एकसातापछि पोखरामा फुटबलको रौनकता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १३ गते २०८१ मा प्रकाशित


पोखरा-फुटबलको रौनक छाउन केवल एकसाता मात्रै बाँकी छ । देशकै आधुनिक रंगशालामा मोसफलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २४ औं संस्करण माघ २२ गतेदेखि शुरु हुदैै छ । तयारीकै चरणमा रहँदा सहारा क्लबले गतवर्षको घाटापूर्ति गर्ने योजनासहित अघि बढेको छ ।

त्यसो त जिल्ला खेलकुद विकास समिति कास्कीले मैदानको शुल्क समेत तोकेको छ । यसले पनि क्लबलाई आर्थिक भार पर्ने छ । समितिले अन्तराष्ट्रियस्तरको प्रतिस्पर्धालाई दैनिक ५५ हजार शुल्क तय गरेको छ । क्लबले वर्षेनी आयोजना गर्दै आएको फुटबल प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको छदैछ, स्पोर्टस हब बनाउने सपनालाई पनि साकार बनाउने प्रयासमा निरन्तर छ ।

क्लबले २४ औं संस्करणमा आईपुग्दा १ करोड ४२ लाख रुपैयाँ खर्चको अनुमान गरेको छ । यसले पनि प्रतियोगिताको आर्थिक पाटो बढ्दै गएको संकेत गरेको छ । बचतको लक्ष्य केवल ८ लाख ८० हजार रुपैयाँको छ । गेटटिकट, व्यानर प्रायोजन, मुख्य प्रायोजक, सह प्रायोजक र अन्य सहयोगी संस्थाबाट खर्च जुटाउने क्लबले बचत रकमलाई पोखरा १७ दोविल्लास्थित सहारा एकेडेमीमा आश्रित बालक (१६ जिल्लाका ३० जना)को शिक्षा, स्वास्थ्यमा खर्च पुर्याउँदै आएको छ ।

तीन विभागीय क्लब आर्मी, सशस्त्र र नेपाल पुलिस क्लबसहित मछिन्द्र क्लब,अपी पावर चर्च ब्वाईज युनाईटेड क्लब, विदेशी क्लब थन्डर नर्थ युनाईटेड क्लब सिक्किम, ब्रिगेड ब्वाईज क्लब युके, थ्रीस्टार, एनआरटी, संकटा र घरेलु सहारा क्लबको सहभागिता निश्चित छ । १२ औं क्लबको सहभागिताको लागि छलफल भईरहेको क्लबका अध्यक्ष केशवराज बरालले बताए । पुरस्कारलाई पनि विभिन्न व्यक्तित्वले प्रायोजन गरेका छन् ।
वर्षेनी सम्मान गरिने राष्ट्रिय सर्वोत्कृष्ठ वर्ष खेलाडी पुरस्कारलाई क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङ, उत्कृष्ट पाँच विधाको पुरस्कारलाई सुर्यबहादुर केसी स्मृतिले प्रायोजन गरेको छ । त्यस्तै म्यान अफ दि म्याच ट्रफी, नगद र पदकलाई सहारा युकेले सौजन्य गरेको छ । प्रत्येक भाग्यशाली दर्शकलाई प्रत्येक दिन पाँचहजार रुपैयाँबाट पुरस्कृत गरिने छ । जसलाई सहारा एफसी युकेका संस्थापक सिईओ हरिकुमार श्रेष्ठले गरेका छन् । हरेक खेलका फ्यान अफ दि म्याचलाई सहारा युकेले २ हजार ५ सय रुपैयाँ प्रदान गर्ने क्लबले जनाएको छ ।

प्रतियोगितामा विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगदराशीको पुरस्कार प्राप्त गर्ने छन् । हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउले मुख्य प्रायोजन गरेको छ । जयश्री फुड्स प्रालिले सह प्रायोजकको भूमिका खेलेको छ । उपप्रायोजक पोखरा महानगरपालिका वडा नं ९ र सह उपप्रायोजकमा चरक मेमोरियल हस्पिटल रहेको छ ।