षक विहीन हुदैं गएका छन् । एनएस कोर्ष गरेका स्वयंसेवक प्रशिक्षक भएपनि राष्ट्रिय खेलकुद परिषदले प्रशिक्षक नियुक्तमा ध्यान नदिएको गुनासो राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता खेलाडीहरुले गुनासो गरे । गुनासोलाई मन्त्रालयले सम्बोधन गर्नुपर्ने आवाज समेत उठाए । खेलकुदको शहर पोखरा आफैंमा प्रशिक्षक विहीन हुदैं गएको छ । प्रशिक्षक विहीन हुदाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता खेलाडीलाई सेवा सुविधा दिई प्रशिक्षण गराउने बातावरण परिषद एवं मन्त्रालयले बनाउन नसकेको गुनासो थियो ।
उनीहरुकै गुनासोको सम्बन्धमा राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापाले नियमावली नबन्दा प्रशिक्षक नियुक्त गर्न नसकिएको स्पष्ट पारे । ‘नियमावली बनेको छैन् । नियमावली नबन्दा प्रशिक्षक नियुक्त गर्ने अवस्थामा छैनौं ।’ उनले भने–‘केहीको प्रशिक्षक छैन् । केही खेलको पूर्वाधार छैन् । केही खेलको आवश्यक खेल सामग्री नै छैन् ।’ निमित्त सदस्य सचिव थापाले खेलाडीका गुनासा सुन्ने मात्रै नभई परिषदले समाधान गर्ने तर्फ पनि ध्यान दिने बताए । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले खेलकुदको विकासमा तीन तहको सरकारको समन्वयात्मक भूमिका हुनुपर्नेमा जोड दिए ।
मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद भट्टले ५ अस्पताल निर्माण भन्दा एउटा व्यायामशाला निर्माण गर्नुपर्नेमा जोड दिए । यद्यपी भनाई अनुसार व्यवहारमा लागु हुन नसकेको गुनासो खेलाडीहरुले गरे । पूर्व राष्ट्रिय भलिबल खेलाडी लेखनाथ लम्साल, पूर्व राष्ट्रिय एथलेटिक्स खेलाडी गोपबहादुर अधिकारी, दक्षिण एशियाली खेलकुद अन्तर्गत व्याडमिन्टनमा कास्य पदक विजेता खेलाडी पुनम गुरुङ लगायतले खेल, खेलाडीको समस्या र भोग्नुपरेको पीडालाई परिषदले सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…