स्लोभाकियाकी विकानोभालाई एशिया कप महिला ट्रायथोलनको उपाधि

- साउथ एशियनमा भारतीयको बर्चस्व

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १८ गते २०७९ मा प्रकाशित


पोखरा-नेपाल ट्रायथोलन संघको आयोजनामा शनिबार पोखरामा आयोजित तेस्रो एशिया ट्रायथोलन कप महिला तर्फको प्रतिस्पर्धामा स्लोभाकियाकी मार्गरेटा विकानोभाले १ घण्टा ०४ मिनेट ५१ सेकेण्डको समयमा पुरा गर्दै च्याम्पियन बनिन् । त्यसैगरी जापानकी मिनोरी इकिनोले १ घण्टा ०५ मिनेट १८ सेकेण्डमा पुरा गर्दै दोस्रो बन्न सफल भईन् । जापानकै चिसातो नाकाजिमाले १ घण्टा ०५ मिनेट ३० सेकेण्डको समय लगाउँदै तेस्रा्रे स्थानमा रहिन् । रोमानियाकी एन्टाओ मानक चौथो भईन् । पाँचौ स्थानमा जापानकी युका सातो रहिन् ।

महिला तर्फको साउथ एशियन ट्रायथोलन च्याम्पियनसिपमा भारतकी प्रज्ञा मोहनले उपाधि रक्षा गरिन् । उनले १ घण्टा १२ मिनेटको समयमा पुरा गर्दै दोस्रो पटक उपाधि उचालिन् । त्यस्तै भारतकै मान्सी मोहितेले १ घण्टा १३ मिनेट ४६सेकेण्डको समय लगाउँदै दोस्रो हुदाँ नेपालकी श्रेबी महर्जनले तेस्रो स्थान ओगेटिन् । उनले १ घण्टा १८ मिनेटको समय लगाइन् । चौथो स्थानमा नेपालकै केशरी थापा मगर आईन् । उनले १ घण्टा ३२ मिनेट ३१ सेकेण्डको समयमा पुरा गरिन् । जुनियर महिला तर्फ भारतकी सजनासुनिल जोशी प्रथम भईन् । नेपालकी श्रेबी महर्जन दोस्रो र भारतकी देविका शर्मा तेस्रो स्थानमा रहिन् । राष्ट्रिय महिला तर्फ श्रेवी महर्जन प्रथम, केशरी थापामगर दोस्रो भईन् ।

महिला तर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरि १६ खेलाडीले उपाधीका लागि प्रतिस्पर्धा गरेको नेपाल ट्रायथोलन संघले जनाएको छ । ४२ सय डलर कुल पुरस्कार राशी रहेको ट्रायथोलनमा महिला÷पुरुष उपाधी बिजेताले मेडल, प्रमाण पत्रका साथ ६३० डलर प्राप्त गरेका छन। यस्तै दोश्रो हुनेले ५२५ डलर, तेश्रो हुनेले ४२० डलर, चौथोले ३१५ डलर र पाँचौ हुनेले २१० डलरका साथ मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

नेपालमा ८० को दशकमा अन्नपूर्ण ट्राईयाथलनको नाममा अन्तर्राष्ट्रिय ट्राईयाथलन भएको इतिहास छ । त्यसलाई निरन्तरता प्रदान गर्न नसकी लामो समय सुस्ताएको ट्रायथोलन खेलको विकास र विस्तार गर्ने उद्धेश्यले २०१२ मा संघको विधिवत स्थापन पश्चात यस खेलले केही गति लिएको छ । संघको स्थापन पश्चात २०१३ मा संघले पोखराको बेगनास तालमा पहिलो दक्षिण एसियन च्याम्पिनसिपको आयोजना गरेर नेपालमा ट्रायथोलन खेलको सम्भावनालाई जीवन्त पारेको छ । वेगनास तालको सेरोफेरोमासम्म पिच बाटो नभएका कारण तीन संस्करण माउन्टेन बाईकलाई प्रयोग गरि आयोजना गरिएको अन्तराष्ट्रिय प्रतियोगितामा रोड बाईकको प्रयोग गर्नु पर्ने नियमका कारण पोखराको फेवाताललाई आधार बनाई निरन्तरता प्रदान गर्दै आएको छ ।

२०१९ मा तत्कालिन अन्तर्राष्ट्रिय ट्रायथोलन महासंघ (आईटियु) ले नेपाललाई एसिया कप गर्ने स्वीकृति प्रदान गरेपछि नेपालले ट्रायथोलन खेलमा खुड्किलो पार गरेको हो । २०१९ मा सुरु भएको एसिया कप २०२० र २१ मा बिश्वमा फैलिएको महामारी कोभिडका कारण आयोजना हुन सकेन । २०१३ मा फिलिपिन्सको सुविक वे मा भएको प्रतियोगितामो नेपाली खेलाडी राजीव गुरुङ्गले २०–२९ बर्ष उमेर समूहमा स्वर्ण पदक हात पार्न सफल भएका थिए । यस्तै २०१५ मित्र राष्ट्र चीनमा भएको प्रतियोगितामा टिका थापाले पदक प्राप्त गरेका थिए भने जुनियर तर्फ सहज शाक्यले चौथो स्थान प्राप्त गर्न सफल भएको संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले जानकारी गराए । यस्तै भारतका गोहाटीमा आयोजना भएको १२ औं दक्षिण एसियाली खेलकुदमा पहिलो पटकको सहभागितामानै रोजा के.सी.ले नेपालका लागि कास्य पदक र टिम स्पर्धामा रजत पदक प्राप्त गर्न सफल भएको थियो । २०१९ मा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको थियो ।