प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङमा बागमती च्याम्पियन

- गण्डकीलाई दुई स्वर्ण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २७ गते २०८० मा प्रकाशित


पोखरा-पोखरामा आयोजित प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ८ स्वर्ण पदकको लागि भएको टिम तथा व्यक्तिगत प्रतिस्पर्धामा बागमती प्रदेशले ५ स्वर्ण पदकसहित च्याम्पियन बन्यो । गण्डकी प्रदेश दोस्रो स्थानमा रह्यो । गण्डकीले दुई स्वर्ण पदकमा चित्त बुझायो । एपीएफले एक स्वर्ण पदक जितेको छ ।

जुनियर मेन्स ईपीमा गण्डकीका नवराज कार्कीले स्वर्ण पदक जितेका छन् । उनले बागमती प्रदेशका अक्चेत शेरचनलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । सोही इभेण्टमा कोशी प्रदेशका सन्देश चौधरी र सचिन खत्री(गण्डकी)ले कास्य पदक जित्न सफल भए । महिला जुनियर ईपी तर्फको प्रतिस्पर्धामा बागमतीकी सोफिया चन्दले गण्डकीकी निश्चल पुलामीमगरलाई पराजित गर्दै स्वर्ण जित्न सफल भईन् । कृपा गुरुङ(गण्डकी) र अश्मिता घिसिङ(बागमती)ले कास्य पदक जिते ।

सिनियर मेन्स फोयल तर्फको प्रतिस्पर्धामा बागमती प्रदेशका सन्जीप लामाले स्वर्ण पदक जिते । उनले नेपाल आर्मीका नरेन्द्रसिंह धामीलाई पराजित गरे । सागर थापा(एपीएफ) र बीरसिंह शाही(आर्मी) भने तेस्रो स्थानमा चित्त बुझाए । सिनियर मेन्स टिम फोयल इभेण्टमा बागमतीले स्वर्ण, शसस्त्र प्रहरी बलले रजत जित्दा गण्डकी तथा नेपाल आर्मी क्लबले कास्य पदकमा खुम्चिए । जुनियर महिला टिम ईपी तर्फको प्रतिस्पर्धामा बागमतीले स्वर्ण, गण्डकीले रजत र कोशी प्रदेशले कास्य पदक जितेको छ ।

महिला सियिनर फोयल तर्फको व्यक्तिगत प्रतिस्पर्धामा बागमतीकै गोमा आचार्यले स्वर्ण पदक जितिन् । आर्मीकी मनिषा थापालाई पराजित गर्दै स्वर्ण चुमेकी हुन् । मनिषा राई.(एपीएफ) र सुष्मिता तामाङ(आर्मी)ले कास्य पदकमा चित्त बुझाए । जुनियर मेन्स टिम ईपी तर्फ गण्डकीले बागमतीकालाई पराजित गर्दै दोस्रो स्वर्ण पदक जिते । गण्डकीले फाईनलमा बागमतीलाई ४५–३५ स्कोरले पराजित गर्दै दोस्रो स्वर्ण जित्न सफल भएको हो । सिनियर टिम महिला फोयल तर्फको प्रतिस्पर्धामा बागमतीलाई पराजित गर्दै एपीएफले पहिलो स्वर्ण आफनो नाममा लेखायो । फाईनल प्रतिस्पर्धामा एपीएफले बागमतीलाई ४५–३१ स्कोरमा पराजित गर्दै एक स्वर्ण जित्दै स्वर्णविहीनको यात्रालाई विट मार्यो ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला फेन्सिङ संघको समन्वयमा आयोजित प्रतियोगितामा व्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धामा दुई विभागिय टिम नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबसहित कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको थियो ।