
पोखरा-तीन वर्षपछि नेपालले यु–१९ महिला विश्वकप क्रिकेट आयोजना गर्ने छ । बंगलादेशसँगको सहआयोजनामा (सन २०२६ मा) उमेर समूहको महिला टी–२० विश्वकप आयोजना गर्न अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले घोषणा गरिसकेको छ । पाएको जिम्मेवारीसँगै मैदान निर्माण तथा स्तरोन्नति गर्नुपर्ने दायित्व नेपाल क्रिकेट संघको छ ।
त्रिभुवन विश्वविद्यालयको मैदान नै एकमात्र नेपालको अन्तराष्ट्रिय क्रिकेट मैदान हो । पोखराका क्रिकेट प्रेमीले पोखरा रंगशालास्थित ‘होम अफ क्रिकेट ग्राउण्ड’ मा पनि खेलाउनुपर्ने आवाज उठाउन थालेका छन् । पोखरामा भएको क्रिकेट मैदानको स्तरोन्नति गर्नुपर्ने खाँचो छ । अन्तराष्ट्रियस्तरको मैदानसँगै प्रशिक्षणको लागि बैकिल्पक मैदानको आवश्यक छ । बैकल्पिक मैदानको लागि पोखरा–३३ पशुपतिघाट खेल मैदान र पोखरा–१४ स्थित बाच्छेबुडुवास्थित तत्कालिन ल्याण्डफिल साईटलाई उपयुक्त ठानिएको छ । ल्याण्डफिल साईट अहिले बाच्छेबुडुवाबाट अन्यत्र सारिसकिएको छ । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै फालिएको फोहोरलाई माटोले पुरिएको छ । माटोले पुरिएको ठाउँ अहिले क्रिकेट मैदान बनाउन उपयुक्त हुने कास्की जिल्ला क्रिकेट संघले ठहर गरेको छ ।
‘नेपालले यु–१९ महिला विश्वकपको होस्ट गर्दै छ । काठमाडौंसँगै पोखरामा गेम ल्याउनुपर्छ भन्ने हाम्रो माग हो’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने–‘भईरहेको पोखरा रंगशालाको मैदानलाई स्तरोन्नति गर्ने अनि बाच्छेबुडुवाको मैदानलाई बैकल्पिक मैदान बनाउनुपर्छ ।’ राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालास्थित क्रिकेट मैदानलाई दुई करोड रुपैयाँ बजेट छुट्टाएको छ । छुट्टाएको बजेटबाट प्लेयर बक्स बनाउने योजना संघको छ । ‘राखेपको बजेटले प्लयेर बक्स बनाउने र बजेट बचेमा अरुकेही बनाउने योजना छ ।’ उनको भनाई छ ।
बाच्छेवुडुवाको ल्याण्डफिल साईटको माटो पुरिएको क्षेत्रफल ८० रोपनी छ । त्यसबाहेक सबैखाले उपयोग गरे दुई सय रोपनी पुग्ने पोखरा महानगरपालिका सरसफाई शाखा प्रमुख कल्पना बरालले जानकारी दिईन् । ‘माटोले पुरिएको क्षेत्रफल ८० रोपनी छ । अरु सबैगर्दा दुईसय रोपनी पुग्छ ।’ शाखा प्रमुख बरालको भनाई थियो । ८० रोपनीको क्षेत्रफलमा खेलकुदको पूर्वाधार बनाउन सकिने सम्भावना देखिएको छ । क्रिकेट मैदानसँगै रग्बी, हक्की तथा गल्फको लागि उपयुक्त हुन्छ ।
पोखरा महानगरपालिका वडा नं १४ ले पनि तत्कलिन ल्याण्डफिल साईटलाई खेलकुद पूर्वाधारको लागि उपयुक्त हुने निष्कर्ष निकालेको छ । ‘हामी अध्ययनमा छौं । कुन खेलकुदको पूर्वाधार बनाउन उपयुक्त हुन्छ । अध्ययन पछि निर्णय गर्छौ’ पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले भने–‘उपयुक्त ठहरिएको खेलको पूर्वाधार बनाउन आवश्यक लगानी गर्न सबैठाँउमा पहलकदमी गर्ने छौं ।’
खेलकुद पूर्वाधारको लागि अन्य वडामा सार्वजनिक जग्गा छैनन् । ल्याण्डफिल साईटले चर्चेको ८० रोपनी क्षेत्रफलमा धेरै खेलको पूर्वाधार बनाउन सकिने देखिन्छ । यद्यपी भौतिक संरचनायुक्त पूर्वाधार बनाउन नहुने प्राविधिक बताउँछन् । ‘लम्बाई ३ सय मिटर र चौडाई ९० मिटरको देखिन्छ’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका इन्जिनियर अनिल अधिकारीले भने–‘९० मिटर चौडाई भएको क्षेत्रफलमा क्रिकेट मैदान बनाउन पुग्दैन् ।’ उनले गुगल म्याप अनुसार क्रिकेट मैदान बनाउन भित्ता खारेर झानुपर्ने सुनाए । ‘भौतिक संरचनायुक्त पूर्वाधार बनाउनु हुदैन्’ उनले भने–‘सबैभन्दा उपयुक्त गल्फ कोर्ष बनाउन देखिन्छ ।’ उनले अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन मापदण्ड नपुग्ने भएपनि प्राक्टिस भेन्युको लागि बनाउन सकिने सम्भावनालाई भने नकारेनन् ।
महानगर खेलकुद विकास समितिका सदस्य सदस्य सचिव सुवास खड्काले पछिल्लो समय चर्चामा रहेको रग्बी खेलको पूर्वाधार बनाउन सकिने खाँचो औंल्याएका छन् । खड्का पनि रग्बी संघमा आवद्ध छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रग्बी सेभेनलाई समावेश गरेपछि रग्बीको चर्चा शुरु भएको हो । ‘रग्बीको मैदान छैन् । रग्बीको लागि उपयुक्त हुने देखिन्छ ।’ उनको भनाई थियो । ल्याण्डफिल साईटलाई माटोले पुरेसँगै महानगरपालिकाले खेलकुदको पूर्वाधार बनाउन अग्रसर बन्नुपर्ने सुझाव समेत खेलप्रेमीले दिएका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…