गोदारको अध्यक्षतामा मुआथाई गण्डकी प्रदेश संघ गठन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २१ गते २०७९ मा प्रकाशित


पोखरा-पोखरा आईतबार गण्डकी प्रदेशस्तरीय मुआथाई संघ गठन गरिएको छ । प्रशिक्षक समेत रहेका दिपकबहादुर गोदारको अध्यक्षतामा दुई उपाध्यक्ष थप गर्ने गरी १३ सदस्यीय मुआथाई प्रदेश संघ गण्डकी गठन गरिएको हो ।

संघको उपाध्यक्षमा दुई जना मनोनयन गरिने छ । महासचिवमा खगेन्द्र क्षत्री, सचिवमा आकृति भण्डारी(बाग्लुङ), कोषाध्यक्षमा विजय गुरुङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा ईश्वर श्रेष्ठ(तनहुँ अध्यक्ष) ,शुशिल सुनार(पर्वत), सुजन लामिछाने(बाग्लुङ, महेन्द्र थापा(स्याङजा), सुनिल थापा(कास्की अध्यक्ष) छन् । त्यस्तै जितु शाही(कास्की), विकास गुरुङ(कास्की) र कृष्ण कार्की(कास्की) रहेका छन् ।

पोखरामा २०६२ सालदेखि मुआथाई खेलको शुरुवात भएको हो । २०६२ सालमा दिपकबहादुर गोदारले थाईल्याण्डमा प्रशिक्षण गरेर फर्किएपछि पोखरामा मुआथाई े खेलको शुरुवात भएको हो । यद्यपी २०६६ सालमा अन्तराष्ट्रिय मुआथाई महासंघ(आईएफएमए, इन्टरनेशनल फेडेरेसन अफ मुआथाई एशोसियसन)बाट अन्तराष्ट्रिय सम्बन्धन प्राप्त गरी राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको हो ।

नेपालबाट सन २०१० मा दिपकबहादुर गोदा, गणेश कक्षपति र निर्मल पहारी थाइल्याण्डमा सहभागि भएका थिए । सन २०१६ मा तुर्किमिनिस्तानमा पोखराका खेलाडी नवराज गुरुङ इन्डोर एशियन गेम्समा सहभागिता जनाएका थिए । अन्तराष्ट्रिय एरिनामा रुपक नेपाली, तुलसी थापा लगायत सहभागिता जनाई सकेका छन् ।

पोखरामा २०६४ सालदेखि मुआथाई खेलको प्रशिक्षण शुरु भएको हो । २०६८ सालमा जिल्ला संघ गठन गरेपछि खेलले व्यापकता पाएको थियो । नयाँ प्रदेश संघ गठन भएसँगै संघले रेफ्री कोर्ष, मुआथाई कोर्ष तथा आत्मरक्षा तालिम, पोखरा महानगपालिका मुआथाई च्याम्पियनसिप तथा राष्ट्रिय मुआथाई च्याम्पियनसिप लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय समेत गरेको छ । नवगठित संघको उदघाटन गण्डकी प्रदेश सदस्य प्रकाश बरालले गरेका थिए ।

उनले नवगठित संघका पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै खेलकुदमा म भन्नेबाट हामी भन्ने परिवर्तन हुदैंन तबसम्म खेलकुदको विकास सम्भव नहुने ठोकुवा गरे । ‘म अटाएर होईन, हामी खेलकुदमा अटाउनुपर्छ भन्ने सोच हुन्ुपर्छ ।’ उनको भनाई थियो । प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, मुआथाईका कार्यबहाक अध्यक्ष सम्पन्न श्रेष्ठ, पूर्व अन्तराष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराई लगायतले खेलकुदको विकासमा युवाहरु नै जुट्नुपर्नमा जोड दिएका थिए ।