प्रदेश १ माथि गण्डकीको फराकिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २७ गते २०७९ मा प्रकाशित


पोखरा-ढिलो गरी शुरु भएको महिला हक्कीमा गण्डकी प्रदेशले प्रदेश नं १ लाई ७–० गोल अन्तरले पराजित गरेको छ । कमला पुनको ह्याट्रिक प्रेरिक गण्डकीले उदघाटन खेलमा सहज जित दर्ता गर्यो ।
पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको खेल मैदानमा शुरु भएको प्रतिस्पर्धामा सोनु बरालको गोलबाट अग्रता लिएको थियो ।

उनले १३ औं मिनेटमा पहिलो गोल गरिन् । सविना पुन राना मगरले १५ मिनेटमा , १७ औं मिनेटमा कमला पुनले गरिन् । कमलाले २६ र ४२ औं मा गोल गर्दै ह्याट्रिक गरिन् । ३४ औं मिनेटमा सोनु बरालले व्यक्तिगत दोस्रो गोल गरिन् । ५५ औं मिनेटमा दिपशिखा पौडेलले गोल थपिन् ।

खेलाडीको आवश्यक किट र खेल पोशाकै अभावमा महिला हक्कीको ढिलो भएको थियो । खेलाडीको आवश्यक किट नहुदाँ खेल खेलाउन ढिलाई भएको हो । प्रदेश नं १ को खेलाडीहरुसँग सिन गार्ड र गोलकिपर पोशाक नहुदाँ खेल खेलाउन ढिलाई भएको प्राविधिक टिमका सदस्यले जनाए ।

सुदुरपश्चिमको टोलीसँग गोलकिपर पोशाक मागेर लगाएपछि प्रदेश नं १ को टोली मैदानमा उत्रिएको थियो ।सिन गार्ड भने प्रदेश नं १ पुरुष टोलीसँग समन्वय गरिएको टिम प्रशिक्षक थलु राजभण्डारीले बताईन् । उनका अनुसार राष्ट्रिय खेलकुद परिषदले आवश्यक सबै सेट उपलब्ध नगराएपछि समस्या भएको हो ।