सुवास तामाङ सुर्य नेपाल वेष्टर्न ओपन च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १८ गते २०७८ मा प्रकाशित


पोखरा-प्रो जयराम श्रेष्ठलाई चार स्ट्रोकले पछि पार्दै एमेच्योर गल्फर एवं १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका स्वर्णपदकधारी सुवास तामाङले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको अन्तिम उपाधि आफनो नाममा लेखाएका छन् । हिमालयन गल्फ हाउसमा आयोजित सुर्य नेपाल वेष्टर्न ओपन अन्तर्गत तामाङले अन्तिम दिन एक ओभर ६९ को कार्डसहित उपाधि लेखाए । उनले ५४ होल सकिदाँ लेभल पार खेल्दै २०४ को कार्ड बनाउँदै सुर्य नेपाल गल्फको वर्षको अन्तिम उपाधि आफनो नाममा लेखाए । उनी सुर्य नेपाल वेष्टर्न ओपनका नयाँ विजेता समेत हुन् ।

अन्तिम दिन तामाङले फ्रन्ट नाईन दुई ओभरमा टुग्याए । पहिलो होलमै बोगीबाट खेल शुरु गरेको तामाङले छैटौं होलमा समेत बोगी खेप्न पुगे । तर फ्रन्ट नाईनको अन्तिम होल पार चारको नवौं होलमा भने बर्डी हिर्काउँदै लयमा फर्किने कोशिस गरे । व्याक नाईनमा १४ होलमा बर्डी हिर्काउँदै स्ट्रोक जोगाउने प्रयास गरे । त्यो नै व्याक नाईनको एक मात्र बर्डी थियो । प्रो जयराम श्रेष्ठले अन्तिम दिन चार ओभर खेल्दै शीर्षस्थानमा रहँदै नगद १ लाख ३५ हजार प्राप्त गरे । उनले समग्रमा चार ओभर २०८ को कार्ड बनाए । अघिल्लो दुई दिन उनले लेभर पार ६८ को स्कोर बनाउँदै उपाधि यात्रामा थिए । सातौ होलमा डबल बोगी खेपेपछि उनले फ्रन्ट नाईन ३ ओभर ३६ मा टुग्याएका थिए । १७ होलमा बर्डी हिर्काएपछि केही राहत महशुस गरेपनि १५ औं र १८ होलमा समेत अर्को बोगी खेप्दै लय गुमाए ।

आर्मी गल्फ क्लबका धनबहादुर थापा, निरज तामाङ र रामे मगर समान दोस्रो स्थानमा रहे । उनीहरुले तेस्रो दिनको खेल टुग्याउँदा ७ ओभर २११ को स्कोर बनाए । थापाले फ्रन्ट नाईनमा एक ओभर ३४ स्कोरमा खेल्दा व्याक नाईन भने ३ ओभर ७१ मा पुगे । व्याक नाइनमा सम्हालिन खोज्दा नै १२ र १३ होलमा डबल बोगीको सामना गरे । १५, १६ र १७ औं होलमा बर्डी हिर्काउँदै खेलमा फर्किने कोशिस गरे । तर अन्तिम होलमा बोगी खेप्दै चार ओभर २११ को कार्डसहित दोस्रो स्थानमा चित्त बुझाए ।

दोस्रो दिन निकै खराब प्रदर्शन गरेका रामे मगरले अन्तिम दिन सुधार्दै २ अण्डर ६६ को स्कोर बनाएपछि उनी समग्रमा ७ ओभर २११ को स्थितिमा दोस्रो स्थानमा टाई खेल्दै ६८ हजार ८ सय ३३ रुपैयाँको हकदार बने । उनले दोस्रो दिन ७ ओभर ७५ को कार्डको प्रदर्शन थियो । तर अन्तिम दिन उनले फ्रन्ट नाईन लेभल पार ३३ र व्याक नाईनमा १० औं र १५ होलमा बर्डी हिर्काउँदै दुई अण्डर ६६ को कार्ड बनाए । अन्तिम दिन उनको उत्कृष्ट प्रदर्शन रह्यो ।

सन्जय लामा १० ओभर २१४ सहित पाँचौ स्थानमा रहे । भुवन नगरकोटी ११ ओभर २१५ स्कोरसहित छैटौं स्थानमा रहँदा पोखरेली प्रो. गल्फर भुबहादुुर गुरुङ भने १० औं स्थानमा रहँदै घरेलु कोर्षको फाईदा उठाउनबाट चुके । पोखरेली एमेच्योर खेलाडी अजित विक भने दोस्रो बने । उनले ९ ओभर २१३ को कार्ड बनाए ।